सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरू सभामुखको बचाउमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरूले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए ।

तर काँग्रेस सांसदहरू बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाई बैठक स्थगित भएको जानकारी गराए । बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए । सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरूलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए । उनले सत्ताको इशारामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए ।

उनले भने – ‘प्रतिपक्षले बोल्न पाउनुपर्यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ । सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा सुरु हुनु अगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ ।

त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ । त्यो ढंगबाट अगाडी जाने उहाँहरूको कोसिस देखिन्छ । संसदले हल निकाल्ने होइन सरकारबाट संसदमा समस्या सिर्जना गर्ने, संसदलाई बन्दी बनाउने, संसदबाट प्रक्रियागत ढंगले होइन संसदलाई नियन्त्रण गरेर जर्बजस्ती अगाडी बढ्नेगरी कार्यदिशा तय गरिएको आजको सभामुखको भूमिकाबाट प्रष्ट हुन्छ ।’

यता, सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण आफूहरूले बोल्न नपाएको बताए । प्रमुख प्रतिपक्ष दलका सांसदहरू पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरू भने बोल्न नपाएको उनको भनाई छ । उनले काँग्रेस सांसदहरूले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताए । उनले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिए ।

उनले भने ‘यो संसदमा प्रमुख प्रतिपक्षले जे कुरा राख्नुभयो, बोल्न पाउनुपर्छ भन्नेकुरा त्यही कुरा हामी सत्तापक्षले पनि भन्दै आएका छौँ । प्रमुख प्रतिपक्षको कारणले गर्दा कोहीपनि सांसदहरूले बोल्न पाएनन् । देशभरका समस्याहरू संसदमार्फत् सरकारलाई सुनाउने, सरकारलाई खबरदारी गर्ने सांसदको अधिकार हो ।

त्यो अधिकार दुई महिनादेखि नेपाली काँग्रेसका माननीयज्युहरुले अवरोध गरिरहनु भएको छ । कांग्रेसका माननीयज्यूहरूले त बोलिरहनु भएको छ । पालो फेरि फेरि सबैलाई पु¥याउनु भएको छ । बोलिरहनु भएको छ । हप्काउनु भएको छ । सबैथोक गरिरहनु भएको छ । आरोपित गर्नुभएको छ । तर हामीले पो बोल्न पाएका छैनौँ । त्यसकारण हामी छिटोभन्दा छिटो यो हाउस खुलोस् । नीति, निर्माणको बाटो खुलोस् । सभामुखमाथि जसरी उहाँहरुले धारे हात लगाइरहनु भएको छ ।

सभामुखको अगाडी बसेर वेल घेराउको क्रममा सभामुखतर्फ औँला तेर्साएर तानाशाह मुर्दावादको जस्ता नारा पनि लगाइरहनुभएको छ । यो असाध्यै अशिष्ट, अशोभनीय तरिकाहरू हुन् । नेपाली काँग्रेसले यो शैलीलाई बदल्नुपर्छ । अवरोध खुलाएर सहजतातर्फ लैजाने कुरा उसको पनि दायित्व हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडी बढाउन खोज्नुभएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरूलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा आईतवारसम्म सहमति जुट्ने बताए ।

उनले भने ‘प्रतिपक्षले बोल्न दिएन भनेर आरोप लगाउन स्वाभाविक भयो । बोल्न नदिएको अवस्थामा । तर विगत लामो समयदेखि सदन चल्ने, सदन बस्ने अनि विरोध गर्ने । विरोध पछाडि प्रमुख प्रतिपक्षले अथवा कोही अमुक सांसदले केही कुरा राख्ने आफ्नो मुद्दा स्थापित गर्ने र सदन बन्द गर्ने हिँड्ने । यो खालको भएको थियो । सभामुखको आजको भनाई के मात्र हो भने बोल्नलाई सबैजना बोल्ने । तर बोल्नका लागि तपाईँहरू वातावरण बनाउनुस् भन्ने हो । कुनै कार्यव्यवस्थामा सल्लाह भएर उहाँहरूलाई बोल्न नदिने भनिएको होइन । सभामुखज्यूलाई जे उचित लाग्यो त्यो गर्नुभयो । आइतबारसम्म सहमति जुट्ने र संसद अगाडी बढ्नेछ ।’

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए । उनले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताए । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उनको भनाई छ ।

उनले भने ‘बारम्बार हामीले संसदमा प्रतिपक्षलाई पनि बोल्न दिएका छौँ । र समस्याको समाधान गर्नको लागि निरन्तर प्रयत्न गरिरहेको छ । अहिले सदन चलिरहेको छ । अध्यादेशको कुरा कहाँबाट आयो र ? सरकारले आफ्नो नीति, कार्यक्रम प्रस्तुत गरिसक्यो । त्यसपछि यो समस्या जुन आइरहेको छ । यो समस्याको समाधान गर्ने गरेर कार्यदल बनेको छ । त्यो कार्यदलले एउटा निचोड निकाल्दै छ । त्यसैका लागि आज सबै विषयवस्तुहरूलाई सकारात्मक ढंगले लैजाने गरेर हामी अगाडी बढेका छौँ । सहमति कहिले जुट्छ भन्ने कुरा जुटेपछि नै आउँला । अहिले नै आइरहेको छैन । जुटाउनका लागि सरकारको तर्फबाट प्रधानमन्त्रीले बारम्बार प्रयत्न गरिरहनुभएको छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) कै सांसद लेखनाथ दाहालले नेपाली काँग्रेसको अवरोधका कारण महिनौँदेखि संसदमा बोल्न नपाएको बताए । उनले कांग्रेस सांसदहरूले आफूहरूको मौलिक हकको अपहरण गरेको आरोप लगाए ।

उनले भने ‘यो भन्दा अगाडीको बैठकमा पनि प्रतिपक्षले बोलिसकेपछि फेरि संसद अवरुद्ध गरेको कुरा पनि सत्य हो नि । उहाँहरुले बोलिसकेपछि सदन सुचारु हुने सुनिश्चितता भएपछि सभामुखले बोल्न दिनुहुन्छ । मुख्यकुरा अहिले संसद अवरोधलाई निरुत्साहित गर्ने, संसदलाई बहसको थलो बनाउनुपर्छ । आलोचना गर्न, मुद्दा उठाउन पाइन्छ । तर एउटै मुद्दाले संसदलाई बन्धक बनाउने, उहाँहरू बोलिराख्ने । प्रतिनिधि सभाभित्र हामी पनि सांसद हौँ । हाम्रो मौलिक हकको अपहरण उहाँहरुले महिनौँदेखि गर्नुभएको छ । त्यो चाहीँ उहाँहरू स्विकार्नुहुन्न । उहाँहरू मात्र सांसद हो त ? हामी पनि सांसद हो त । हामीले बोल्न नपाएको महिनौँ भयो । उहाँहरुले त बोल्नुभएको थियो योभन्दा अगाडी । त्यसकारण नेपाली काँग्रेसले कुनैपनि हालतमा सदन अवरुद्ध गर्ने । बोलिसकेपछि पनि अवरुद्ध गर्ने । कार्यसूचीभित्र पस्न नदिएकै कारणले गर्दा सभामुखले बैठक स्थगित गर्नुभयो ।’

उनले काँग्रेस सांसदहरू आफू बोलेर संसद अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा काँग्रेसलाई बोल्न नदिएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *