ट्राफिक प्रहरीले हटायो गृहमन्त्री सुधन गुरुङको गाडीबाट कालो सिसा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीसाधनको कालो सिसा हटाइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले सोमबार सिंहदरबार पुगेर गृहमन्त्री र गृहसचिव चढ्ने गाडीको कालो सिसा हटाएको हो ।
ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियानलाई तीव्र बनाएसँगै गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट अभियान सुरु गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार ट्राफिक प्रहरीको टोली दिउँसो सिंहदरबार पुगेर दुवै सवारीसाधनको कालो सिसा हटाएको जनाएको छ ।
प्रहरीका अनुसार कालो सिसा लगाइएका सवारीसाधन आपराधिक गतिविधिमा प्रयोग हुने तथा सुरक्षा निगरानीमा चुनौती सिर्जना गर्ने भएकाले यस्ता सवारीमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको हो ।
सरकारले ट्राफिक नियम उल्लंघन नियन्त्रण र सडक सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित कानुन संशोधनको तयारी गरिरहेको छ ।









