शंकर पोखरेल- नेकपा जोगाउन सकिएन, दु:ख लागेको छ

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा जोगाउन नसकेकोमा आफूलाई दुःख लागेको बताएका छन् । काठमाडौँको कमलादीस्थिति प्रज्ञा प्रतिष्ठानको भवनमा चलिरहेको नेकपा मा‌ओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा जोगाउन नसकेकोमा दुःख व्यक्त गरेका हुन् ।

‘हामी एमाले-माओवादी वामपन्थी शक्तिका रूपमा आयौँ । एउटै घोषणापत्रका आधारमा हामी अघि बढ्यौँ । किन दुईतिर भयौँ, त्यो आफैँले सोच्नुपर्ने विषय हो । आज हामीले जोगाउन सकेनौँ, मलाई दुःख छ । दु:ख लागेको छ‚’ उनले भने ।

उनले माओवादीको अबको कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अध्यक्षतामा हुने आफूले सुनेको भन्दै उनलाई कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन् ।

‘जनताले मुलुकमा क्रान्तिमात्रै होइन, समृद्धि चाहेका छन् । स्वाधीनताका मामिलामा हामीले हाम्रो कर्तव्यलाई मनन गर्न आवश्यक छ । हरेक राजनीतिक दलले कुन बाटोमा देशलाई डोर्‍याउने भन्ने कुराको बहस गर्नुपर्छ । यो अवसर हरेक दलले आफ्नो महाधिवेशनमा पाउनुपर्छ‚’ उनले भने‚ ‘आजको वामपन्थी आन्दोलन सही बाटोमा हिँडेको छैन । आज वामपन्थी नेताहरू नै बोल्न छाडेका छन् । यसरी आन्दोलन अगाडि बढ्छ ? हामीले सोच्ने बेला भएको छ ।’

अधिकारको प्रश्नमा मिले पनि समृद्धिको प्रश्नमा मिल्न किन सक्दैनौँ भन्ने प्रश्न गर्दै महासचिव पोखरेलले एमालेले चाहेको समाज र माओवादीले चाहेको समाज एउटै भएको दाबी गरे । ‘नत्र किन फरक बाटो हिँड्ने ? साझा मान्यता बनाऊँ‚’ उनले भने ।

‘मिल्नुको अर्थ भनेको समृद्धि हो, समृद्धि नभए ५-६ दल मिलेर काम छैन । जनतामा जाने प्रतिगमन होइन‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *