आचार्यको नजरमा प्रचण्ड, देउवा, ओली, नेपाल र भट्टराईको कूटनीति कस्ताे ? (भिडिओ)

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कूटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हाबी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटि गरिरहेको बताएका छन् । दुई ठुला शक्ति राष्ट्रको बिचमा रहेको देशले कूटनीतिज्ञको नियुक्ति र कूटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको बताए

नेपालको कूटनीतिक सामर्थ्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित छन् । अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिन सक्ने अवस्था नदेख्ने आचार्यले नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख गरे । ‘भारतसँगको हाम्रो सम्बन्ध अहिले नराम्रोसँग बिग्रिएको छ ।’

नेपालको राजदूत भइसकेका भारतीय कूटनीतिज्ञ श्यामशरणले आफ्नो पुस्तकमा भारतको पाकिस्तान, चीन र नेपालसँग सम्बन्धमा समस्या रहेको कुरा लेखिएको भन्दै नेपालबारे यस्तो कुरा आउनु धेरै गम्भीर कुरा भएको उनले बताए । ‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, रोटिबेटी, भाषा, धर्म संस्कृति, भूगोल, व्यापार वाणिज्य शिक्षा स्वास्थ्य यावत सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध बिग्रनु र उसले छिमेकीमध्ये यी देशसँग सम्बन्धमा समस्या छ भनेर लेख्नु गम्भीर कुरा हो,’ उनले भने ‘मलाई के लाग्छ भने प्रधानमन्त्री राष्ट्रपति जस्तो उच्चतम राजनीतिक स्तरबाट यसमा ठुलो होमवर्क हुनुपर्ने छ । यो धेरै बिग्रिएको अवस्था म देख्छु । भारतबाट सहयोग पाइएन (विश्व स्वास्थ्य सङ्गठनको चुनावमा) भन्ने कुरामा मलाई कुनै आश्चर्य होइन । पाइएन मात्र होइन भविष्यमा पनि (सम्बन्ध सुधार नहुँदासम्म) पाइँदैन ।’

आचार्यले बिपी तथा महेन्द्रका पालामा नेपालले कूटनीतिक महत्त्व पाउनुमा दुवैको व्यक्तित्वले असर गरेको बताए ।

कूटनीतिज्ञमा हुनुपर्ने तीन गुण
२०४८ देखि ५१ सालसम्मको महत्त्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हालेका आचार्यको अनुभवमा कोही पनि कूटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्दछ । ‘अध्ययन अनुभव र राष्ट्र प्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कूटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन् । जोसँग यी बढी भयो त्यही प्रभावशाली हुन्छन्,’ उनले भने ।

कोही व्यक्ति कूटनीतिज्ञका रूपमा प्रभावशाली बन्न देशको भूगोलले प्रभाव नपर्ने भन्दै उनले यदुनाथ खनालको उदाहरण दिए । कूटनीतिज्ञको पद अथवा देश भन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्ने कुरा निर्धारण गर्ने आचार्यले बताउँछन् ।

भूगोलका आधारमा नेपालको कूटनीतिक महत्त्व धेरै
नेपालभन्दा साना देश एक सय भन्दा बढी रहेको प्रसङ्ग निकाल्दै उहाँले नेपालको भूगोलका आधारमा यसको कूटनीतिक महत्त्व अझ धेरै रहेको बताए । ‘हाम्रो अझ महत्त्व के छ भने शक्तिशाली देश चीन र भारतको बीचमा छौँ । हाम्रो रणनीतिक भौगोलिक स्थिति महत्त्वपूर्ण छ । त्यस दृष्टिले नेपालको कूटनीतिज्ञले विश्वमै प्रभाव पार्ने खालको भूमिका खेल्न सक्छ,’ उनले भने ।

शक्ति राष्ट्रको दूतको प्रभाव स्वतः हुने भए पनि सानै देशको राजदूत पनि यदि सक्षम छ भने उसले प्रभाव राख्ने उनको निष्कर्ष छ । तर नेपाल आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर नहुँदा कूटनीतिमा सफल हुन नसकेको उनको तर्क छ ।

राष्ट्रसङ्घीय शान्ति सेनामा भूमिका यसरी बढ्यो
अहिले नेपाल संयुक्त राष्ट्र सङ्घमा सबैभन्दा धेरै सेना पठाउने देशमा पर्छ । बङ्गलादेशको सैनिक मिसन घटेपछि नेपाल अहिले सबैभन्दा धेरै शान्ति सैनिक खटाउनेमा पर्छ । तर सुरुमा यस्तो अवस्था थिएन । आचार्य स्थायी प्रतिनिधिका रूपमा जाँदा राष्ट्र सङ्घमा नेपालको योगदान एक हजार पनि अपुग थियो । नेपालको सैनिक करिब ४६ हजार हुँदा त्यस बेला देशमा माओवादी सशस्त्र सङ्घर्ष सुरु भइसकेको थिएन । ‘जम्मा आठ सय ८१ जनाले मात्र लेबनानमा युनिफिलमा जवानले काम गरेको अवस्था थियो,’ आचार्य सम्झन्छन्, ‘हाम्रो सेनालाई यत्तिकै राख्नभन्दा शान्ति सेनामा बढाऔँ भनेर तीन गुणा बढाइयो ।’

सैनिक सङ्ख्या बढेसँगै आफूले त्यसैका आधारमा थालेको कूटनीतिक अभ्यासका कारण पहिलो पटक मेजर जेनरल कृष्णनारायणसिंह थापालाई युएन मिसनको फोर्स कमाण्डर बनाएर इजरायल पठाइएको आचार्य स्मरण गरे । आफ्नै कार्यकालमा राष्ट्रसंघको योगदानकै आधारमा मानवअधिकार समितिमा पहल गरेर गणेशमान सिंहलाई नेल्सन मण्डेलाले पाएको मानव अधिकार पुरस्कार दिलाइएको उनले स्मरण गरे ।

अस्थिरताले राष्ट्र सङ्घमा कमजोर प्रभाव
सुरक्षा परिषद्मा दुई पटकसम्म सुरक्षा परिषद्मा निर्वाचित भएको नेपाल कुनै समय मानवअधिकार परिषद्मा पनि पुगेको थियो । तर पछिल्लो समय हेर्ने हो भने राष्ट्रसङ्घीय निकायमा नेपालको उपस्थिति कमजोर देखिन्छ ।

हालै भएको विश्व स्वास्थ्य सङ्गठनको निर्वाचनमा पनि नेपाली उम्मेदवार पराजित भए । यसबाहेक ठुला पदमा उम्मेदवारी दिने आँटसमेत नेपाली नेतृत्वले गर्न सकेको छैन । किन त ? आचार्यले भने, ‘यो आन्तरिक राजनीतिको कमजोरी हो । हामीले फोकस्ड डाइरेक्सन दिएर पठाउने कुरामा पनि कमजोरी भएको छ । ४८ पछि ३२ वर्षमा ३० वटा सरकार बनेको छ । व्यवस्था नै परिवर्तन भएको छ । यो अस्थिरताको बीचमा हाम्रो कूटनीतिक विश्वसनीयता कम हुने अवस्था छ ।’

विगतमा दुई पटक निर्वाचित भए पनि बहुदल आएको ३४ वर्षमा पनि सुरक्षा परिषद्मा पुग्न नसक्नुमा आचार्य आन्तरिक क्षमता र गृहकार्य नपुगेकोलाई नै जोड दिन्छन् ।

विदेशी भ्रमण खुम्चियो, गृहकार्य नहुँदा भारत चीनका भ्रमणबाट पनि लाभ लिन सकिएन ‘रुसका राष्ट्रपति ख्रुस्चेभले बीपीलाई होटलमा आएर ३ पटक भेटेका छन्, भारतका प्रधानमन्त्री नेहरुले २ पटक आएर भेट्नुभएको छ,’ उनले भने, ‘राजा महेन्द्रले २०२४ अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको इतिहास छ । नेपालको रणनीतिक अवस्था, कोल्ड वार र हाम्रो कुटनीति मिसिएर हामीले गौरव सम्मान हासिल गरेका थियौँ ।’

विगतमा बेलायती रानी एलिजाबेथले २ पटक, जर्मन चान्सलर हेल्मुट कौल तथा फ्रान्सका राष्ट्रपति आए पनि अहिले त्यस्ता ठुला भ्रमण नहुँदा नेपाललाई महत्त्व नदिएको देखिएको भारत र चीनबाट भ्रमण वृद्धि भए पनि हाम्रो तयारी नपुग्दा महत्त्वपूर्ण भ्रमणबाट लाभ लिन नसकेको कूटनीतिज्ञ आचार्यले बताउँछन्

भारतको नाकाबन्दी रोक्न सकिन्थ्यो
नेपालको कूटनीति परिपक्व भएको भए भारतले लगाएको नाकाबन्दी रोक्न सकिने तर्क गर्दै आचार्यले भने, ‘हामीले यस्तो संविधान बनाउँछौँ । त्यो भारतको विरोधमा होइन ब्लकेडको आवश्यकता छैन नगर्नुहोला भनेर पहिल्यै क्यालकुलेट गरेर प्रस्ट भन्न सक्नुपर्थ्यो ।’

उनी यस्ता मामिलामा यदुनाथ खनालको कूटनीतिक कुशलता स्मरण गर्छन् । ‘(महेन्द्र)को डिक्टेटरशीपपछि पनि राजाले जुन कदम लिए, त्यो आन्तरिक राजनीतिक प्रक्रियाको उपज हो र यो भारत विरोधी होइन भनेर कन्भिन्स(उहाँले) गर्नुभएको थियो । पछि नेहरुले पनि हो भन्नुभयो,’ उनले भने । उनले यदुनाथ खनालको परिपक्व कूटनीतिकै कारण भारतको विभिन्न विषयमा असहमति हुँदाहुँदै पनि शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग गरिरहने अवस्था खराब सम्बन्धकै समयमा पनि पञ्चायत कालमा बनेको टिप्पणी गरे

इपीजी रिपोर्टमा गम्भीर त्रुटि
कूटनीतिज्ञ आचार्य सही र यथार्थपरक ढङ्गले अघि बढ्न नसक्दा नेपाल भारत सम्बन्धमा समस्या देखिएको बताउँछन् । ‘प्रधानमन्त्रीको (भारत)भ्रमणमा सीमा, सन् ५० को सन्धी र इपीजी रिपोर्टका विषय राख्दा महलो बिग्रन्छ भनेर एजेन्डामै नराखेको भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्छ,’ उनले भने । ‘एस जयशंकर आउँदा पनि नराख्ने(विवादित विषय) कुरा भयो भनेर अनौपचारिक रूपमा सुनेँ । तर यी झन् गम्भीर कुरा हुन् ।’

उनी इपीजी प्रतिवेदन तथा चुच्चे नक्साजस्ता विषय पहिल्यै भारतले मान्छ कि मान्दैन भनेर कदम चाल्नुपर्ने भन्दै विगतमा भारतको विश्वास जितेर चीन सीमाबाट वायरलेस सेटसहितका सैन्य पोस्ट हटाउँदा नेपालले त्यसै गरेको स्मरण गर्दछन् ।

