माओवादीमा ‘एमसीसी ईफेक्ट्’ : के नारायणकाजी टोली छुट्दैछ ?

काठमाडौँ । पुस ११ देखि १८ गतेसम्म चलेको नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनको एउटा निष्कर्ष थियो— ‘अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्नु हुँदैन/ हुनु हुँदैन ।’ तर, माओवादी केन्द्रको यो निष्कर्ष २ महिना पनि राम्राे टिकेन । फागुन १५ गते नै उक्त निष्कर्षविपरीत एमसीसी बिनासंशोधन नेपालको संसद्‌बाट पारित भयो ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको पेलाइ र त्यहाँबाट सिर्जित राजनीतिक अवस्थाका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिनासंशोधन एमसीसी पारित गर्न मञ्जुर हुनुपर्ने अवस्था आयो । अन्ततः एमसीसी बिनासंशोधन यथास्थितिमै पारित भयो । भलै माओवादीकै अगुवाइमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको हाे । तर, त्यसलाई एमसीसी बोर्डले स्वीकार्ला कि नस्वीकार्ला भन्नेमा अन्योल उस्तै छ । माओवादी नेताहरूमा पनि यसमा संशकित भएका छन् । नेता गिरिराजमणि पोखरलले भनेका छन्, ‘यसलाई अमेरिकाले स्वीकारेन भने त झनै गाह्रो हुन्छ । हुन त यसलाई संशोधनजस्तै हो भनेर भनिएको छ । तर, यसमा के हुन्छ भन्ने अन्योलकै अवस्था छ । यसो हुँदा पनि ढुक्क रहने अवस्था रहेन ।’

यथास्थितिमै १२ बुँदे व्याख्यात्मक घोषणाहित एमसीसी पारित गर्नुपर्ने प्रस्तावको विरुद्धमा पार्टीका धेरै नेताहरू उभिएका थिए । नेता नारायणकाजी श्रेष्ठसहित, प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वस्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, लीलामणि पौडेललगायतका नेताहरूले त प्रचण्डको प्रस्तावलगत्तै आपत्ति जनाएका थिए । प्रचण्डको प्रस्तावको मौखिक प्रतिवाद गरेका उनीहरूलाई लिखित असहमति राख्न भने नदिइएको बताइन्छ ।

फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी बिनासंशोधन पारित हुँदा नै पनि सबै माओवादी सांसदहरू खुसी थिएनन् । एमसीसी कम्प्याक्ट नेपाल भित्रिएदेखि नै बिनासंशोधन पारित हुन नहुने अडानमा रहेका माओवादी सांसदहरू ‘हुन्छ’ भनेर हात उठाउनसमेत हिच्किचाएका देखिन्थे ।

‘एमसीसी कम्प्याक्टबारे केन्द्रीय समिति बैठकमा दह्राेसँग कुरा उठाउँछाैँ ।’

साँझ एमसीसी संसद्‌बाट पारित भएपछि नेताहरू आ-आफ्नो घर फर्किए । त्यसपछि केही नेताले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पार्टीको निर्णयको विरोध गरे । पार्टीले बाटो बिराएको लेखे । त्यसमध्येकै नेतामा पर्छन् नारायणकाजी । उनले त्यही साँझ लेखेका थिए, ‘अन्ततःव्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराइ छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’

जसै— माओवादी वृत्तमा पार्टी विभाजनको खतरासम्मकाे बारेमा चर्चा तथा विश्लेषण शुरू भएको छ । एमसीसीकै कारण पार्टी विभाजनउन्मुख भएको त नारायणकाजी निकट नेताहरूले नै बताउन थालेका छन् । नारायणकाजी निकट एक नेताले मकालुखबरसँग भनेका छन्, ‘शुरूदेखिकै आफ्नो अडानबाट माओवादी केन्द्र जसरी पछाडि सर्‍याे, यसले पार्टीकै साख पनि घटाएको छ । यसमा हाम्रो असहमति हो । अलिकति पनि नसोचीकन नेतृत्वबाट यस्तो प्रस्ताव आउँदा हामीले पनि केही सोच्नुपर्ने भएको छ र साेच्दै पनि छाैँ । यसले पार्टीपङ्तिलाई राम्रो गरेको छैन । पार्टी जोगाउँदा जोगाउँदै फुटतर्फ जालाजस्तो छ ।’

एमसीसी पारित भएकै बेलुका माओवादीभित्रको असन्तुष्टि नेताहरूको भर्च्यूअल बैठक बसेको थियो । बैठकमा पार्टीमा भएको गल्तीको समीक्षा र भावी कदमबारे छलफल भएको ती नेता बताउँछन् । ‘बैठकमा करिब २०० जना कमरेडहरूको उपस्थिति रहेको थियो,’ ती नेताले दाबी गरे, ‘साथीहरू देशैभरीबाट जोडिनुभएको थियो । त्यस बैठकमा हामीले उहाँ (नारायणकाजी) लाई अगुवाइ गर्नुस् र केही सोच्नुस् भनेका छौँ । साथीहरूले पनि त्यसै भन्नुभएको छ । केही साथीहरूले भने केही समय पर्खिन पनि भनेका छन् ।’

त्यसयता नारायणकाजीमाथि छुट्टिएर जानुपर्ने दबाब बढ्न थालेको छ । यद्यपि नारायणकाजीले भने आफूले छुट्टिएरै जाने निर्णय नलिइसकेको बताएका छन् । मंगलबार प्रचण्ड उनकै निवास हात्तीवन पुगेका थिए । त्यसपछि उनीहरूबीच झन्डै २ घण्टा वार्ता भएको थियो । त्यसक्रममा प्रचण्डको जिज्ञासामा नारायणकाजीले भनेका छन्, ‘अझै सोचौँ, मैले पनि छुट्टिएरै जाने निर्णय त लिइसकेको छैन । तर अब गाह्राे भने अवश्य हुन्छ ।’

प्रचण्डसँगको भेटमा भनेझैँ १५ गते बेलुकाको बैठकमा पनि केही समय कुरेरै निर्णय लिनुपर्ने ब्रिफिङ्ग नारायणकाजीको थियो । नारायणकाजीलाई उद्धृत गर्दै ती नेताले थपे, ‘केही समय कुरौँ, केन्द्रीय समिति बैठकमा कुरा उठाऔँ र मात्रै निर्णय लिऔँ । यद्यपि तपाईंहरूको सुझावलाई मैले सकारात्मक रूपमा लिएको छु ।’

एमसीसी संसद्‌बाट पारित भएपछि माओवादी केन्द्रसँगै प्रचण्डको पनि धेरै आलोचना भएको थियो । त्यसपछि फागुन १६ गते प्रचण्डले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्ने क्रममा नारायणकाजीबारे गरिएको प्रश्नमा प्रचण्डले भनेका थिए— ‘नारायणकाजीजीलाई एमसीसीको विरोध गरेपछि सबै जनता आफैँतिर आउँछन् झैँ लागेको रहेछ । त्यसैले पारित हुँदानहुँदै बोल्नुभयो, लेख्नुभयो । उहाँ पनि एमालेमा वामदेव गौतमकै बाटो हिँड्नुहुन्छ भने म केही गर्न सक्दिनँ ।’ प्रचण्डको यो भनाइले नारायणकाजी झनै चिढिएका छन् ।

अतः घटनाक्रममा खास फेरबदल नआए नारायणकाजीसहित गिरिराजमणि पाेखरेलसहितका नेताहरू छुट्टिन सक्नेछन् । तर, यो निर्णय लिइए पनि केन्द्रीय समितिको बैठकपछि मात्रै हुने ती नेताले बताए । ‘केन्द्रीय समितिबाटै सल्लाह गरेरै बाहिरिए पनि बाहिरिने सल्लाह भएको छ क्यार,’ उनले भने, ‘नभए पनि अब केन्द्रीय समितिमा नेतृत्वबाट कस्तोखाले सल्लाह र बचन आउँछ, त्यसमा पनि भर पर्ला ।’

केन्द्रीय समिति बैठकमा कडा रूपमा प्रस्तुत हुने तयारी

माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी टुङ्ग्याउने मुख्य एजेन्डा बनाएर फागुन २० गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा असन्तुष्टि नेताहरूले एमसीसीबारे कुरा उठाउने तयारी गरेका छन् । एमसीसीको विपक्षमा मतदान गरेकी नेता अन्जना विशङ्खेले मकालुखबरसँग भनिन्, ‘एमसीसीको सन्दर्भमा हाम्रो पार्टीको धारणा फेरिएको छ । के कति विषयले फेरियो । यसबारे मेरो त सधैँ असहमति छ । यसप्रति हामीले केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ । त्यसको तयारी गरेका छौँ । हामी कडै रूपमा प्रस्तुत हुन्छौँ ।’

पार्टीको पुरानो अडान फेरिँदा बाहिर राम्रो सन्देश नगएको नेता विशङ्खेको भनाइ छ । ‘बाहिर सन्देश राम्रो गएको छैन,’ उनले भनिन्, ‘यसले पार्टीको छवि नै पनि बिगारेको छ । पार्टीको ८औं राष्ट्रिय महाधिवेशनकै निर्णयविरुद्ध गयो एमसीसीको सन्दर्भमा । त्यसैले अबको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ र आवश्यक निर्णय लिन्छौँ ।’

संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ पनि केन्द्रीय समितिमा एमसीसीबारे छलफल हुने बताउँछन् । ‘गरे/भएका कामहरूको समीक्षा हुनु राम्रै हो,’ सचेतक गुरुङले भने, ‘यसबारे कुरा त आइहाल्छ नै होला नि । छलफल हुन्छ । छलफल गर्छौँ ।’

एमसीसीबारे केन्द्रीय समितिमा कुरा उठ्दा राम्रै हुने सचेतक गुरुङको ठम्याइँ छ, भन्छन्, ‘यो खाली समीक्षा, छलफल र त्यसबाट आएको निष्कर्षलाई आत्मसाथ गर्दै जाने कुरा हो । यसले राम्रै गर्छ ।’

एमसीसीको पक्षमा उभिनुपर्ने अवस्था भने माओवादीको लागि पनि अप्रत्यासित भएको उनी बताउँछन् । ‘एउटा विशिष्ठ अवस्था आइपुग्यो । यसर्थ यस्तो भयो, हुनुपर्ने भयो,’ सचेतक गुरुङले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *