यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति पाए मत ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट १३ पदाधिकारीमध्ये हालसम्म सभापतिसहित ८ जना निर्वाचित भएका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको हो ।

सभापतिमा शेरबादुर देउवा दोस्रो पटकमा निर्वाचित भए । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भए । ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो ।

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका झिनो मतअन्तरले पराजय भोगेका छन् ।

यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् । खड्का निवर्तमान महामन्त्री हुन् । गुरुङ केन्द्रीय सदस्य थिए । खड्का देउवा प्यानलबाट जितेका हुन् । खड्का पटक-पटक मन्त्री भएका देउवाका निकट सहयोगी नेता हुन् । गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् ।

गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए । प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे । त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।

तीन क्लस्टरका सहमहामन्त्री नतिजा सार्वजनिक
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी-जनजाति, महिला र दलिततर्फ सहमहामन्त्रीमा क्रमश: भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार निर्वाचित भएका छन् ।

आङ्देम्बे र उपाध्याय सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् भने परियार सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् । अन्तिम मतपरिणाम अनुसार आदिवासी जनजातिमा आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन् । २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कोइराला समूहका लामाले १९१२ मत ल्याए ।

उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन् । यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मीनबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए ।

सहमहामन्त्रीमा कुल ४६७० मत खसेको थियो । त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन् । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो ।

बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *