सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन- लगानीकर्ताको लगानी सुरक्षा र हितमा काम गर्नूस्

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा वाग्लेले उनलाई शपथ गराएका हुन् । यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए ।

लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा वाग्लेको भनाइ छ ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्”, अर्थमन्त्री डा वाग्लेले भने, “म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री डा वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।

“पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्”, अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए ।

आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =