मदनकृष्णलाई नै थाहा नदिई ‘बायोपिक’, सर्प्राइज कि लापरबाही ? (भिडिओ)

काठमाडौँ । कुनै जीवत व्यक्तित्वको बायोपिक बनाउँदा पहिलो सर्त हुन्छ– पात्रसँगको उठबस, महिनौँ लामो अनुसन्धान र उनको आधिकारिक अनुमति । तर नेपाली चलचित्र उद्योगमा एक उदेकलाग्दो घटना बाहिरिएको छ ।

निर्देशक मिलन चाम्सले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक घोषणा गर्ने तयारी गरिरहँदा, त्यसको १० दिन अघि मात्रै मदनकृष्णलाई थाहा दिए ।

मदनकृष्णका अनुसार चलचित्रको स्क्रिप्ट लेखन मात्र नभई, मदनकृष्णको भूमिका कसले निभाउने भन्ने ‘क्यारेक्टर कास्टिङ’ समेत फाइनल भइसकेको थियो ।

तर, विडम्बना! जसको जीवनलाई पर्दामा उतारिँदै छ, उनै मदनकृष्ण यसबारे पूर्ण रूपमा बेखबर थिए ।

आज काठमाडौँस्थित लीला गार्डेनमा चलचित्र घोषणाको कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्णले यसबारे जानकारी दिए ।

बायोपिक मलाई थाहै थिएन । १० दिन अघि यमनले (छोरो) भनेका थिए । ड्याडीको लागि एउटा राम्रो कुरा छ भनेर । के भनेर सोधे तर भनेनन् । पछि मैले थाहा पाउँदाखेरि कथा लेखिसकेको रहेछ । धेरै अगाडि बढी सकेको, कलाकारहरू सबै खोजिसकेको रहेछ । तयारी भइसकेपछि मलाई सोध्यो । मेरो मात्रै बायोपिक बनाउने भएको भए सायद म नाइँ नै भन्थे होला । हरिवंशको पनि बनाउने भएपछि मैले हुन्छ भने ।’  उनले भने ।

वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो जीवनमा हरिवंशले ठुलो सहयोग गरेको बताए । उनले हरिवंशको साथले नै यतिधेरै काम गर्न सकेको भन्दै आफ्नो सबै उपलब्धिको श्रेय कलाकार हरिवंशलाई दिए ।

कार्यक्रम समापन पछि मकालुखबरले वरिष्ठ कलाकार श्रेष्ठलाई ‘आफ्नो बायोपिक चित्त नबुझे के गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेको थियो । सो प्रश्नको जवाफ दिँदै उनले भने ‘चित्त बुझे पनि नबुझे पनि मेरो जोड छैन त्यसमा ।’

यस विषयमा निर्माण पक्षले पुस्तक, अन्तर्वार्ता वा पारिवारिक व्यक्तिहरू मार्फत सेकेन्डरी रिसर्च गरे पनि मुख्य पात्र मदनकृष्ण श्रेष्ठसँग भने कुनै औपचारिक संवाद वा अनुमति लिइएको देखिँदैन । जसको जीवनकथा, उतारचढाव र मनोविज्ञानमाथि फिल्म बन्दैछ, उनैसँग पर्याप्त संवाद नगरी कोठामा बसेर स्क्रिप्ट र कास्टिङ टुंग्याइनुले बायोपिक निर्माणको व्यावसायिकता र अनुसन्धानमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

बिना रिसर्च कस्तो बायोपिक ?

हलिउड वा बलिउडमा कसैको बायोपिक बन्दा मेकर र लेखकहरू पात्रको घरमै महिनौँ बसेर उनको उठबस, बोलीचाली, मनोविज्ञान र जीवनका अज्ञात पाटाहरूको अनुसन्धान गर्छन् । मदनकृष्ण श्रेष्ठ नेपालका ‘लिभिङ लिजेन्ड’ हुन्, जसको जीवनका हरेक पाटा पारदर्शी छन् र उनको आफ्नै आत्मवृत्तान्त ‘महको म’ पुस्तक पनि बजारमा छ ।

मदनकृष्ण जस्तो जीवन्त इतिहासको बायोपिक बन्नु नेपाली चलचित्र क्षेत्रका लागि आफैँमा एउटा ऐतिहासिक कदम र ठुलो सफलता हो ।

तर, मदनकृष्णसँग एक शब्द पनि नसोधी, उनीसँग बसेर कुनै रिसर्च नै नगरी कसरी चलचित्रको स्क्रिप्ट र क्यारेक्टर फाइनल हुन सक्छ ? यदि पात्रको संवेदनशीलता र उनको वास्तविक भोगाइलाई नै नबुझी कोठामा बसेर काल्पनिक कथा बुझिएको हो भने, यसलाई ‘बायोपिक’ कसरी भन्ने ?

अघिल्लो वर्ष प्रदर्शनमा आएको चाम्स निर्देशित फिल्म ‘एन्जिला’ मा उस्तै कमजोरी देखिएको थियो । तर यसका बाबजुद पनि चलचित्र व्यावसायिक रूपमा सफल रह्यो ।

नेपाली चलचित्र क्षेत्रका सशक्त र भर्सटायल कलाकार महेश त्रिपाठी मुख्य भूमिकामा रहने यस बायोपिक चाम्स र त्रिपाठी दुवैको फिल्मी करियरकै एउटा ‘मास्टरपिस’ बन्न सक्छ । त्रिपाठीको अभिनय क्षमतामा शंका गर्ने ठाउँ नभए पनि, पर्दामा जीवन्त मदनकृष्ण उतार्न स्क्रिप्टको गहिराइ उत्तिकै बलियो हुन आवश्यक छ । जसकारण पर्याप्त अनुसन्धानसहित फ्लोरमा जानु नै मेकर्सको लागि बुद्धिमानी हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =