हरियो रङको चुनाव चिह्न : मतदाता र गणकमैत्री

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतपत्रको चिह्न हरियो रङ राख्ने निर्णय गरेपछि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाए । उनले मंगलबार कुनै दल विशेषलाई फाइदा पुग्ने गरी आयोगले निर्णय गरेको आरोपसमेत लगाए । कमजोर आँखा हुनेहरूले रुखैरुख देख्नु भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो ।

ओलीले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी मात्र गरेनन्, मतपत्रमा हुने चिह्नको रंगले मत परिणाममा प्रभाव पर्ने संकेतसमेत गरे । तर निर्वाचन आयोगले भने यो विगतदेखिकै अभ्यास भएको स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ हरियो रङको चिह्न र समानुपातिकतर्फ रातो रङको चिह्न प्रयोग भएको थियो । त्यतिवेला प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचनमा कालो रङ र समानुपातिकतर्फ रातो रङको चिह्न थियो ।

याे पनि : मतपत्रमा हरियाे चिह्न राख्ने आयोगको निर्णयप्रति एमालेकाे आपत्ति (भिडिओ)

०७४ को स्थानीय तहको निर्वाचनमा नीलो रङको चिह्न थियो । पछिल्लोपटक १२ माघ ०७८ मा राष्ट्रिय सभा सदस्यतर्फ प्रदेश सभा सदस्यले प्रयोग गरेको मतपत्रमा हरियो रङको चिह्न थियो । तर, स्थानीय तहका सदस्यले भोट हाल्ने मतपत्रमा रातो रङको चिह्न थियो ।

विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको उनको दाबी छ । ‘मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन,’ प्रवक्ता पौडेलले भने, ‘मतगणनामा सजिलो होस, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियो भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *