आफ्नै गाडीको कालो सिसा हटाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री गुरुङले आफ्नो सरकारी गाडीको कालो सिसा पनि हटाउन आग्रह गरेका थिए । ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्,’ उनले भनेका थिए ।
गृहमन्त्रीले प्रयोग गर्ने गाडीमा समेत कालो सिसा हटाउने प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार गृहमन्त्रीको निर्देशनपछि उनको प्रयोगमा रहेको गाडीको कालो सिसा पनि हटाइनेछ ।
असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएको कालो सिसा (स्टिकर) हटाउने अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा स्टिकर हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधनका सम्बन्धमा भने ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ ।









