माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावसम्म पुग्ला ?

काठमाडौँ । माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । शनिबार बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेर सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको हो ।

महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया शुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको छ । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आज दिउँसो २ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरेको छ । योसँगै नेताहरू सर्वसम्मतकै कोसिसमा जुटेका छन् ।

महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छलफलले आ-आफ्नो प्रदेशबाट केन्द्रीय समितिमा सहमतिबाट आउने आकांक्षीको प्रारम्भिक सूची तयार पारेर केन्द्रीय कार्यालयमा बुझाएको छ । बिहान ११ बजे बस्ने स्थायी कमिटीले सबै प्रदेशबाट आएका नामहरूमा छलफल गर्ने र १ बजे सुरु हुने बन्दसत्रको हलमा केन्द्रीय कमिटीको सूची प्रस्तुत गर्ने तयारी भएको छ । बन्दसत्र पहिले केन्द्रीय कमिटी प्रस्ताव गर्ने र त्यसपछि आजै केन्द्रीय समितिबाट पदाधिकारीसमेत टुङ्ग्याउने तयारीमा माओवादी केन्द्र जुटेको हो ।

सर्वसम्मत नभए दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ । माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले एक हजार सात सय ४२ मतदाताको नामावली सार्वजनिक गरेको छ । संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ ।

उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ । माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *