‘लालीबजार’ रोकपछि फिल्म उद्योगमा आक्रोश : सेन्सर सर्टिफिकेटको औचित्यमाथि प्रश्न

काठमाडौँ । यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोकिएको छ । हिजो उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो ।

गत वैशाख १५ गते सोमबार ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै वादी समुदायको तर्फबाट रोशनी नेपालीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।
उक्त अदालतको आदेशपछि निर्माण टिमले मंगलबार सिभिल मल, सुनधारामा तय गरिएको ‘लालीबजार’ को प्रिमियर शो स्थगित गरेको थियो । यससँगै चलचित्रको प्रदर्शन समेत अन्योलमा परेको छ ।

यसबीच लालीबजार’ चलचित्रले गत आइतबार रिट गरिनु भन्दा एक दिन अघि नै केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको थियो । ‘यू’ सर्टिफिकेट’ले उक्त फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने जनाउँछ ।

यसअघि पनि (माघ १५) काठमाडौँ जिल्ला अदालतले चलचित्र ‘एक्टर: टेक वान’ तत्काल हलमा प्रदर्शन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै ‘एक्टर: टेक वान’विरुद्ध मुद्दा दर्ता गरिएको थियो । जसकारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ‘एक्टर: टेक वान’ को आम्दानीमा नराम्रो असर पर्यो ।

नेपाली चलचित्र क्षेत्रमा ‘यू’ सर्टिफिकेट प्राप्त गरिसकेपछि पनि प्रदर्शन रोकिएका घटना नयाँ होइनन् । ‘लालीबजार’ र ‘एक्टर: टेक वान’ अघि पनि यस्ता धेरै उदाहरण देखिएका छन् ।

कलाकारहरूका अनुसार यस्ता घटना केवल फिल्ममाथिको हस्तक्षेप मात्र नभई अभिव्यक्ति स्वतन्त्रता, सत्यप्रति असहजता र सिर्जनात्मक अधिकारमाथिको दबाब हो ।

अबदेखि फिल्म अदालतमा नै रजिस्टर गरौँ, त्यही सेन्सर गरौँ: निश्चल बस्नेत

चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले बारम्बार रिलिजको मुखैमा रिट पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल गिर्ने बताएका छन् ।

उनले सम्माननीय अदालतको आदेश मान्ने तर अबदेखि फिल्म अदालतमा नै रजिस्टर गरौँ भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एकतर्फी रूपमा मात्रै हेरेर यसरी नै रिलिजको मुखैमा मुद्दा पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल त गिर्छ नै , एकचोटी हैन बारम्बार। अबदेखि फिल्म अदालतमा नै रजिस्टर गरौँ , त्यही सेन्सर गरौँ । खारेज गरौँ विकास बोर्ड , सेन्सर बोर्ड ।’

‘सेन्सर भर्सेस अदालत’: विजय बराल

अभिनेता विजय बराल पनि यस विषयमा निर्देशक निश्चल बस्नेतको पक्षमा उभिएका छन् ।

उनले फेसबुकमा निश्चलको स्ट्याटस सेयर गर्दै ‘सेन्सर भर्सेस अदालत’ लेखेका छन् ।

रिलिजको ठिकअघि फिल्म प्रदर्शन रोकिएको घटनाप्रति उक्त पोस्टमार्फत उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

अदालतले स्क्रिप्ट पास गरेपछि सुटिङ सुरु गरौँ: केदार प्रसाद घिमिरे

हास्य कलाकार तथा अभिनेता केदार प्रसाद घिमिरेले अदालतबाट स्क्रिप्ट स्वीकृत भएपछि मात्रै छायांकन सुरु हुने र त्यसपछि कुनै पनि निकायले फिल्म प्रदर्शन रोक्न नपाउने व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतले स्क्रिप्ट पास गरेपछि सुटिङ सुरु हुने र त्यसपछि कसैले फिल्म रोक्न नपाउने नियम बनाऔँ ।’

‘लाली बजार’ रोक्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार: सन्तोष सेन

निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र ‘लाली बजार’को प्रदर्शन रोकिएको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै समाजको यथार्थ चित्रण गर्न खोज्ने फिल्मलाई बहसभन्दा अघि नै रोक्ने प्रयास केवल एउटा चलचित्रमाथिको हस्तक्षेप नभई अभिव्यक्ति स्वतन्त्रता, सिर्जनात्मक अधिकार र सत्यप्रतिको असहजताको संकेत भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘आज एउटा कथा चुप गराइयो भने भोलि सयौँ कथा जन्मिनुअघि नै मर्छन् । इतिहास, वर्तमान र समाज–परिवारमा घटेका घटनामाथि चलचित्र बनाउँदा यसरी झमेला बेहोर्नु पर्नु अधिकार हनन् हो ।’

‘उत्तर दिने ठाउँमा जान डर लाग्छ’: खगेन्द्र लामिछाने

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र ‘लाली बजार’ विवादका बीच सामाजिक सञ्जालमार्फत अर्थपूर्ण प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रश्न गर्न जति सजिलो छ, उत्तर दिन त्योभन्दा हजारौँ गुणा गाह्रो छ । त्यसैले मलाई उत्तर दिने ठाउँमा जान डर लाग्छ । हेर्‍यो, सुन्यो, महसुस गर्‍यो । शान्त बस्नुको मज्जा नबस्नेलाई थाहा हुँदैन ।’

उनको यो अभिव्यक्तिलाई अहिले फिल्म प्रदर्शन रोकिएको विषयसँग जोडेर अर्थपूर्ण टिप्पणीका रूपमा हेरिएको छ ।

‘निर्माताको घाटा कसले बेहोर्ने ?’: दीपकराज गिरी

अभिनेता तथा निर्माता दीपकराज गिरीले चलचित्र प्रदर्शन रोकिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतको निर्णयको सम्मान छ । तर भोलि मुद्दाको फैसलामा चलचित्र प्रदर्शनयोग्य छ भनेर आयो भने रिलिज डेट सरेर निर्मातालाई परेको घाटा कसले बेहोर्ने ?’

उनको यो अभिव्यक्तिलाई फिल्म प्रदर्शन रोकिँदा निर्माताले भोग्नुपर्ने आर्थिक तथा मानसिक असरप्रतिको चिन्ताका रूपमा हेरिएको छ ।

फिल्ममेकरलाई हस्तक्षेप नगरौँ, कृपया, नगरौँ: सुदर्शन थापा

अनुप बरालको सामाजिक सञ्जाल स्ट्याटसलाई निर्देशक सुदर्शन थापाले सेयर गर्दै चलचित्र ‘लालीबजार’ रोकिएको विषयमा गम्भीर आपत्ति जनाएका छन् ।

स्ट्याटसमा भनिएको छ, सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाइसकेको र प्रिमियर शो तथा रिलिज नजिकिँदै गर्दा उच्च अदालत पाटनले फिल्म रोक्नु अत्यन्त चिन्ताजनक विषय हो । यदि फिल्ममा समस्या थियो भने सेन्सरले किन पास गर्‍यो भन्ने प्रश्न उठाउँदै पास भइसकेपछि अदालतको हस्तक्षेपले फिल्म उद्योगमा अन्योल र असुरक्षा बढाएको उल्लेख गरिएको छ ।

यसैबीच, वादी समुदायभित्रै फरक–फरक धारणा रहेको र केहीले फिल्म हेरेर आपत्ति नभएको भन्दै समर्थन जनाइसकेको सन्दर्भ पनि उठाइएको छ । यसअघि पनि यस्तै विवादमा निर्माता थमन भण्डारी मारमा परेको उदाहरण दिइएको छ ।

स्ट्याटसमा फिल्मसम्बन्धी विवाद समाधानका लागि ‘फिल्म अदालत’ जस्तो छुट्टै संयन्त्र आवश्यक रहेको सुझावसमेत राखिएको छ । साथै, अन्तिम निर्णय दर्शकको विवेकमा छोडिनु नै उचित हुने र सिर्जनामा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ ।

राम्रो फिल्मलाई बारम्बार अवरोध गर्नु चिन्ताजनक: रवीन्द्र सिंह बानिया

चलचित्र ‘लालीबजार’ प्रदर्शनअघि नै रोकिएको विषयमा अभिनेता रवीन्द्र सिंह बानियाले कडा प्रतिक्रिया जनाएका छन् ।

उनले राम्रो र सशक्त फिल्महरूलाई बारम्बार अवरोध गर्ने प्रवृत्ति चिन्ताजनक भएको टिप्पणी गरेका छन् । ‘जब–जब राम्रो चलचित्र बन्छ, तब–तब निषेध र असहजता सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद हो,’ उनले भनेका छन् ।

बानियाले नयाँ सरकार र नेतृत्वलाई यस विषयलाई गम्भीर रूपमा लिएर कानुनी जटिलता समाधान गर्दै फिल्म क्षेत्रका लागि सहज वातावरण बनाइदिनुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

उनका अनुसार ‘लालीबजार’ उत्कृष्ट फिल्म बनेको विश्वास छ र कलाकारहरूले न्यायोचित अभिनय गरेका छन् । उनले फिल्म सुपरहिट हुने आशा व्यक्त गर्दै सम्पूर्ण टिमलाई शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =