को बन्ला माओवादी केन्द्रको केन्द्रीय महासचिव ?

काठमाडौँ । माओवादी केन्द्रको आइतबारबाट ८‍औं राष्ट्रिय महाधिवेशन शुरू भएकाे छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प देखिन्छन् । अध्यक्षपछिको कार्यकारी पद महासचिवमा को आउँछ ? यकिन छैन । माओवादी केन्द्रमा महासचिवका प्रमुख दाबेदारहरू हुन्— वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल ‘विद्युत’ ।

महासचिवका प्रबल दाबेदारका रूपमा हेरिएका अनन्त भने जारी महाधिवेशनमा सहभागी छैनन् । चीनमा उपचाररत उनी महाधिवेशनमा आउन चाहन्थे । तर, उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शुक्रबार मात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको छ । यो बेला अनन्त निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका उनलाई महाधिवेशनको हलबाटै महासचिव घोषित गर्न अध्यक्ष प्रचण्डलाई दबाब बढाएका छन् ।

संगठन विभाग प्रमुख प्रभाकर महासचिवका अर्का प्रमुख दाबेबार हुन् । प्रभाकर र अनन्त दुवै नेता प्रचण्डपछिको नेता आफू हो भन्ने छनक दिनेगरी नेता/कार्यकर्ताहरुसँग प्रस्तुत हुने गरेका छन् । अर्थात्, माओवादीमा अध्यक्षपछिको कार्यकारी पद महासचिवमा उनीहरूको अघोषित प्रतिस्पर्धा छ । प्रभाकरले महाधिवेशनको खुला सत्रको कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका थिए ।

एकातिर संगठन विभाग प्रमुखको जिम्मेवारी लिएर अगाडि बढेका र अहिले अर्थमन्त्रीसमेत रहेका शर्माले प्रचण्डपछि पार्टीको नेतृत्वका लागि आफूलाई विकास गर्दै लगेको तर्क गर्नेहरू छन् । स्वयम् शर्मा पनि आफूले पार्टीमा प्रचण्डपछिको भूमिका निर्वाह गर्दै आएको दाबी गर्छन् । ‘केपी ओलीको प्रतिगमनका विरुद्ध पार्टीका सबैभन्दा बढी मै लडेको हुँ । पार्टीका तर्फबाट नेतृत्वका हिसाबले पचण्डपछि मै लडेको हुँ । म पार्टीलाई कसरी बलियो बनाउने भन्ने ध्याउन्नमा छु,’ नेता शर्माले २०७८ असोज पहिलो सातामा भएको एक भेटमा भनेका थिए ।

स्थायी कमिटीको बैठकमा पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ संगठनात्मक फर्मूलासमेत प्रस्तुत गरेको उनले सुनाए । अर्थात्, माओवादी केन्द्रलाई थप बलियो र सशक्त बनाउने भीजन आफूमा रहेको भन्दै उनी नेता कार्यकर्तालाई माओवादी केन्द्रमा प्रचण्डपछिको नेता आफू भएको सन्देश दिन खोजिरहेका छन् ।

उता वर्षमान पुन प्रचण्डपछिको नेताका रूपमा अगाडि आउन खोजिरहेका छन् । उनी हाल केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तया योजना विभाग प्रमुखको जिम्मेवारीमा छन् । उनकाे जोडबल कार्यकर्तालाई प्रचण्डपछि मै नेता हुँ भन्नेमा केन्द्रित छ । आफू यसअघि नै पार्टीको सचिव भइसकेको, देशभरको संगठनमा आफ्नो पकड रहेको र बाह्य (अन्तर्राष्ट्रिय) सम्बन्धमा अरू नेताहरूभन्दा आफू अगाडि रहेको नेता पुनको तर्क कार्यकर्ताहरूसँगकाे अनौपचारिक भेटमा प्रस्तुत हुन्छन् ।

हेटाैँडा महाधिवेशनपछि अनन्त सचिव बन्दा प्रभाकर स्थायी कमिटी सदस्य थिए । ‘राजनीतिक नेतृत्व लिन र पाउन विचार, आन्तरिक र बाह्य सन्तुलन अति आवश्यक हुन्छ । आफूलाई त्यसैगरी अगाडि लैजानुपर्छ । मेरो जोडबल पनि यहि हो,’ नेता पुनले भन्ने गरेका छन् । ७७ मध्ये ४० बढी जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको उनको जिकिर छ भने अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ भन्दा कूटनीतिक र बाह्य भेटघाटलाई देखाउने गर्छन् । नेता पुनलाई प्रचण्डपछिको नेता बनाउनुपर्छ भनेर लागेका तेस्रो तहका कतिपय नेताहरू पनि अनन्त कार्यकर्ता व्यवस्थापन अब्बल रहेको दाबी गर्छन् ।

महासचिवमा विद्युतको झड्का

प्रभाकर र अनन्तले महासचिवमा दावी प्रस्तुत गरिरहँदा पम्फा भुसाल ‘विद्युत’ पनि थपिएकी छन् । आफू प्रचण्डपछिको जिम्मेवारी लिन पार्टीमा सक्षम रहेको उनको दाबी छ ।

अध्यक्ष निर्विकल्प भए पनि बहुपदीय संगठनको अभ्यास माओवादीले गरेको छ । तपाईंले पनि म यो जिम्मेवारीमा उठ्छु भन्ने सोच्नुभएको छ कि ? भन्ने प्रश्नमा उनको जवाफ छ—  अझै म सक्रिय राजनीति गर्न सक्छु । हामीले बहुपदमा जाने निश्चित गरिसकेका छाैँ । अझै सक्रिय ढंगले क्रियाशील हुनसक्ने भएकाले कार्यकारी भूमिका भएको पदमा रहन सकुँ भन्ने चाहन्छु ।’

यही पदमा उठ्छु भन्न सक्ने अवस्था छैन ? भन्ने प्रतिप्रश्नमा विद्युतको जवाफ छ— ‘बहुपदमा सबै महत्त्वपूर्ण हुन्छन् । अलि बढी कार्यकारी भनेको अध्यक्ष र महासचिव हुन्छन् । म अध्यक्ष प्रचण्ड अहिले रहनुभएको ठाउँ दावा गर्दिनँ ।’

भनेपछि महासचिव बाँकी रह्यो ! भन्दा उनी थप्छिन्— ‘त्यही बुझ्नुस् ।’

महासचिवमा भुसालको दाबीलाई कतिपयले प्रभाकर र अनन्तको प्रतिस्पर्धामा विकल्पमा रुपमा देखा परेको माओवादी नेताहरू बताउँछ । भुसाल पनि प्रचण्डको नजिकै रहेर काम गर्दै आएकी नेतृ हुन् । ‘महासचिवमा भुसालको दाबेदारी प्रभावकर र अनन्तका लागि झड्का नै हो,’ एक स्थायी समिति सदस्यले भनेका छन् ।

अरु को को आकांक्षी ?

महासचिवमा प्रभाकर, अनन्त र विद्युतको दाबेदारी प्रबल रूपमा प्रस्तुत भएको भए पनि यो पदका आकांक्षी भने अरू नेताहरू पनि छन् । ‘जनयुद्ध’का बेला प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई सीपी गजुरेल पछि वर्षमान पुन, जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’, शक्तिबहादुर बस्‍नेतलगायतलाई लिइन्थ्यो । तर, अहले माओवादी केन्द्रमा डा. भट्टराई र विप्लव छैनन् । बाँकी रहेका नेता अनन्त र प्रभाकर गुट बनाएरै अगाडि बढेका छन् । जो चुनाव लडेर भएपनि महासचिवमा दाबेदारी कायम राख्ने मूडमा देखिन्छन् ।

यसबाहेक कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायत नेताहरू पनि महासचिवका आकांक्षी हुन् । तर, उनीहरू सहमतिमा होस् र आफ्नो नाममा महासचिव पद आओस् भन्नेमा देखिन्छन् । प्रचण्डलाई कसलाई महासचिव बनाउने भन्ने निर्क्योल गर्न समस्या भए महरालाई अघि सार्न सक्ने आँकलन पनि गरिएको छ ।

माओवादीभित्र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को पनि आफ्नै खालको गुट छ । नेकपा एकता केन्द्रबाट माओबादीमा विलय भएका उनको गुट त्यसबेलादेखि कै हो । तर उनी महासचिवमा भन्दा पनि बरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर ब्यवस्थापन गर्ने तयारी गरिएको प्रचण्ड निकट नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *