टिप्पणी

फेरी किन मिल्न चाहन्छन् कमरेडहरू ?

काठमाडौँ । विगत तीन दशकदेखि सत्ताकै पेरिफेरिमा रहँदै आएका वामपन्थी चतुर खेलाडी हुन् केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) । सत्ताकै लागि टुट र फुटको खेल खेल्दै आएका यी दुई नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयी पछि भने अस्तित्व रक्षाको लडाइ लडिरहेका छन् ।

सत्ता र शक्तिको उन्माद लागेका यी दुई प्रमुख रहेका पार्टी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई यस पटकको चुनावमा नेपाली जनताले नमिठो हार चखाइदिए । फागुन २१ गते सम्पन्न चुनावमा जित्ने प्रचण्ड एक्ला पुराना नेता थिए । बाँकी नेताहरूलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने परिस्थिति सिर्जना भयो । ओली अहिलेका प्रधानमन्त्री बालेन साहसँग आफ्नै निर्वाचन क्षेत्र झापा ५ बाट फराकिलो मतान्तरले पराजित भए । परिणामस्वरूप ओलीलाई अहिले आफ्नै पार्टीभित्र आफ्नो साख बचाइ राख्न हम्मे हम्मे परेको छ ।

जब–जब आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्छ तब तब यी दुई नेता नजिक देखिन्छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारले लगालग पुराना भ्रष्टाचारका फाइलहरू खोल्न थालेपछि त्रसित देखिएका यी नेता फेरि कार्यगत एकताको रटान रट्न थालेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेपछि ओली, प्रचण्डदेखि माधव नेपाल अत्तालिएका छन् । कुनै न कुनै भ्रष्टाचारका मुद्दामा नाम मुछिएका यी नेता अब कम्युनिस्ट पार्टीबिच कार्यगत एकता गरी संसद् र सडकबाट बालेन सरकारविरुद्ध मोर्चाबन्दी गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् ।

ओली प्रचण्ड एकताको हल्ला नेपाली राजनीतिमा चलिरहँदा आइतबारको दृश्यले भने त्यसलाई छर्लङ्ग पारिदिएको छ । आइतबार काठमाडौँमा आयोजित एमालेका पूर्व महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपाली कम्युनिस्ट आन्दोलन र मदन भण्डारी’ विषयक विचार गोष्ठीमा जेनजी आन्दोलन पछि पहिलो पटक एकै मञ्चमा देखिएका दुई नेताले ‘वाम एकता र सहकार्य’ बारे बोल्नुले यी नेता विगतको तीतो बिर्सिएर फेरि एकताको लागि तयार भएको सहजै ठम्याउन सकिन्छ ।

सक्रिय राजनीतिमा आउन संघर्ष गरिरहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा एउटै मञ्चमा उभिएका ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने बताए भने प्रचण्डले त झन् आजको भोलि नै पार्टी एकता नभए पनि कार्यगत एकता गरौँ भन्न भ्याए ।

प्रचण्डले यसअघिका विभिन्न सार्वजनिक कार्यक्रममा समेत सबै वामपन्थी दलहरू मिल्नुको विकल्प नरहेको बताउँदै आएका थिए । तर, एकताका लागि सकारात्मक देखिए पनि माधव भने कम्युनिस्टहरूले गरेका विगतका गल्तीको गम्भीर आत्म समीक्षा गर्नुपर्ने बुझाइ राख्छन् ।

नेकपाले औपचारिक रूपमै कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्ने निर्णय गरिसकेको छ भने एमालेले पनि केन्द्रीय कमिटीको आगामी बैठकमा कम्युनिस्ट एकताको बारेमा निचोडमा पुग्ने तयारी गरेको छ । तर, सत्ताकै लागि पटक–पटक मिल्दै र फुट्दै आएका यी दुई नेताबिच हुने भनिएको एकतालाई लिएर नेपाली राजनीति भने निकै गर्माएको छ । सत्ताको शक्तिमा रमाउन थालेपछि तल्लो स्तरको गाली गलौचदेखि पानी बाराबारसम्मको स्थितिमा पुग्ने उनीहरूबिच हुने भनिएको एकतालाई पार्टीभित्रबाट खिसीटिउरी गरिदैँछ ।

उनीहरूको एकतालाई एमाले नेता गोकुल बास्कोटाले पटक–पटक फुटेको हाँडी जोड्ने लालसा चलेको टिप्पणी गर्दै नेतृत्वबाट शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिए । ओली प्रचण्डबीच २०७४ सालमा सहकार्य सुरु भएको थियो । यही कारण निर्वाचनमा करिब दुई तिहाइ जनमत पनि प्राप्त भयो । तर नेतृत्वको टकरावले दुई नेताबीचको मन तीन वर्ष नपुग्दै फाट्यो ।

फेरि २०७९ को निर्वाचनपछि पनि एमाले र माओवादी एक ठाउँमा थिए, तर त्यो सहकार्य पनि २ महिनामै टुंगियो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा लज्जास्पद हार व्यहोरेका यी नेताहरूको फेरि अहिलेको कार्यगत एकताको रटान आगामी स्थानीय चुनाव केन्द्रित देखिन्छ ।

अर्को एमालेभित्र देखिएको तत्कालीन संकटलाई टार्ने ओलीको दाउ पनि हो भन्न सकिन्छ । एमालेभित्र अध्यक्ष ओलीको विकल्पमा ठुलो पंक्ति शक्ति केन्द्रित गरिरहेको छ । एमाले पुनर्गठनको प्रयासमा लागेर उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसमेत उपमहासचिव योगेश भट्टराईको लाइनमा उभिएपछि ओली संकट टार्ने खेलोमा सक्रिय छन् । त्यही खेलो फड्कोको प्रयास स्वरुप नै ओलीले कार्यगत एकताको कार्ड खेलिरहेका छन् ।

सोमबार एकै मञ्चमा देखिएका दुई नेताको भाषण पछि एमाले महासचिव शंकर पोखरेलले समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहो¥याउनु उचित नहुने टिप्पणी गरे । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस राख्दै पोखरेलले लेखेका छन्– ‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटक (दुखान्त)का रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन् ।’

प्रचण्डसँग कार्यगत एकता भए एकातर्फ एमालेभित्र पुनर्गठनको पक्षमा रहेका नेताहरूलाई दबाबमा राख्न सकिने, अर्कोतर्फ वामपन्थी एकताको सन्देश जाने र संकटको बेला सहकार्य हुँदा आफ्नो धरापमा परेको पद पनि सुरक्षित हुने मनसायसहित ओली यो रणनीतिमा लागेको ठम्याउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =