प्रकाश सपूतको गीत ‘पिर’ले छेडेको बहस

काठमाडौँ । अहिले नेपाली लोक सांगीतिक बजारमा नाम चलेको गायक हुन् प्रकाश सपूत । केही वर्ष अघि ‘बोल माया’ गीत सार्वजनिक भएपछि प्रकाश सपूतले आफ्नो सांगितिक करियरमा पछाडि फर्केर हेर्नु परेको छैन ।

उनले आफूलाई संगीत र शब्द लेखनको हिसाबले पनि अब्बल साबित गरिसकेका छन् । उनको ‘गलबन्दी’ गीतले प्रकाशलाई चर्चाको शिखरमा नै पुर्‍यायो भन्दा फरक नपर्ला । प्रत्येक पटक संगीतमा केही नयाँ दिन खोज्ने प्रकाश बेलाबेला लय, संगीत कपी गरेको भन्दै विवादमा तानिए पनि उनले नेपाली संगीतप्रेमी दर्शकलाई कहिल्यै निराश बनाएका छैनन् ।

केही नयाँ नै दिने क्रममा शुक्रवार बेलुका प्रकाशको नयाँ गीत ‘पिर’ सार्वजनिक भयो । गीतमा स्वर, संगीत र शब्द प्रकाशकै रहेको छ । अभिनयमा युवा पुस्ताले सबैभन्दा बढी आशा गरेको नायिका सुरक्षा पन्तले प्रकाश सपूतलाई साथ दिएकी छन् । गीतको बोल ‘पिर’ जस्तै हेर्दा पिर लाग्ने यो गीत युट्युब च्यानलमा सार्वजनिक हुने बित्तिकै विवादमा तानिएको छ । गीतलाई लिएर राजनीतिक दलका नेता, राजनीतिक दलका भातृ संगठनका नेता र सर्वसाधारणले चर्को आलोचना र केहीले तर्कसहितको विश्लेषण गरिरहेका छन् । माओवादी केन्द्र निकट ‘अखिल क्रान्तिकारी’की अध्यक्ष पञ्चा सिंहले गीत युट्युब च्यानल बाट हटाउन भन्दै सामाजिक सञ्जालमा चेतावनीसहितको स्टाटस लेखेकी छन् ।

यसरी गीत हटाउन दिइएको यो चेतावनी पहिलो होइन । बेलाबेलामा यस्तै विषय चर्चामा आइरहन्छन् । ३ वर्षअघि पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीत सार्वजनिक भयो । तत्कालीन नेकपाको सरकार भएको बेला सार्वजनिक भएको उक्त गीतलाई नेकपाका नेता र कार्यकर्ताले चर्को विरोध गरे ।’ देशको अवस्था र जसको शक्ति उसकै भक्ति छ भन्ने कुरालाई देखाउन खोजिएको उक्त गीत युट्युबबाट नै हटाउन लगाइयो । पछि अभिव्यक्ति स्वतन्त्रता र गीतलाई नै ब्याण्ड गर्ने कुरा सही नभएको भन्दै विवाद भएपछि गीत पुनः युट्युबमा अपलोड गरिएको थियो । गीत गाएकै कारण र्यापर भिटेन बेलाबेला गिरफ्तारमा परिरहन्छन् । कहिले गीतको भिडियो, कहिले गीतमा प्रयोग गरिएका शब्दको आधारमा गीत विवादमा आइरहन्छन् । यसबारे बहस, छलफल र आलोचना हुनुभन्दा बढी गीत नै हटाउने, सिर्जना नै नामेट पार्नेमा अग्रसर भएको यो अवस्थामा सपूतको गीत निशानामा परेको छ ।

गीत कसरी विवादमा तानियो ?
प्रकाशको गीतमा शब्द संगीतभन्दा पनि भिडियोमा माओवादीका पूर्व लडाकु महिलालाई जीवन चलाउनैपर्ने बाध्यताले देह व्यापारमा लागेको दृश्य देखाइएको छ । सोही दृश्यलाई लिएर बढी विवाद सिर्जना भएको छ । त्यो बाहेक गीतमा १० वर्ष जनयुद्धमा होमिएर आफ्नो धेरै गुमाउँदा पनि केही पाउन नसकेको भन्ने आशय जस्तो देखिन्छ । अर्को जमातले जनयुद्धले किन केही दिएन भन्ने तर्क पनि गरिरहेका छन् ।

सामाजिक सञ्जालमा गीतको पक्ष र विपक्षमा बाझिएका तर्कहरू
देशको पत्रकार, नेता, लेखकको पनि यस गीतको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा तर्क सहितको बहस शुरू गरेका छन् । नाम चलेका लेखकले समेत गीतबारे टिप्पणी गरेका छन् ।

अध्येता तथा लेखक उत्तम बाबु श्रेष्ठ फेसबुकमा लेख्छन्, ‘संगीतलाई भावनाको आँसुलेख भनेर टोल्टोयले त्यसै भनेका होइनन् । त्यसले मानिसको मस्तिष्ककै निश्चित भागलाई उद्वेलित तुल्याउँछ । हिजोको दिनमा विदेशी सेनामा भर्ती भएर फोकल्याण्डको टापुमा लडेको सिपाहीको मृत्युको, डुल्दै हिँड्दा भारतमा भेटिएका मजदुरको, काम गर्दा हातभरि ठेला उठेका किसानको कहरको, बेरोजगारको भोगाइको, बम्बईमा बेचिएका चेलीको वेदनाको, गीत संगीत माओवादीहरूले गुन्जाउँथे होइन र ? समाजमा हेपिएका, चेपिएका मान्छेको दुख वेदना भरिएका गीतले उद्वेलित गराएर कयौँलाई जनयुद्धमा लाग्न प्रेरित गरेको होइन र ? अहिले प्रकाश सपूतले त्यही गरेका त हुन्, जनयुद्धका घाइतेका गीत गाएर । हिजो माओवादीहरूले गाएका गीतमा काल्पनिकता थिएन ? के ती सबै सत्य मात्रै थियो त ? गीत, संगीत, कथा, कविता जस्ता सिर्जना भनेको नै काल्पनिकता र सत्यताको अन्तरघुलन हो भन्ने कुरा पनि नबुझ्ने ? हिजोका शासकहरूले ‘जनवादी’ गीतसंगीतमाथि र लेखमाथि प्रतिबन्ध गर्दा पनि विरोध गरिन्थ्यो । आज पनि सिर्जनालाई बन्द गर भनेर कसैले भन्छ भने त्यसको विरोध गरिन्छ । प्रकाश सपूतको गीतको जवाफ त्यस्तै सिर्जनाले दिए भई हाल्यो, शिवम् सिमेन्टको विज्ञापन नबजाइकन ।’

त्यस्तै पत्रकार कृति भट्टराई लेख्छिन्, ‘धेरै चर्चा सुनेपछि प्रकाश सपूतको गीत हेरेँ । उनका सृजनाहरू मन छुने नै हुने गर्छन्, प्रतिभाशाली छन् उनी । तर यसपटकको प्रस्तुतिमा जानेर वा नजानेर उनले कलालाई बिक्री गरे भन्न मन लाग्यो । कथित जनयुद्धका समय धेरैले जीवनको बाजी थापे । आज ती सबै एकै स्थितिमा पक्कै छैनन्, त्यो समीक्षाका विषय हुन सक्छन्, हुन पर्छ । तर जसरी त्यो संघर्ष गरेका र चेत बोकेका महिला समेत केही नभए जीविकोपार्जनका लागि देह व्यापार गर्छन् भन्ने देखाइएको छ, त्यो ती तमाम योद्धा छोरीहरूको अपमान हो । हाम्रो समाजले एउटी महिलालाई अझै पनि कसरी हेर्छ भन्ने दृष्टान्त हो । अझ त्यसमाथि विद्वान कहलिएका डा. साबको अभिव्यक्ति पढेपछि लाग्यो समय मात्र २१ औँ शताब्दीमा प्रवेश गरेको रहेछ, हामी र हाम्रा सोच । उफ ।’

लेखक अन्बिका गिरी लेख्छिन्, ‘जनयुद्धले दिएका कुराको अवमूल्यन पनि अर्को अति हो । तर हरेक आन्दोलनले त्यसमा अपार आशा राख्नेहरूलाई निराशाको अँध्यारो गल्लीमा यसै छाडेको पनि सत्य हो । जनयुद्ध सबैभन्दा ताजा भयो । समीक्षा यसकै हुने भो ।’ कवि नवीन प्राचिन लेख्छन्, ‘प्रकाश सपूतले बनाएको गीतलाई लिएर माओवादी खेमाबाट जुन किसिमको टिप्पणी आइरहेको छ, त्यो चोरको खुट्टा काट्ने उखान जस्तो मात्रै हो । प्रकाश आफलेचाहिँ माओवादी नेतृत्वको गद्दारी र लडाकुहरूको बिजोग देखाउने नाममा टाउकोमा कफन बाँधेर हिँडेका जुझारु युवाहरूको चेतना र प्रतिबद्धताको अपमानचाहिँ गरेकै हुन् । ३ महिनासम्म श्रीमतीको अत्तोपत्तो नहुँदा घरमा कलिली छोरी छोडेर आफ्नो वासना पूर्ति गर्न लागिपर्ने कमरेडहरूबाट देशमा यो परिवर्तन आएको होइन । मैले चिनेका लडाकुहरू यति गए गुज्रिएका थिएनन् ।’

नेता डा. बाबुराम भट्टराई लेख्छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पिडा दर्साएको छ । त्यसनिम्ती क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?’

पत्रकार रविराज बराल लेख्छन्, ‘पिर एउटा उत्पादन हो, प्रायोजन हो शंकै भएन । समाजलाई पर्दामा उतार्ने प्रकाश सपूत साथीहरूको प्रयास पक्कै पूर्ण छैन । माओवादी जनयुद्धलाई हेर्ने हाम्रा आआफ्ना दृष्टिकोण छदै छन् । तर बहुसङ्ख्यक नेपालीको आजको यथार्थ कुल मिलाएर यस्तै यस्तै त हो, होइन र ? अभिव्यक्ति, राजनीतिक-सामाजिक सन्देश र संकेतका हिसाबले गीतलाई थप हेर्दै गरौँला । तर शिवम् सिमेन्टको अत्यधिक विज्ञापनचाहिँ विदूप नै देखियो ।’

यौन व्यवसायलाई हेर्ने चेतनाको बनिबनाउ चस्मा लगाएर तिनै मानिसहरू यसलाई चरित्रको सवाल बनाइरहेका छन् जसले आफूलाई मार्क्सवादी/संस्कृतिकर्मी भनाउने रहर बेसाउँछन् ।

भोकको अत्यासलाग्दो राप समन गर्न नसकेर मानिसहरू अनेकन् पेसा व्यवसायमा छन् । पढ्ने, पढाउने, लेख्ने, चौकीदार, सेल्सम्यान, ड्राइभर, पाइलट, डाक्टर आदि इत्यादि । कोही बालुवा चलिरहेका होलान् । कोही अरबको मजरामा उँट चराइरहेका होलान् । कोही यौन व्यवसायमा होलान् । यौन व्यवसाय गर्नु हद स्तरको बाध्यताको रोजाई होला तर यो अपराध होइन । न चरित्रको विषय नै हो ।

आजको लडेर, भिडेर ल्याएको, गणतन्त्रात्मक भनिएको व्यवस्थामा पनि हाम्रा महिला दिदीबहिनी/दाजुभाइ/अन्य लिङ्गीहरू यौन व्यवसायमा लाग्न विवश छन् । यो व्यवसायमा पूर्व जनसेना पनि होलान्, राजनीति नै नबुझेका पनि होलान् । सबैथोक बुझेका पनि होलान् । तर यथार्थ के हो भने देशमा आज हजारौँ हजार महिला पुरुष/अन्य लिङ्गीहरू यौन व्यवसायमा छन् ।

लेखक यादव लेख्छन्, ‘प्रकाश सपूतको गीत/भिडियो आएपछि महिला छापामारलाई यौन व्यवसायी देखाएर महिला जनसेनाको अपमान गरियो भन्ने कोणबाट प्रश्न उठेको छ । यसो भनिरहँदा समाजमा यौन व्यवसाय चलिरहेको छ, तर त्यो जनसेनाले गरेका छैनन् भन्ने आग्रह प्रकट भएको पाइन्छ । अथवा अरूले गरेपनि जनसेनाले गर्नुहुँदैन भन्ने आशय रहेको पाइन्छ । खास हाम्रो समस्या के मा हो ? धन व्यवस्थाले चिथोरिरहेको मानिसको शरीरमा हो कि त्यो चिथोरिने शरीर कसको हो भन्नेमा हो ? के हामी यति पक्षपाती/भेदभावको चेतना जम्मा गर्नका लागि त्यत्रो वलिदानीपूर्ण आन्दोलनको पक्षधर बनेका हौँ ? प्रश्न हामीले यौन व्यवसाय गरेर राफिलो जिन्दगीको दुःख धुन विवश परिपाटी निर्माण गरिरहेको पैसा व्यवस्थाको रछ्यानमा लगेर रगतले निर्माण गरेको बाटो विसर्जन गराउनेहरूमाथि गर्ने हो कि त्यो व्यवस्थामा यौनको उन्माद मेटाउन चिथोरिइरहेको शरीर कसको हो भन्नेमा ?

तपाईँका नेताले भाषण गरिरहेका हुन्छन्- हाम्रो देशका छोरी चेली विदेशका कोठीमा बेचिन्छन् भनेर । के देशका सबै छोरी चेली बेचिन्छन् विदेशको कोठीमा ? सबै ज्यान बेच्न (तपाईँहरूकै शब्दमा, म यो शब्दमा सहमत छैन) विदेशी कोठी पुग्छन् ? तपाईँको नेताले यसो भन्दा कहिल्यै नेपाली छोरी चेलीलाई विदेशी कोठीमा गएर ज्यान बेच्ने भन्यो भनेर प्रश्न गर्नुभयो तपाईँले? कहाँ थियो तपाईँको आज एकाएक उम्लिरहेको मार्क्सवादी सांस्कृतिक चेतना ?

खासमा त्यसो भन्ने नेताले सबै छोरी चेली त्यसो गर्न विवश छन् भनेको पनि होइन । त्यसो गर्न विवश बनाइएकाहरू पनि छन् भनेका हुन् ।

प्रकाश सपूतले सबै महिला पूर्व जनसेना वेश्यावृत्तिमा छन् भन्ने न्यारेट दिएकै छैनन् । कोही बिदेसिन विवश छन्, कोही नेताको चाकरी बजाएर जीवन उजिल्याईरहेका छन्, कोही मासु पसल चलाइरहेका छन्, कोही ट्याक्सी चलाइरहेका छन्, कोही यौन व्यवसाय गर्न विवश छन् भनेर भिडियोमा देखाएका छन् (यद्यपि गीतको जो भाष्य छ त्यसका लागि यी दृश्य किन राखे भनेर मैले रत्तीभर भेउ पाएको छैन) ।

निहुँ खोज्ने हो भने- विदेश पुगेको महिला बन्धक बनेको दृश्य छ । के विदेश पुगेका सबै बन्धक बनेका छन् ? विदेशबाट कफिनमा लास आएको देखाइन्छ । के सबै विदेश पुगेका दुखियाहरू कफिनमा सुतेर मात्रै फर्कन्छन् ? कि यसलाई सबै त्यस्तो मात्रै हुँदैन तर त्यसो पनि त भइरहेको छ नि भन्ने बिम्बमा बुझ्ने हो ?

के आज एकजना पनि पूर्व जनसेना (महिला/पुरुष/अन्य) कोही पनि यौन व्यवसायमा छैन भन्ने किटानी हो तपाईँहरूको ? कि एकाध भएपनि सबै छैनन् भन्ने हो ? सवाल के हो ? अरू भएपनि हाम्रा छैनन् भन्ने हो ? अरूले गर्न विवश पेसा हाम्राले गरिरहेको किन देखायौ भन्ने हो ? कि के हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.