‘सैन्य पोस्ट चेकपोष्ट, वायरलेस अपरेटरलाई फिर्ता पठाउने कुरा झनै गम्भीर थियो । २७ वर्ष बसेको फिर्ता पठाउनु त भारतको सुरक्षा दृष्टिकोणबाट झनै गम्भीर कुरा थियो नि, तर हामीले यतिखेर कुरा गर्दा भारत मान्न तयार हुन्छ भनेर परिस्थितिको क्यालकुलेसन आकलन गरेर कुरा गरियो । र सफल पनि भयौं ।’ उनले भने ।

इपीजी गठन गर्दा नै कमजोरी
इपीजी प्रतिवेदन तयार भएको लामो समयसम्म पनि भारतले बुझ्न नमान्नुमा गठनअघि नै गलत आकलन भएको प्राडा आचार्यको बुझाइ छ । ‘म साधारण मान्छेलाई त त्यो (इपीजी प्रतिवेदन) भारतले स्वीकार गर्दैन भन्ने लागेको थियो । उनीहरूको परम्परागत दृष्टिकोण हेर्दा त्यो लागेको थियो,’ उनले भने । त्यो भारतले नमान्ने भन्दै उहाँले अहिले अवकाशप्राप्त प्राध्यापक भए पनि एसडी मुनिको किताबमा पनि उल्लेखित प्रसंगले भारत सरकारको प्रतिनिधित्व गर्ने बताए । भारतले आफ्नो रणनीतिक स्वार्थमा असर पर्ने यस्ता कुरा मान्दैन भन्नेकुरा नबुझिकन परिस्थिति आकलन नगरिकन भावनात्मक रूपमा माग राखेर नहुने भन्दै अहिले त्यही भएर भारतले रिपोर्ट बुझ्न नमानेको उनको दाबी छ ।

‘चुच्चे नक्सा पास गरेर राखेपछि सीमाको विषयमा त अब कुरै हुँदैन भनेको छ । त्यो (एसडी मुनिको पुस्तकमा उल्लेखित) भारतकै भाषा हो,’ उनले भने ।

राजदूत नियुक्तिको मापदण्डबारे सोच्नुपर्ने बेला भयो
राजदूतका लागि अध्ययन, अनुभव र राष्ट्र प्रेम अपरिहार्य रहेको प्रसङ्ग दोहो¥याउँदै आचार्य भारतले भाजपाका सदस्य नरहेका एस जयशंकरलाई राजदूत बनाउँदा उनको अध्ययन र अनुभवका आधारमा बनाएको स्मरण गरे । ‘हाम्रोमा त्यो छैन । त्यो छलफल हुनुपर्छ,’ उनले भने ।

राजदूत हुने मान्छेले कूटनीतिका विषयमा कति लेखेको, पढेको अनि छापेको हेर्नुपर्ने उनले बताए । संसदमा हुने सुनुवाइको सुझाव आफैँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई दिए पनि अहिले सुनुवाइमा सोधिने प्रश्न उपयुक्त नभएको उनले तर्क गरे ।

राजदूतहरूलाई आधारभुत रूपमा देशको परराष्ट्र नीति, जाने देश अनि राष्ट्रसंघमा हाम्रो र जाने देशको भोटिङ प्याट्रनको विषय सोधिनुपर्ने उनले बताए । तर सुनुवाइमा सोधिनुपर्ने प्रश्न नै नसोधिने गरेको र राजदूत नियुक्तिपछि तालिम दिने चलन अन्यत्र भए पनि नेपालमा नभएको उनले दुखेसो गरे

अहिलेका राजदूत तथा परराष्ट्रका अधिकारीमा अध्ययन गर्ने तथा लेख्ने प्रचलन नभएको भन्दै विगतमा यदुनाथ खनालको कूटनीतिको अवधिमा लेखेका सय लेखको ८ सय पेजको किताव रहेको स्मरण गरे । ‘अधिकांश लेख सचिव, राजदूत भएको बेला पदमा लेखका हुन्,’ उनले भने ।

  • कुन प्रधानमन्त्री कस्ता ?

गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसादसँग प्रमकै रूपमा काम गरेको थिएँ । उनी प्रम, रक्षा र परराष्ट्र मन्त्रीको भूमिकामा थिए । मलाई काम गर्न सजिलो के थियो भने उनले युएनमा राजदूत हुँदा आफैँ निर्णय गरे हुन्छ । मलाई त्यताको ज्ञान छैन भनेका थिए । भारतसँगको सम्बन्ध उनले ह्याण्डल गरे । किसनुजीले भारतसँगको सम्बन्ध निकै बुद्धिमानीपूर्ण ढङ्गले ह्याण्डिल गर्नुभएको हो ।

प्रचण्ड कस्ता प्रधानमन्त्री ?
कमजोर । तेस्रो पटक प्रधानमन्त्री भएर पनि के भएको छ । पहिलो भ्रमणमा नोमुरे आयोजना बनाउने भनेको बनेन । हालसालै पञ्चेश्वर एक महिनाभित्र अघि बढाउने सम्झौता भएको सुनेको छु । तर २० वर्ष भइसक्यो एक मुठी माटो पनि खनिएको छैन ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको कमजोरी के हो ?
रञ्जित रेले काठमाडौँ डिलेमामा लेखेका छन् । जे सुन्दा मिठो लाग्छ भन्छन् । तर केही गर्दैनन् ।

शेरबहादुर देउवा
सत्तामा गएपछि शक्ति आउँछ । शक्ति आएपछि मान्छे परिचालन गर्न सकिन्छ त्यत्ति हो राजनीति भन्ने मान्छे । कूटनीति केही छैन ।

केपी ओलीको कूटनीति कस्तो ?
केपीले अडान लिएको देखियो । ब्लकेड नहट्दासम्म (भारत) भ्रमण गर्दिन भनेर राम्रो गरे । तर चुच्चे नक्सामा भने मिस एड्भेन्चर भएको छ । भित्तामा त छ । लालपुर्जाको रूपमा भित्तामा छ । संविधानमा पनि छ तर भोगचलन भारतले छोड्दैन । यसमा कूटनीतिक कमजोरी भएको छ । नक्सा पास गर्नुअघि लिपुलेक र कालापानीमा विवादित भनेर मानेको पनि थियो । त्यसमा हामीले कुरा गरौँ दुवै पक्षलाई राम्रो हुने समाधान निकालौँ भनेर समाधान निकाल्न सकिन्थ्यो ।

भारतलाई यो नेपालकै हो भनेर मनाएर बरु कैलाश मानसरोवर जाने बाटो दिएर । नेपालकै भूमिभित्र बनाऊँ तर प्रयोग गरेबापत तिर्नुपर्छ कर भनेर स्वीकार गराएर नेपालकै हो भनेर गराउन सकिन्थ्यो । ६२ को लडाइँमा (भारतीयहरू)मर्का परेरै बसेका थिए । यसलाई कूटनीतिमार्फत मिलाउन सकिन्थ्यो । हामीले एडभेन्चरिजम गर्यौं ।

माधवकुमार नेपालको कूटनीति ?
मलाई थाहा छैन ।

बाबुराम भट्टराईको कूटनीति ?
उनी फेल भए । बिप्पा गरेर लागू गर्न सकेनन्। बौद्धिक लाग्थ्यो । तर राजनीति बिग्रँदा गलत रहेछ मेरो धारणा जस्तो लाग्छ ।

नेपालका सफल कूटनीतिज्ञ ?
सक्षम र असलमा यदुनाथ खनाल देखिन्छन् । देशको परराष्ट्र सेवामा नरेन्द्रमणि दीक्षितदेखि सेवा लम्सालसम्म २५ जना सचिव भए । तर यदुनाथको सम्झनामा यदुनाथ मेमोरियल लेक्चर सिरिज परराष्ट्र मन्त्रालयले गर्ने गरेको छ । उहाँको नेतृत्वमा सबैभन्दा अग्लो कूटनीति सञ्चालन भएको देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *