यथास्थितिमा एमसीसी अघि बढ्न नदिने सभामुख सापकोटाको अडान

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी अगाडि नबढाउने अडान राखेका छन् । प्रधान मन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटमा सभामुख सापकोटाले यस्तो अडान राखेका हुन् ।

एमसीसी सम्झौता संसद्‌मा दर्ता भएको छ । सरकारले चाहेको खण्डमा यो विषय संसदमा अगाडि बढ्न सक्छ । तर, सभामुख सापकोटाले सरकारले चाहँदैमा एमसीसीलाई सहज अगाडि बढ्न नदिने रणनीति अपनाएका हुन् ।

पछिल्लो समय प्रधान मन्त्री देउवाले सभामुखलाई प्रधान मन्त्री निवास बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटाले आफू गोली खान तयार रहेको तर, यथास्थितिमा एमसीसी अगाडि बढाउन तयार नरहेको जवाफ दिएका छन् ।

१६ माघमा बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेस गर्ने सरकारको तयारी थियो । तर, त्यसको दुई दिन अगावै १४ माघको बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगे । उनले आफू संसद्‌मै मर्न तयार रहेको, तर एमसीसी सम्झौता टेबल गर्न नदिने अडान सुनाए ।

‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने ? म पेस गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने । त्यति मात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे ।

तर, प्रधान मन्त्री देउवा जसरी पनि एमसीसी सम्झौता संसद्‌मा टेबल गराउने प्रयासमा छन् । शनिबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठकमा १ फेब्रुअरीभित्र एमसीसी सम्झौता संसद्‍मा टेबल गर्ने भन्दै उनले सहमत नभए भोट नहाल्न सक्ने बताएका थिए । तर सभामुखको अडान बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूले प्रधान मन्त्री देउवालाई रोके । त्यसपछि १६ गतेका लागि डाकिएको संसदको बैठक १० दिन धकेलियो ।

यसअघि पनि सभामुख सापकोटाले एमसीसीमा सर्वदलीय र राष्ट्रिय सहमतिको कुरा गर्दै आएका थिए । पछिल्लो समय गठबन्धनमा सहमति भए पनि हुने बताउने गर्दथे । तर, गठबन्धनमा सहमति हुन्छ कि भन्ने त्रासमा पुगेपछि उनले अब गठबन्धनमा सहमति भए पनि आफूलाई अध्ययन गर्न थप समय चाहिने बताएर एमसीसी रोक्न खोजेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *