कांग्रेस केन्द्रीय समितिमा अटाएका यी १६ नयाँ अनुहार (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार राति आएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३,८३६ मत पाएका छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । ३५ औँ स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १,७०७ मत पाएका छन् ।

यस्तै यसपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नयाँ अनुहार पुगेका छन् । जम्मा ३५ खुला केन्द्रीय सदस्य पदमा १६ जना केन्द्रीय सदस्य पहिलोपटक केन्द्रीय समितिमा अटाएका छन् । उनीहरु कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका प्रक्रियाका लागि भएको निर्वाचनमा विजयी भएका हुन् ।

यी हुन् कांग्रेस केन्द्रीय समितिमा पुगेका १६ नयाँ अनुहार

उदयशमशेर राणा : दोस्रो संविधानसभा सदस्य रहेका उदयशमशेर राणा पूर्व अर्थ राज्यमन्त्री हुन् । उनी नेपाल तरुण दलको पूर्व अध्यक्षस हुन् । उनी खुल्ला तर्फ चौथौ सर्वाधिक मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका हुन्।

जितजंग बस्नेत : नेपाल तरुण दलको अध्यक्ष रहेका जितजंग बस्नेत पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत नेपाल विद्यार्थी संघको पूर्व महामन्त्रीसमेत हुन् । उनी खुलातर्फ ११ औं स्थानमा रहे ।

रामहरी खतिवडा :  पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा रामहरी खतिवडा यसपटक ‘टप टेन’ मा रहँदै खुल्लातर्फको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ओखलढुंगाबाट २०७० को संविधानसभामा निर्वाचित भएका खतिवडा संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्ने कांग्रेस सांसदभित्र पर्छन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

नैनसिंह महर : नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरपनि पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेल्धुराका महर खुल्लातर्फबाट १५ औं नम्बरमा रहन सफल भए ।

कुन्दनराज काफ्ले : विद्यार्थी राजनीतिबाट चर्चा कमाएका कुन्दनराज काफ्ले नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुन् । काफ्ले १३ औं महाधिवेशनमा दोलखा कांग्रेसको सभापति बन्न असफल भएका थिए । यसपटक खुल्ला तर्फको केन्द्रीय सदस्यमा २० औं स्थानमा रहँदै पहिलो पटक केन्द्रीय समितिमा पुग्न काफ्ले सफल भएका छन् ।

गुरु बराल : नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बराल पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्कीमा कांग्रेस तर्फबाट बराल प्रत्यक्ष उम्मेदवार रहेका थिए ।

सञ्जयकुमार गौतम : नेपाली कांग्रेस बर्दियाको पूर्व सभापति समेत रहेका सञ्जयकुमार गौतम पूर्व सिचाइँमन्त्री हुन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट वामगठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेपछि गौतम चर्चामा आएका थिए ।

डा. गोविन्दराज पोखरेल : योजना आयोगको पूर्वउपाध्यक्ष तथा पुनर्निर्माण प्राधिकरणको पूर्वप्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलपनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

राजीव ढुंगाना : नेपाल विद्यार्थी संघको अध्यक्ष समेत रहेका ढुंगाना पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा बहालवाला नेविसंघ अध्यक्ष केन्द्रीय सदस्यमा पराजित हुने परम्परापनि ढुंगानाले तोड्न सफल भएका छन् ।

दिनेश कोइराला : गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएपछि दिनेश कोइराला चर्चामा आएका थिए । उनको टिकट खोसेर कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो ।

मदनबहादुर अमात्य : लामो समय ललितपुर कांग्रेसको जिल्ला सभापति रहेका मदनबहादुर अमात्यपनि पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७० मा संविधानसभा सदस्य रहेका अमात्य खुल्ला केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

अजयबाबु शिवाकोटी : सक्रिय पत्रकारिता छोडेको केही समयमै अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको महासचिवसमेत रहेका शिवाकोटी हाम्राकुरा डटकमको पूर्व प्रधानसम्पादक हुन् ।

उनले कृष्णबहादुर महरा र गोकुल बाँस्कोटा प्रकरणमा गरेको रिपोर्टिङका कारण चर्चा पाएका थिए ।

उमेशजंग रायामाझी : नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उमेशजंग रायामाझी गत संसदीय निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए ।

गणेश लामा : विवादित पृष्ठभूमिका गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा स्थापित भएका हुन् ।

मोहन आचार्य : रसुवाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित मोहन आचार्य पेशाले इञ्जिनियर तथा निर्माण व्यवसायी हुन् । सक्रिय राजनीतिमा आएको छोटो समयमै उनी कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

कृष्णकिशोर घिमिरे : दाङको राजनीतिमा महत्वपूर्ण भूमिका भएका कृष्णकिशोर घिमिरेलाई सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए ।  उनी दाङका पुराना नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *