विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छः सांसद विष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार सुशासनको नारामा फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्टले सरकारको कार्यशैलीले संविधानमाथि नै खतरा उत्पन्न गरेको दाबी गरे । धान दिवसको शुभकामना दिँदै उनले पछिल्लो समय चर्चामा रहेको एक गीतले सहकारी ठगी, गरिबको अवस्था र वैदेशिक ऋणको यथार्थ चित्रण गरेको उल्लेख गर्दै सरकारको पृष्ठभूमिमै प्रश्न उठाए ।
रास्वपाको हालै सम्पन्न महाधिवेशन र आन्तरिक दस्ताबेजको प्रसंग उल्लेख गर्दै उनले पार्टीभित्र वैचारिक द्वन्द्व देखिएको टिप्पणी गरे । १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा पनि उनले आपत्ति जनाए ।
सांसद विष्टले सरकारको कूटनीतिक कार्यसम्पादनमाथि पनि प्रश्न उठाउँदै राहदानी (एमआरपी) प्रकरण, भारत भ्रमणका क्रममा सीमा सम्बन्धी अभिव्यक्ति तथा चिया निर्यातमा देखिएका समस्यामा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाए ।
‘अर्थमन्त्रीको दस्ताबेजमा प्रदेश सभा खारेजीको कुरा छ भने पार्टी सभापतिको दस्ताबेजमा पुनर्संरचनाको कुरा छ । एकातिर प्रदेश सभालाई बोझ भन्दै खारेजीको कुरा गरिन्छ, अर्कोतिर राज्यकोषबाट अनावश्यक खर्च बढाइएको छ,’ उनले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै उनले संवैधानिक निकायका पदाधिकारीमाथि दबाब सिर्जना गरिएको आरोप लगाए । साथै विश्वविद्यालयमा उपकुलपति नियुक्तिदेखि शिक्षा र स्वास्थ्य क्षेत्रसम्म अव्यवस्था बढेको दाबी गरे ।
सांसद विष्टले २०७२ सालको संविधानलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरू दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे । साथै मुलुकका समस्या राजनीतिक र कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारलाई आग्रह गरे ।









