व्यायाम गर्न मनपर्दैन तर गर्नैपर्नेछ भने यसरी शुरु गर्नुहोस्

मेरो उच्च शिक्षाको अध्ययन सकिनै लाग्दा म खुसी भएकी थिएँ किनभने त्यसपछि मैले कहिल्यै ‘जीम’ कक्षामा सहभागी हुनुपर्ने थिएन । मलाई खेलकुदमा कुनै रुचि नै थिएन । साँच्चै भन्दा खेल र व्यायामसम्बन्धी कुनै पनि कुरा मलाई मनै पर्दैनथ्यो । पसिना बगाउने गरी व्यायाम गर्नु हृदयको लागि आवश्यक थियो । तर‚ मलाई व्यायाम हुने काम जस्तैः नृत्य गर्न पनि मन पर्दैनथ्यो । उच्च शिक्षाको अन्तिम वर्षको सुरुवातमा नै मैले पढ्नका लागि ‘फाइट फिजिकल फिटनेस’ लेखेर राखेको थिएँ ।

दुर्भाग्यवश मेरो स्वास्थ्यका कारण व्यायाम नगरी बस्ने समय धेरै लामो हुन सकेन । व्यायाम गर्न छाडेको केही समयपछि नै मेरो तौल ९ पाउन्डले वृद्धि भयो । त्यसपछि आफ्नो तौल बढ्न नदिनका लागि म दौडन थालेँ । दौडन सुरु गरेको सुरुको ६ महिना मलाई निकै गाह्रो भएको थियो । तर‚ मैले एक दिन आफूले पसिना बगाएको फल प्राप्त भएको महसुस गरेँ । त्यसपछि मैले कहिल्यै पनि दौडन छाडेको छैन । अध्ययनले पनि शारीरिक कसरत गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएको देखाउँछ ।

‘कसरत भनेको ‘साँचो’ हो किनभने तपाईँको जीवन कसरत र व्यायाममा नै निर्भर रहेको हुन्छ‚’ अनुसन्धानकर्ता हवार्डले भने । नियमित कसरत गर्दा मुटुसम्बन्धी रोग, हृदयाघात, मधुमेह, केही प्रकारका क्यान्सरहरू, फोक्सोसम्बन्धी रोगबाट बच्न सकिन्छ । नियमित शारीरिक कसरत गर्दा त्यसले हाडजोर्नी बलियो बनाउनुका साथै राम्रो निद्राका लागि समेत मद्दत पुग्छ ।

हावर्ड भन्छन्, ‘नियमित शारीरिक कसरतले एन्जायटी, डिप्रेसन हुनबाट बचाउँछ । त्यस्तै कसरतले मस्तिष्कमा नयाँ कोशिकाहरू विकास गर्छ । शारीरिक रूपमा चलायमान हुँदा मस्तिष्कमा हुने रसायन एन्ड्रोफिन्स, डोपामाइनलाई सन्तुलित राख्ने काम गर्छ । यी रसायनहरूले उत्प्रेरणा दिने, बलियो महसुस गराउने र तनाव घटाउने काम गर्छ । त्यस्तै शारीरिक कसरतले यौन जीवन राम्रो बनाउनसमेत मद्दत गर्ने मायो क्लिनिकका चिकित्सक तथा विज्ञहरूले पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शारीरिक व्यायाम गर्नेको तुलनामा नगर्नेहरूको मृत्यु हुने सम्भावना तुलनात्मक रूपमा २० देखि ३० प्रतिशतसम्म हुने गर्छ । त्यस्तै दिनमा कम्तीमा २१ मिनेट कसरत गरेमा त्यसबाट पाइने लाभ उठाउन सकिन्छ । त्यसैले अति आवश्यक पर्ने शारीरिक व्यायाम मन नपर्नेले यी तरिका अपनाउँदा बानी पार्न सकिन्छ ।

१. शारीरिक व्यायामलाई नियमित गर्नै पर्ने काममा राख्नुहोस्
सुरुमा मैले व्यायामलाई एक औपचारिक कार्यको रूपमा राखेको थियो । मैले प्रत्येक दिन कसरत गर्ने उद्देश्य राखे । तर‚ गर्न भने सकिनँ । दैनिक कसरत गर्नका लागि बिहान सबेरै उठ्नुपर्थ्यो । उठेपछि म कसरत गर्नभन्दा पनि अरू नै काम गर्नतर्फ केन्द्रित हुन्थेँ । त्यसो हुँदा म हप्ताको एक दिन मात्र कसरतका लागि दौडन थालेँ‚ जुन मेरा लागि पर्याप्त थिएन । त्यसपछि मैले व्यायामसम्बन्धी मेरो दृष्टिकोण नै परिवर्तन गरेँ । शारीरिक व्यायामलाई दैनिकीको एक महत्त्वपूर्ण र आधारभूत भाग बनाएजस्तै खाने, सुत्ने । त्यसपछि मैले व्यायाम गर्ने तालिका बनाएँ । त्यसो गर्दा मलाई त्यो समय मैले शारीरिक व्यायाम नै गर्ने हो भनेर दबाब पर्न थाल्यो । यसरी एउटा समय निर्धारण गरेर व्यायाम गर्दा छिटै बानी पर्न थाल्यो । चिकित्सक पनि यसरी नै व्यायाम गर्ने सल्लाह दिन्छन् ।

२. बिस्तारै सुरु गर्नुहोस्
व्यायाम गर्न सुरु गर्दा गरिने सबैभन्दा ठूलो गल्ती भनेको सुरुवातमा नै धेरै समय र छिटो छिटो व्यायाम गर्नु हो । यदि तपाईँ दौडनेबाट सुरु गर्नुहुन्छ भने एक दिनमा ४ किलोमिटर नकुद्नुहोस् । यसो गर्दा तपाईँ अर्को दिन दौडनै सक्नुहुन्न । एक किलोमिटरबाट सुरु गरेमा दौडने कार्यलाई निरन्तरता दिन सकिन्छ । आफूले सुरु गरेको नयाँ कामलाई समय दिनुपर्छ । बिस्तारै बिस्तारै त्यही समय बानीमा परिवर्तन हुन्छ । ३० दिनसम्म बिस्तारै एउटै काम गर्दा त्यसले सकारात्मक प्रभाव पर्छ ।

३. आफूलाई मन पर्ने व्यायाम पत्ता लगाउने
सबै जनालाई मलाईजस्तै दौडने प्रक्रिया मन नपर्न सक्छ । त्यसैले विभिन्न प्रकारका शारीरिक कसरत पत्ता लगाएर आफूलाई जुन ठिक र सहज लाग्छ‚ त्यही व्यायाम गर्नुपर्छ । त्यसमा दौडने, पौडने, मेसिनको प्रयोग, किकबक्सको प्रयोग गर्नेलगायतका जुन विधि आफूलाई ठिक लाग्छ‚ त्यही गर्न सकिन्छ । नाच्ने‚ घरबाट घुम्न निस्कने पनि गर्न सकिन्छ । यो सबै चलायमान हुनुसँग सम्बन्धित हुनुपर्छ । आफूलाई मन पर्ने व्यायामले आत्मबल पनि बढाउँछ । जसले गर्दा व्यायाम गर्न मन लाग्छ ।

व्यायामका रमाइलो पक्ष मनन गर्नुहोस्
व्यायाम गर्न मन परे पनि सबै व्यायाममा रमाउन भने सकिँदैन । त्यसैले कहिलेकाहीँ आफूलाई रमाइलो लाग्ने कसरतमात्रै गर्नुपर्छ । किनभने सधैँ एउटै कसरत गर्दा कहिलेकाहीँ थकाइ लाग्छ र व्यायामप्रति वितृष्णा पैदा हुन थाल्छ । त्यसैले कहिलेकाहीँ आफ्नो मन पर्ने ठाउँमा जाने, रमाइलो लाग्ने गतिविधि गर्ने कोसिस पनि गर्न सकिन्छ । यसले सिर्जनात्मक बनाउन मद्दत गर्छ । व्यायाम सधैँ चालसँग सम्बन्धित हुन्छ । कसरी आफ्नो शरीरलाई चलायमान बनाउने भन्ने सोच्नुपर्छ । यही काम गर्नैपर्छ भन्ने हुँदैन ।

सीएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *