कांग्रेसका ५ सहमहामन्त्रीको मतगणना शुरु

काठमाडाैँ । नेपाली काँग्रेसका पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेपछि मत गणना शुरु भएको हो ।

अहिले खस-आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको काँग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । पाँच सहमहामन्त्रीको मतगणना ५ ठाउँमा भइरहेको उनको भनाइ छ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राति घोषणा भइसकेको छ । मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन् ।

खस आर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन् ।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन् । पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

बिहीबार भएको गणनाको अन्तिम परिणामअनुसार आदिवासी-जनजाति, महिला र दलिततर्फ सहमहामन्त्रीमा क्रमश: भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार निर्वाचित भए । आङ्देम्बे र उपाध्याय सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् भने परियार सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *