केशव दाहाल भन्छन्ः

‘रवीन्द्र मिश्रले इँटा फालेर घर बनाउने प्रयास गरे’ (भिडिओवार्ता)

यथास्थितिकाे विवेकशील साझाले वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्दैन

काठमाडौँ । केशव दाहाल पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेकाे नयाँ शक्ति छाडेर ०७५ असार ८ गते विवेकशील साझा पार्टीमा प्रवेश गरेका नेता हुन् । उनलाई पार्टीमा स्वागत गर्दै त्यत्तिबेला संयोजकद्वय उज्वल थापा र रवीन्द्र मिश्रले हर्ष बाँडेका थिए, भनेका थिए— ‘उहाँजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझा पार्टीमा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो भएकाे छ ।’

तर समय बदलियो, घटनाक्रमहरू उहीअनुसार विकसित हुँदै आए । अवस्था उही रहेन । फलतः अहिले उनै दाहाल अध्यक्ष मिश्रका लागि एउटा सामान्य पार्टी कार्यकर्ता मात्रै बनेका छन् । यसकै राजनीतिक प्रष्टीकरण अध्यक्ष मिश्रले पछिल्लाे पटक २६ जना केन्द्रीय सदस्य (केशव दाहालसहित) माथि कारबाही गर्दै दिएका छन् ।

त्यत्तिबेला भट्टराई नेतृत्वको नयाँ शक्तिबाट दाहालले वैकल्पिक राजनीतिको भविष्य देखेका थिएनन् । वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट टुङ्गोमा पुग्ने आशा गरेर आएका दाहाल अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन’ को प्रस्तावका कारण पार्टी याे अवस्थासम्म आएकाे औंल्याउँछन् । ‘रवीन्द्र मिश्रजीले मार्ग परिवर्तनको प्रस्ताव ल्याउनुभयो, हामीले मानेनौँ, वैकल्पिक राजनीतिकाे बाटाे याे हाेइन भन्याैँ,’ दाहाल मकालुखबरसँगकाे कुराकानीका क्रममा भने, ‘उहाँले पुरानोतिर फर्किने भनेर भन्नुभयो, हामीले नयाँतिर बढ्याैँ भन्याैँ । यहीँ कुराकानी मिलेन । वैचारिक विचलन आयाे ।’

यथास्थितिको विवेकशील साझा पार्टीले वैकल्पिक राजनीति, सुसंस्कृत राजनीतिको नेतृत्व गर्न सक्दैन ।

साझा पार्टी र विवेकशील नेपाली दलबीचमा ०७७ मंसिर २४ गते दोस्रो पार्टी एकीकरण भएको थियाे । त्योभन्दा पहिले नै पनि यी दुई दलबीच एकपटक सम्बन्धविच्छेद भइसकेको थियो । पहिलो पार्टी एकीकरणको १६ महिनापछि पूर्ववत् अवस्थामा फर्किएका यी दुई दलबीच पुनः ०७७ मंसिर २४ गते दोस्रो पार्टी एकीकरण त भयो, तर नेताहरूले फकालेझैँ पार्टी अघि भने अघि बढ्न सकेन वा बढाउन सकेनन् । मुख्य कमजोरी नेतृत्वबाटै भएको दाहालकाे विश्लेषण छ । ‘नेतृत्वबाटै गल्ती भयो,’ दाहाल भन्छन्, ‘त्यसमा ठूलो हात भनेको नेतृत्वकै हुन्छ । हामीले पनि गल्ती गर्‍याैँ हाेला तर, मुख्य अधिकार र जिम्मेवार भनेकोचाहिँ नेतृत्वकै हुन्छ र बढी जिम्मेवारी पनि हुन्छ ।’

दाहाललाई अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन’को प्रस्तावका कारण जनताहरूको वैकल्पिक राजनीतिप्रतिको परिभाषा र बुझाइ नै फेरिएको चिन्ता छ, भन्छन्— ‘हामी उज्यालाेतिर जान खाेज्याैँ, उहाँ (रवीन्द्र मिश्र) ले पछाडि जान खोज्नुभयो । यहीँनेर मिलिएन । हामीले वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति भनेर आएको मान्छेले फेरि पुरानै पार्टी हिँडेको बाटो हिँड्यौँ । चिन्ता छ, जनताहरूको वैकल्पिक राजनीतिप्रतिको बुझाइमा यसले परिवर्तन गरिदिएको हो ।’

अध्यक्ष मिश्रले त्यसअगावै संयोजक मिलन पाण्डेलाई भने कारबाही गरिसकेका थिए । ०७८ पुस ६ गते साधारण सदस्यसमेत नरहनेगरी कारबाहीमा परेका पाण्डे ०७८ माघ २६ गते सर्वोच्च अदालत पुगेका थिए । उक्त मुद्दा सर्वोच्चमै विचाराधीन अवस्थामा छ । उक्त मुद्दाबमोजिम अबको राजनीतिक यात्रा तय गर्ने नेताहरूले बताउँदै आएका छन्, दाहाल पनि साेही दाेहाेर्‍याउँछन् । ‘मुद्दा छ सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा,’ उनले भने ‘त्यसले पनि अबको राजनीतिक यात्रा तय गर्छ । अहिल्यै बढी हामी बाेल्दैनाैँ ।’

पछिल्लो २६ जनाको कारबाही अवैधानिक भएको नेता दाहाल औंल्याउँछन् । ‘यसबारे त खासै बोल्दिनँ पनि । पार्टीको विधानअनुसार यो अवैधानिक र गैरकानूनी हो,’ उनले भने, ‘रवीन्द्रजीको मार्ग परिवर्तनको प्रस्तावले देखाएको बाटो खासमा हामीले हिँड्न खोजेको बाटो होइन । त्याे बिल्कुल फरक छ । भिन्न छ ।’

‘यथास्थितिकाे विवेकशील साझाकाे अध्यक्ष नै भएपनि बन्दिनँ’

दाहाल वैकल्पिक राजनीतिको तलतल भने बाँकी रहेको सुनाउँछन् । वैकल्पिक राजनीतिको सुरुवात नै राम्रो नभएको सुनाएका दाहालले भने, ‘विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिको सपना र भरोसालाई नै चकनाचुर बनाइदियो । नेतृत्व त्यही बाटाेमा गयाे । याे विडम्बनापूर्ण छ ।’

यथास्थितिको विवेकशील साझा पार्टी कुनै पनि हालतमा वैकल्पिक राजनीतिको दिशामा अगाडि बढ्न नसक्ने दाहालको ठाेकुवा छ, भन्छन्— ‘वैकल्पिक राजनीतिको बाटो यो हुँदै होइन । यथास्थितिकाे विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिको बाटो समाएकै छैन, हामीले भन्ने गरेकाे सुस‌ंस्कृत राजनीतिकाे लय समाएकै छैन ।’

अध्यक्ष मिश्रले ०७८ साउन ११ गते ‘मार्ग परिवर्तन’ काे नाम दिएर सार्वजनिक गरेकाे दस्तावेजमार्फत संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएका थिए । त्यसपछि पार्टी फुटउन्मुख भएको संयोजक मिलन पाण्डे पक्षको आरोप रहँदै आएकाे छ । दाहाल पनि यहीँनेर सहमत छन्, ‘त्यही प्रस्ताव बिल्कुल पार्टीको नीति र एजेन्डाविपरीत भयाे । हामीले हिँड्न खाेजेकाे बाटाेभन्दा फरक भइदियाे ।  यसपछि पार्टीमा कारबाहीको शृङ्खला चल्यो । यसले कसैलाई राम्रो भइरहेको छैन । तर, यहीचाहिँ नेतृत्वले बुझेको छैन ।’

हालकाे विवेकशील साझा पार्टीकाे कुनै अर्थ नभएकाे भन्दै दाहाल थप्छन्— ‘अहिलेकाे पार्टीकाे त अध्यक्ष नै भएपनि बन्दिनँ । यसले हामीले भनेकाे राजनीतिक बाटाे भुलिसकेकाे छ । काठमाडाैँ जानुपर्नेमा, पार्टी नेतृत्व बुटवलतर्फ हान्निनुभएकाे छ ।’

के हो मिलनबिन्दु ?

दाहाल विवेकशील साझा पार्टीलाई यथास्थितिमा मिलाउने ३ वटा विकल्प देख्छन् । प्राविधिकभन्दा राजनीति/वैचारिक पक्ष नै महत्त्वपूर्ण भएकाे उनकाे भनाइ छ । ‘पहिलाे, वैचारिक रूपमा छलफल गरेर एउटा वैचारिकीमा पुग्ने हाे,’ दाहालले विकल्प प्रस्तुत गरे, ‘दोस्रो, त्यसमा वैचारिक रूपमा अथवा कुनै एउटा वैचारिकीमा अटाएका साथीहरू एकठाउँमा आउनुपर्छ र तेस्रो, महाधिवेशनमार्फत त्यसलाई दुरुस्त आधारमा ल्याउनुपर्छ ।’

यदि यी विकल्पहरू पनि नभएमा कि त वैकल्पिक राजनीतिकाे अन्त्य हुने वा अर्काे कुनै फ्रेस धार निर्माण हुने बताउँछन् उनी । ‘तपाईंहरूले फेरि वैकल्पिक राजनीतिको नयाँ धार बनाउनुहुन्छ ?’ भन्ने मकालुखबरको जिज्ञासामा दाहालले थपे, ‘म हुन पनि सक्छु, नहुन पनि सक्छु । तर, अरु कोही हुन सक्छन् । वैकल्पिक राजनीति भनेको अब अपरिहार्य हो । अहिलेको बजार बुझ्ने राजनीति, युवा पुस्ताको समस्यालाई बुझ्ने राजनीति भनेको वैकल्पिक राजनीति नै हो । यो चाहिन्छ नै अब ।’

पछिल्लो कारबाहीभन्दा पहिले आफूले अध्यक्ष मिश्रलाई बृहत्तर पार्टी एकताको आह्वान गर्न आग्रह गरेको दाहालले सुनाए । ‘यो कारबाही सारबाही गर्ने काम पनि होइन, बाटो यो पनि होइन,’ दाहालले भने, ‘बरु मत अझै भन्छु, फेरि बृहत्तर पार्टी एकताको आह्वान गर्नुस् र अगाडि बढौँ । यसैमा हामी सबैकाे राम्राे हुनेछ ।’

आफूहरू स्वर्गतिर जान खोजेको तर, पार्टी नेतृत्व सुरुङतिर हिँडेको आरोप दाहालको छ, भन्छन्— ‘हिँड्नुपर्ने थियो स्वर्गतिर, उहाँहरू सुरुङतिर लाग्नुभयो । यथास्थितिको विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *