एक मन्त्रालय फुत्काउने तीन दलको दाउ

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसका लागि सत्तारुढ गठबन्धनमा छलफलसमेत भइरहेको छ । प्रधान मन्त्री देउवाले माघ १५ सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी तयारी गरिरहेको उनीनिकट एक नेताले जानकारी दिए ।

प्रधान मन्त्री देउवाले यसअघि असोज २२ गते आफू प्रधान मन्त्री बनेको ८८ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर, यसबीचमा कांग्रेसकै दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । २२ गते उद्योगमन्त्री बनेका कांग्रेस नेता गजेन्द्र हमालले २४ गते पदबाट राजीनामा दिए । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरासँग नाम जोडिएपछि संघीय संसद्को सदस्य नभएका हमालले २ दिन नबित्दै राजीनामा दिए ।

यस्तै पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि नैतिकताको कुरा गर्दै रक्षा मन्त्रालय सम्हालिरहेका कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले पनि राजीनामा दिए । यसपछि कांग्रेसकै तर्फबाट २ मन्त्रालय मन्त्रीविहीन अवस्था छन् । अहिले यी दुई मन्त्रालय प्रधान मन्त्री स्वयम्‌ले नै हेर्दै आएका छन् ।

रिक्त यी २ मन्त्रालयका लागि सत्तासाझेदार ४ दलबीच हानथापसमेत शुरू भएको छ । मन्त्रीका आकांक्षीहरूले दलका नेतालाई भेटेर ‘लबिइङ्ग’समेत शुरू गरेका छन् । पाँचदलीय गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नजाने तर, सरकारलाई गुण वा दोषको आधारमा समर्थन वा विरोध गर्ने बताइसकेको छ ।

यद्यपि जनमोर्चाले मन्त्रिपरिषद् भने चाँडै गर्नुपर्ने बताउँदै आएको छ । गठबन्धनका हरेक बैठकमा उपस्थिति जनाउँदै आएकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘हाम्रो दल त सरकारमा जाँदै जाँदैन । अन्य दलहरूलाई मन्त्रिपरिषद्लाई पूर्णता चाँडै दिनु भनेर भन्दै आएको छ हाम्रो दलले । संकटको बेलामा महत्त्वपूर्ण मन्त्रालय खाली हुनु हुँदैन भनेर सम्झाइरहेका छौँ ।’

असोज २२ गते मन्त्रिपरिषद्ले पूर्णता पाउनुअघि गठबन्धनको बैठकमा दलहरूले संसदीय उपस्थितिको आधारमा मन्त्रालय बाँडफाँट टुङ्ग्याएका थिए । जसअनुसार कांग्रेसले सरकारको नेतृत्व गर्दै ८ मन्त्रालय पाउँदा माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी र जनता समाजवादीले समान ४/४ मन्त्रालय पाउने सहमति बनेको थियो ।

यसपछि अब बाँकी दुई मन्त्रालय भने आफूले पाउनुपर्ने सबै दलहरूले बताएका छन् ।

दलहरूबीच हानथाप

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस मिलेसम्म दुवै मन्त्रालय आफैँसँग राख्न चाहन्छ । यसका लागि प्रधान मन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धनका अन्य दलका नेताहरूसँग छलफल गरिरहेका छन् । यसअघि राजीनामा दिने मन्त्री कांग्रेसकै कोटाका भएकाले दुवै मन्त्री कांग्रेसका हुनुपर्ने देउवाको भनाइ छ । कांग्रेस सचेतक पुष्पा भुसाल पनि उही बताउँछिन् । ‘यो विषयमा गठबन्धनको बैठकहरूमा छलफल भइरहेको मेरो जानकारीमा छ । यी दुवै मन्त्रालयहरू स्वतः कांग्रेसले नै पाउने हो । रिक्त पनि कांग्रेसबाटै भएको हो,’ सचेतक भुसालले भनिन् ।

मन्त्री बन्न कांग्रेसभित्र नेताहरूको आन्तरिक प्रतिस्पर्धा त छँदैछ । देउवाले १४औँ महाधिवेशनमा आफूलाई सघाउने नेता प्रकाशमान सिंहलाई एक मन्त्रालय दिन चाहेको देउवानिकट नेताहरू बताउँछन् । सिंहले भने आफूले गृह मन्त्रालय मात्रै लिने अडान लिएका छन् । यसअघि शनिवार बिहान सिंह देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए । आफूनिकट नेता सबूज बानियाँलाई लिएर बालुवाटार पुगेका सिंहले आफूलाई उपप्रधानसहित गृह मन्त्रालय चाहिने अडान राखेका थिए । देउवाले प्रकाशमानलाई गृह मन्त्री बनाएर अहिलेका गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्री बनाउने तयारीसमेत गरिरहेको बताइएको छ । तर पनि उनले सिंहलाई नै रक्षामन्त्री बन्न पनि प्रस्ताव गरेका छन् । यसमा खाँणले ‘हुँदैन’ नभनेको देउवानिकट ती नेता बताउँछन् । ‘उहाँ [खाँण]ले हुँदैन भनेर भन्नुभएको छैन,’ ती नेताले भनेका छन् ।

यता रामचन्द्र पौडेलले पनि मन्त्रालयमा आफ्नो भाग खोजेका छन् । उनले अब आफूनिकट नेता तेजुलाल चौधरीलाई मन्त्री बनाउन चाहेका छन् । तर, त्यसमा देउवा भने तयार भइसकेका छैनन् ।

सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रले पनि एक मन्त्रालयमा दाबी गरिरहेको छ । यसअघि मन्त्रालय बाँडफाँट हुँदा माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय परेको भएपनि अहिले माओवादीले ५ मन्त्रालय मात्रै पाएकाले माओवादीले स्वतः एक मन्त्रालय पाउनुपर्ने नेताहरू बताउँछन् ।

त्यसमा उद्योग नै माओवादीले पाउने माओवादी सचेतक देव गुरुङको भनाइ छ । ‘माओवादीले पाउने भनिएको ६ मन्त्रालय हो,’ उनले भने, ‘त्यसमा अहिले ५ मन्त्रालय छ । अब एक मन्त्रालय त माओवादीको हुँदै हो । एक मन्त्रालय माओवादीले स्वतः पाउँछ ।’

माओवादीभित्र पनि एक मन्त्रालय पाएको अवस्थामा को मन्त्री हुने भन्ने किचलो छँदैछ । तर, त्यो मन्त्रालय पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्षले पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । यसअघि मन्त्रिपरिषद्ले पूर्णता पाउँदा पनि श्रेष्ठले आफ्नो नेतृत्वमा माओवादी सरकारमा जानुपर्ने बताउँदै आएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रेष्ठलाई सरकारमा पठाउन तयार भएनन् । यसपछि श्रेष्ठ प्रचण्डसँग चिढिएका थिए ।

तर, उनकै लागि पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सृजना भएपछि श्रेष्ठ प्रचण्डसँग खुसी भएको विश्लेषण माओवादी वृत्तमा छ । यद्यपि अबको एक मन्त्रालय आफूले पाउनुपर्ने श्रेष्ठको अडान छ । त्यसमा श्रेष्ठले आफूनिकटका नेताहरूलाई मन्त्री बनाउन चाहन्छन् ।

नेकपा (एकीकृत समाजवादी) पनि एक मन्त्रालय आफूले पाउनुपर्ने अडानमा छ । तर, यसअघि भएको मन्त्रालय बाँडफाँटअनुसार भने एकीकृत समाजवादीको भाग पुगिसकेको छ । भागबन्डामा उसले ४ मन्त्रालय पाउने भनिएको थियो, जुन अहिले पाइसकेको छ ।

एकीकृत समाजवादीबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर विरोध खतिवडा सरकारमा छन् भने पर्यटन, शहरी विकास र श्रममा क्रमशः प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठ छन् । यद्यपि अझैपनि एक मन्त्रालय भने एकीकृत समाजवादीले नै पाउनुपर्ने बताउँछन् नेता जीवनराम श्रेष्ठ, भन्छन्— ‘एकीकृत समाजवादीले कम्तीमा अझै एक मन्त्रालय पाउनुपर्छ, त्यसका लागि प्रधान मन्त्रीज्यू र सत्तासाझेदारी दलका साथीहरूसँग छलफलरत छौँ ।’

तपाईँहरूको त भाग पुगिसकेको होइन? भन्ने प्रश्नमा नेता श्रेष्ठ थप्छन्, ‘त्यो विषयमा छलफल भइसकेको छ । तर, हामीले प्रधान मन्त्रीज्यूलाई भन्नेछौँ । संसदीय उपस्थिति हाम्रो पनि कमजोर छैन नि त ।’

नेता श्रेष्ठ आफैँ मन्त्री बन्ने लाइनमा छन् । यसअघि असोज २२ मा पनि उनको नाम मन्त्रीको सूचीमै थियो । तर, अन्त्यमा आएर उनको नाम उनकै सहमतिमा सूचीबाट हटेको थियो । उनी अहिले एकीकृत समाजवादीको प्रतिनिधि सभामा प्रमुख सचेतक छन् ।

यसबाहेक मन्त्री बन्ने लाइनमा मेटमणि चौधरी र कल्याणी खड्का पनि छन् । एमालेबाट विद्रोह गर्दा बलियो साथ दिएका नेता चौधरीलाई पनि नेपाल मन्त्री बनाउन चाहन्छन् भने उनकै गृह जिल्लाबाट प्रतिनिधित्व गर्ने खड्काले पनि नेपाललाई मन्त्री बन्ने रहर प्रकट गर्दै आएकी छन् ।

अर्को सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री पाइन्छ कि भन्ने दाउमा छ । मन्त्रालय बाँडफाँटमा ४ मन्त्रालय पाउने सहमति भएको जसपाले ४ मन्त्रालय लिइसकेको छ । ‘गठबन्धनमा छलफल हुन्छ, त्यसपछि यो कुराको टुङ्गो लाग्छ,’ नेता रामसहाय यादवले भने, ‘हामी कुरा मिलाउन प्रयास गर्नेछौँ ।’

सत्तासाझेदारी दल भएकोले रिक्त मन्त्रालयमा दाबी रहनु स्वाभाविक भएको उल्लेख गर्दै नेता यादव भन्छन्, ‘हामी सत्तासाझेदार दल हौँ, त्यसो हुँदाखेरि हामीले दाबी गर्ने कुरा त स्वाभाविक नै हो ।’

जसपाबाट मन्त्रीका आकांक्षीमा अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीलगायत नेता छन् । उनीहरू शुरूमा महन्थ ठाकुरसँगै रहेपनि पछि उपेन्द्र यादव पक्षमा आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *