‘मितज्यू’ निर्देशको अपिल- ‘जनकका लागि फिल्म चलोस्, खुट्टा ढोग्न रेडी छु!’

काठमाडौँ । चलचित्र ‘घरज्वाइँ’ ५१ दिन सफलतापूर्वक प्रदर्शन भएको खुसीको माहौल सेलाउन नपाउँदै निर्माता जनक घर्ती मगर गम्भीर दुर्घटनामा परे ।

उक्त दुर्घटनाले उनको जीवनमै ठुलो मोड ल्यायो, कम्मरदेखि तलको भाग प्यारालाइसिस भई नचल्ने भएपछि ह्वीलचेयरको सहारा लिनुपर्यो । दुर्घटनाका कारण भने उनले खुलाएनन् । तर जीवनमा अचानक परेको बज्रपात पछि पनि उनले चलचित्र बनाउन भने छाडेनन् ।

बरु, कठिन अवस्थाबीच पनि उनले आफ्नो सपनालाई जीवित राखे । अर्को चलचित्र बनाउने अठोट उनीमा पहिल्यैदेखि थियो । यही दृढ इच्छाशक्तिले उनलाई अस्पतालको बेडमै सक्रिय बनायो ।

त्यसपछि आइसियुमा उपचाररत अवस्थामै उनले नयाँ चलचित्र ‘मितज्यू’ घोषणा गरे ।

उनले सम्झिँदै भने— ‘घरज्वाइँको ५१ दिन मनाएको खुसी अझै बाँकी नै थियो, त्यत्तिकैमा दुर्घटनामा परेँ । त्यसपछि प्यारालाइसिस भयो । तर अर्को फिल्म बनाउने सोच पहिल्यैदेखि थियो, त्यसैले मैले आफ्नो काम रोकिनँ । अस्पतालको बेडबाटै ‘मितज्यू’ घोषणा गरेँ ।’

शारीरिक पीडाका बाबजुद उनले आफ्नो कर्मबाट पछि हटेनन् । अस्पतालमै रहँदा उनले फिल्मको आधाभन्दा बढी काम अघि बढाए । आज त्यही मेहनतको परिणामस्वरूप ‘मितज्यू’ यही जेठ ८ गतेबाट प्रदर्शन हुदैँछ ।

उनका लागि चलचित्र केवल पेसा मात्र होइन—जीवनको अभिन्न हिस्सा हो ।

उनी भन्छन्— ‘चलचित्र नै मेरो जीवन जस्तो हो । त्यसैले अस्पतालको बेडमा हुँदा पनि मैले यो कामलाई रोकिन दिइनँ ।’

निर्माता मगरको यो संघर्षलाई नजिकबाट देखेका निर्देशक अनिल बुढा मगर समेत भावुक देखिए ।

उनी भन्छन्, ‘यो फिल्म केवल व्यवसायका लागि होइन, जनकको संघर्षको सम्मानका लागि पनि सफल हुनुपर्छ । फिल्म जनकका लागि चल्नुपर्छ । उसले लगानी गरेको रकम मात्र फिर्ता आयो भने पनि म अत्यन्तै खुसी हुनेछु । यस्तो समर्पण मैले जीवनमा कहिल्यै देखेको थिइनँ,’ 

निर्देशक मगर अझै भावुक हुँदै थप्छन्- ‘जनकका लागि भए पनि यो फिल्म चलोस् भन्ने मेरो चाहना छ । जहाँ झुक्नुपर्छ, जसको खुट्टा ढोग्नुपर्छ, म तयार छु ।’

सौगात मल्ल, दयाहाङ राई र तेरिया मगरको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यू’ यही जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

चलचित्रमा मुख्य कलाकारहरूसँगै खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतको अभिनय छ ।

जनक घर्तीमगरले निर्माण गरेको फिल्मलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =