कांग्रेस नेतृत्वलाई अब सही ठाउँमा उभ्याउँछौँ : महामन्त्री गगन

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा नवनिर्वाचित नेता गगन थापाले अब पार्टी व्यक्तिको अनुकूल नभएर विधानअनुसार चल्ने बताएका छन् । महामन्त्रीमा निर्वाचित भएलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग थापाले अब नयाँ टीमले कांग्रेसको नेतृत्व सही ठाउँमा उभ्याउने बताए ।

पार्टी नेतृत्वलाई तागत भर्ने, घच्घच्याउने र सहि ठाउँमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै महामन्त्री थापाले महाधिवेशनको तिक्ततालाई बिर्सने, पार्टीलाई एकताबद्ध बनाउन र मुख्य रुपमा कांग्रेस पार्टीमा नजोडिएकाहरूलाई पनि जोड्ने काम गर्नमा केन्द्रित हुने बताए ।

आफूले पाएको मतले अब आफूलाई एकै ठाउँ पनि चुक्ने, एकैछिन पनि थाक्ने र एकैपटक पनि बिग्रिने सुविधा नभएको भन्दै उनले अझै इमान्दारितापूर्वक काम गर्दै अहिले आफूलाई मत नदिएका १६ सय प्रतिनिधिले पनि राम्रो भन्नेगरिको काम गर्ने बताए ।

‘नढाँटी भन्दा हामी यसपटक पार्टीको मुख्य नेतृत्व बदल्न चाहन्थ्यौँ तर सकेनौँ । तर‚ महाधिवेशनले दिएको म्यान्डेटलाई लिएर अघि बढ्छौँ‚’ उनले भने‚ ‘सभापतिले अभिभावकत्व ग्रहण गर्ने र हामीले ल्याएको परिवर्तनको एजेन्डालाई सबै मिलेर अघि बढाउने हो । जुन एजेन्डाले कांग्रेस उभिने ठाउँ प्रष्ट हुन्छ । यसका साथै पार्टीलाई अब विधानसम्मत ढङ्गले चलाउनेछौँ ।’

अहिले व्यक्तिको वर्चश्व राख्नेगरी अघि बढ्ने प्रचलन पार्टीभित्र रहेको भन्दै थापाले अब त्यसलाई भत्काउने र अब व्यक्तिभन्दा विधिलाई मानेर अघि बढ्ने बताए ।

आफू कांग्रेसलाई देखिने, सुनिने, बुझिने र भरोसा गर्न लायक पार्टी बनाउनमा केन्द्रित हुने उनले बताए । थापाले थपे‚ ‘राजनीतिक दल भन्नासाथ‚ नेता भन्नासाथ भरोसा नभएको जुन अवस्था छ‚ त्यसलाई बदल्नुपर्नेछ । बदल्न सकिन्छ भन्ने विश्वास यो महाधिवेशनबाट आएको छ । अब एकैछिन पनि अलमल नगरी तपाईँहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछौँ भन्ने अवस्था आउन नदिई अघि बढ्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *