माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया आज

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ । विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने भएको हो ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित गरिनेछ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउने भएको हो ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

हालसम्म अन्य नेताले अध्यक्षमा दाबी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *