गायक रामकृष्ण ढकालले किन बनाए ‘मालती मङ्गले’ ?

काठमाडौँ । चलचित्र ‘मालती मङ्गले’ ले निर्माण घोषणा भएदेखि नै बजारमा बलियो ‘हाइप’ सिर्जना गरेको छ । गायनमा दशकौँसम्म एकछत्र राज गरेका रामकृष्ण ढकालले पुनः चलचित्र निर्माणमा हात हालेकाले यसप्रति फिल्मकर्मी र दर्शक दुवैको विशेष चासो देखिएको हो ।
ढकालले निर्माण गरेको पहिलो चलचित्र ‘आशीर्वाद’ (२००१) हो । जसलाई व्यावसायिक र सांगीतिक रूपमा निकै सफल मानिन्छ । अन्ततः निर्माता ढकाल लामो समय पश्चात् पुन: ठुलो लगानी भएको चलचित्र ‘मालती मङ्गले’ लिएर फेरि एक पटक दर्शकमाझ आउदैँछन् ।
निर्माण पक्षले चलचित्रलाई आगामी वैशाख २५ गते देखि देशभरका हलहरूमा प्रदर्शन गर्ने घोषणा गरेको छ । चलचित्रमा अभिनेत्री वर्षा राउत ‘मालती’ र अभिनेता विजय बराल ‘मंगले’ को भूमिकामा देखिँदै छन् ।
यसबीच गायक रामकृष्ण ढकालले चलचित्र ‘मालती मङ्गले’ को कथाकै कारण आफू निर्माताका रूपमा यस चलचित्रमा प्रवेश गरेको बताएका छन् ।
‘‘मालती मंगले’ एउटा मिठो प्रेम कथा भएको चलचित्र हो । हाम्रो जीवन जस्तै, उहाँहरूको जीवनमा पनि उकाली ओह्राली आउँछ । समाजका दृष्टिकोणहरूले उहाँहरूलाई हेर्ने नजर, त्यसबीचको एउटा उतारचढाव यी सबै चिज ‘मालति मंगले’ले समेटेको छ । एउटा मिठो कथा छ । कथाकै कारण म आबद्ध भएको हुँ’ निर्माता ढकालले भने ।
‘मालति मंगले’ मार्फत आफ्नो टिमले भरिपूर्ण मनोरञ्जन दिने प्रयास गरेको उनले बताए । चलचित्र हेरिसकेपछि दर्शकले एउटा गहिरो सन्देश बोकेर फर्कन उनको दाबी छ ।
‘पहिल्यै घटिरहेको घटना भएपनि पहिले यो चिजलाई यस नजरले हेरेका रहेनछौँ भनेर दर्शकहरूले भन्नुहुनेछ’ उनले भने ।
निर्माता ढकालले दर्शकहरूबाट माया पाउने कुरामा आफूहरू विश्वस्त रहेको बताए । उनले सबै हिसाबले चलचित्रलाई उत्कृष्ट बनाउने कोसिस गरेको भन्दै आफूले चलचित्रमा जति नै राम्रो काम गरेपनि दर्शकले मूल्यांकन गर्ने बताए ।
‘वैशाख २५ गते फिल्म आइसकेपछि हामीलाई विश्वास छ यसले दर्शकहरूको मन जित्नेछ । यसको शीर्षक आफैमा उत्कृष्ट छ । सबै हिसाबले उत्कृष्ट बनाउने कोसिस गरेका छौँ’ उनले भने ।
फिल्म हेरिसकेपछि दर्शकको माउथ पब्लिसिटीले फिल्मलाई अझ बढी सपोर्ट गर्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।








