कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना सकिँदैछ । गएको मंसिर २४ गतेदेखि काठमाडौँमा शुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि चुनाव भएको ११औँ दिन आज मतगणना सकिन लागेको हो । मतदान लगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।

मतगणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस आर्य, आदिवासी जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेको छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र सहमहामन्त्री ८ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित १३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दलिततर्फ केन्द्रीय सदस्यमा ९मध्ये ८ देउवा पक्षका विजयी
समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा ५ र महिलामा ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन । खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *