स्वार्थको सकसमा संसद्

काठमाडौँ । संसद् नागरिकको आवाज मुखरित हुनुपर्ने थलो हो । तर राजनीतिक दलहरूको स्वार्थका कारण संसद् लामो समयदेखि प्रभावित हुँदै आएको छ ।

संसदीय अभ्यासलाई नै आफ्नो आदर्श मान्ने हुन् वा हाकाहाकी स्वीकार नगरेपनि यही प्रणालीमा अभ्यस्त भइसकेका राजनीतिक दलले लामो समयदेखि बन्धक बनेको संसद बैठक नियमित गर्नु आफ्नो कर्तव्य हो भन्ने कुराचाहिँ बुझ्न सकेको देखिँदैन । राजनीतिक किचलोका कारण करिब दुई वर्षदेखि संसद बैठक राम्ररी चल्न सकेको छैन । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित हुँदा केही महत्वपूर्ण विधेयक अघि बढ्न सकेको छैन भने नागरिकका पिरमर्काबारे सरकारको ध्यानाकर्षण र जवाफ माग्ने काम हुन सकेको छैन ।

५ पुष २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेदेखि अहिलेसम्म संसदको बैठक राम्रोसँग बस्न नसकेकाे हाे । कहिले कुन त कहिले कुन विषयमा दलहरूले कचिङ्गल गर्दै आएका छन् । ११ फागुन २०७७ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि संसदले कुनै गति लिन सकेन । ओलीले पुनः जेठ ७ गते मध्य राती प्रतिनिधिसभाको दोस्रोपटक विघटन गरे । सर्वोच्च अदालतले २८ असारमा पुनःस्थापना भएपछि बल्ल बैठक बसे पनि लगत्तै एमालेले किचलो शुरू गर्‍याे ।

प्रतिनिधिसभा विघटनसँगै सत्तारूढबाट प्रमुख प्रतिपक्षी बन्न पुगेको एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई सांसद कायमै राखेको भन्दै विरोध जारी राखेकाे छ । जसले गर्दा नवौँ अधिवेशन पुरै प्रभावित भयो भने दसाैँ अधिवेशनमा पनि एमालेले विरोध जारी राख्दै आएको छ ।

पूर्व सभामुख दमननाथ ढुंगानाले संसद बैठक नबस्नु राजनीतिक संकट भएको बताउँछन् । मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘संसद विघटन गर्नु राजनीति संकट भइसक्यो । अल्पकालीन होला की दीर्घकालीन संकट होला अहिले भन्न सकिँदैन । गठबन्धन सरकार, प्रमुख प्रतिपक्ष र अरू दलले यसलाई सम्भोदन गर्न सकिएन भने दीर्घकालीन संकटको रूप पनि लिन सकिन्छ । यसको अर्थ हो संविधान र अहिलेको अग्रगामी राजनीतिको परिवर्तनमाथि नै अनपेक्षित प्रभाव पर्न सक्छ ।’

संविधानको पालना र सम्मान दलीय स्वार्थभन्दा माथि भएको भन्दै उनले दलहरूले संविधानलाई अपमान, अटेर गरेर दलीय स्वार्थ अनुरूप गर्न नपाइने बताए । उनले प्रमुख प्रतिपक्ष, यसअघिको सरकार, सभामुख चयन, सुभामुखले जुटाउन नसकेको सहयोगले यस्तो अवस्था आएको उनले बताए ।

सभामुखको भूमिका माथि प्रश्न
पछिल्लो समय कोरोना भाइरसको बहानामा संसद बैठक पछि धकेल्ने काम भइरहेको छ । बहाना कोरोनाको बनाइएपनि सरकारले एमसीसी अघि बढाउने तयारी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले नै संसद बैठक सारिरहेका छन् । संसद नियमित गराउन सभामुख सापकोटाको भूमिका प्रभावकारी नभएको देखिन्छ । एमालेले लगातार विरोध गर्दा एकाधपटक एमालेसँग छलफल गरेर औपचारिकता पूरा गरेका सापकोटाले बैठक सुचारु गराउन पर्याप्त पहल गरेका छैनन् नै दलका शीर्ष नेताहरूलाई त्यसका लागि आग्रह गर्न पनि आवश्यक ठानेका छैनन् । आफू निकटहरूसँग एमसीसी कुनैपनि हालतमा अघि बढ्न नदिने बताउने गरेका सभामुख सापकोटाका लागि संसद बैठक सार्न कोरोना गजबको बहाना बन्न पुगेको देखिन्छ ।

याे पनिः यथास्थितिमा एमसीसी अघि बढ्न नदिने सभामुख सापकोटाको अडान

पूर्वसभामुख ढुंगानाले सभामुखको भूमिकामाथि प्रश्न गर्न नमिले पनि संसद् बैठक बस्न नसक्नुमा सभामुखको भूमिकाको उत्तर आफूसँग नरहेको बताए । संसद राजनीति मात्रै नभएकाले मानव स्वभाव र आवेग पनि भएकाले आफूसँग त्यसको उत्तर नरहेको उनले बताए ।
‘संसद राजनीतिक कुरा मात्रै होइन । मानव स्वभाव र आवेगको कुरा पनि हो । संसद मानव स्वभाव, रुचि, आवेग आदि सम्मेलित संयोग हो । त्यसैले त्यसको कुनै पनि उत्तर छैन । नियमभित्र रहेर नियमको पालना गर्ने, सर्तकतासाथ तत्कालीन सम्झदारी वृद्धि विवेक प्रयोग गर्नुपर्छ । द्वन्द्वको बेलामा आफ्नो ढिपी छाड्दैनन् । त्यसको परिणाम यस्तै हुन्छ’ उनले भने ।

एमालेले पार्टीका तत्कालीन सांसद माधव कुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न माग गर्दै संसद सचिवालयमा सिफरिस गरेको थियो । तर संसद सचिवालयले कारबाही नगरेपछि एमालेले लगातार संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

बैठक बोलाउँदै, स्थगित गर्दै
संसद सचिवालयले पुस १८ गतेदेखि लगातार संसदको बैठक स्थगित गर्दै आएको छ । पुसमा नेकपा (माओवादी केन्द्र)को आग्रहमा संसद् बैठक स्थगित गरिएको थियो । पुष १८ गतेका लागि तय गरेको संसद बैठक माओवादीको आग्रहमा २२ गतेसम्मका लागि सारियो ।

सांसदमा कोरोना संक्रमण देखिएपछि २२ गतेका लागि तय गरेको संसद बैठक स्थगित गरेर २८ गतेका लागि तोकियो । कोरोना संक्रमण बढ्दै गएको भन्दै संसद सचिवालयले २८ गतेका लागि तय गरेको बैठक फेरि माघ ३ गतेका लागि सार्‍याे । पुनः माघ १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनायो । माघ १६ गतेका लागि बोलाइएको संसद बैठक फेरि १० दिन सारेर माघ २६ गते पुर्‍याइएको छ ।
आइतवार १ बजेका लागि तय गरिएको संसद बैठकका लागि एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोही दिन बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक नै बोलाएका थिए । यसअघि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार साँझ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । प्रतिनिधिसभाको बैठकका लागि सबै तयारी गरेर पनि माघ २६ गतेसम्मका लागि स्थगित गरियो ।

कोरोनाभाइरस (कोभिड-१९) महामारीको जोखिम कायमै रहेको भन्दै बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा अगाडि बढाउनबाट रोक्न प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

एमसीसीबारे सत्तारूढ गढबन्धनमा पनि एकमत छैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने अडानमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै एमसीसी पास गर्नुपर्ने बताएका छन् । गठबन्धको यही विवादले संघीय संसद्को बैठक पनि बस्न सकेको छैन । एकीकृत समाजवादीका बरिष्ठ नेता खनालले भने एमसीसीका कारण बैठक नसारिएको दाबी गरे । मकालुखबरसँग उनले भने, ‘एमसीसीबारे राष्ट्रिय सहमति हुन आवश्यक छ । अहिलेसम्म कुनै राष्ट्रिय सहमति लक्षण छैन । पाँच दलबीच पनि सहमति भएको छैन । त्यसैले तत्काल एमसीसी अगाडि बढ्ने सम्भावना म देख्दिन ।’ उनले कोरोना संक्रमणका कारण संसद बैठक बस्न नसकेको बताए ।

कांग्रेस सचेतक पुष्पा भुसालको भने अर्कै तर्क छ । मकालुखबरसँग उनले भनिन्, ‘कोरोनाको संक्रमण बढी रहेको छ । स्थानीय तह निर्वाचन सम्बन्धी कानुन संशोधन गर्ने सरकारले तयारी गरेको छ । स्थानीय निर्वाचन सम्बन्धी ऐनहरू संसदबाट संशोधन गर्नुपर्छ । त्यसैको तयारीका लागि संसद बैठक स्थगित गरिएको हो ।’ उनले एमालेले भने अब संसद अवरोध गर्न नहुने बताइन् । एमालेले विना कारण संसदमा अवरोध गर्दै आएको भन्दै निर्वाचन सम्बन्धी कानुन संशोधनमा प्रभावित पार्न नहुने बताइन् ।

संसद सचिवालयले संसद बैठक लगातार स्थगित गर्दै आए पनि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल नगरेको नेताहरूले बताएका छन् । शुरूमा कोरोना संक्रमण बढ्दै गएकाले स्थगित भएको संससद बैठक पछिल्लो समय भने एमसीसी पास हुन नदिन स्थगित गर्दा पनि एमालेसँग कुनै छलफल नगरेको एमाले नेताहरूको भनाइ छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् बैठक स्थगितबारे एमालेसँग छलफल नगरेकाले संसद बैठक स्थगित हुनुको कारण आफूलाई थाहा नभएको बताए । तर एमसीसीकै कारण नै आइतवारको बैठक स्थगित भएको हुन सक्ने उनले शंका गरे । नेता नेम्वाङले भने, ‘संसद बैठक स्थगितबारे छलफल भएको छैन । संसद १६ गतेबाट २६ गतेका लागि तय गरिएको मैले थाहा पाएँ । हामीसँग छलफल भएको छैन ।’ उनले एमसीसी संसदमा लैजाने जिम्मेवारी सत्ता पक्षको भएको बताए । उनले सरकारले संसदमा एमसीसी प्रस्ताव पेश गरे आफूहरूले प्रमुख प्रतिपक्षको भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *