महाधिवेशनमा पार्टीभित्रको अराजनीतिक प्रवृत्तिविरुद्ध लड्यौँ : शेखर

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदमा पराजित भएका नेता डा. शेखर कोइरालाले आफ्नो समूह कांग्रेसलाई एकढिक्का बनाएर लाने विषयमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शेखरले यस्तो बताएका हुन् । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा सधैँ आफू र आफ्नाे समूह प्रतिबद्ध रहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि एक नम्बरको पार्टी बनाउन सक्छौँ । यसमा मेराे टीम सधैँ तत्पर छ ।’

यस्तै उनले १४औं महाधिवेशनमा आफ्नो समूह पार्टीभित्रको अराजनीतिक प्रवृत्तिविरुद्ध लडेको दाबी गरेका छन् । महाधिवेशनको आफूहरूको प्रतिस्पर्धा सजिलो नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौँ । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारविरुद्ध लडिरहेका थियौँ । हामी लडिरहेका थियौँ— पार्टीभित्र गुट र भागबन्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णयविरुद्ध ।’

यस्तै शेखरले आफूहरू प्रतिस्पर्धामा उत्रिएको बेलामा स्पष्ट राजनीतिक सिद्धान्त बोकेर उत्रिएको बताएका छन् । ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान् युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ,’ शेखरले भनेका छन् ।

सभापति चयनको प्रक्रियाअन्तर्गत दोस्रो निर्वाचनमा शेखर देउवासँग ९०७ मतले पराजित भएका थिए । यद्यपि उनकै समूहबाट उपसभापतिमा धनराज गुरुङ र महामन्त्रीमा गगनकुमार थापा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *