काँग्रेस प्रदेश २ अधिवेशन : बन्यो देउवाविरुद्ध कोइराला-निधि समीकरण

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसको १४औँ महाधिवेशनपछि हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको छ ।

प्रदेश २ को अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेता शेखर कोइराला र विमलेन्द्र निधिले समीकरण बनाएका हुन् । सभापतिमा रामसरोज यादव र कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज निधी निकट हुन् भने कृष्ण देउवा निकट हुन् ।

कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र वीरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनेको छ ।

कोइराला-निधि पक्षका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन् ।

देउवा र कोइराला-निधि पक्षबीच प्रदेश समितिको ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधिले प्रदेश दुईमा साथ पाउन अपेक्षा राखेका थिए तर, समीकरण फेरिएको हो ।

आ-आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरू जनकपुरधाम आएका छन् । देउवा प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो तीन दिनदेखि जनकपुरधाममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *