रक्षामन्त्रीबाट राजीनामा दिएपछि मीनेन्द्रले भने- सक्रिय राजनीतिमा नरहन पनि सक्छु

काठमाडौँ । रक्षामन्त्री मीनेन्द्रप्रसाद रिजालले अबकाे राजनीतिक यात्राबारे केही दिनपछि निर्णय गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म केही दिनपछि मेरो राजनीतिक यात्राबारे निर्णय लिनेछु । सक्रिय राजनीतिमा रहन पनि सक्छु, नरहन पनि सक्छु ।’

अबको तपाईंको राजनीतिक यात्रा कस्तो रहन्छ, पार्टीमा तपाईंको भूमिका के रहन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘एउटा साधारण सदस्यका रूपमा पार्टीले कस्तो खाले भूमिका दिन्छ त्यो गर्न तयार छु । म संसद् त छँदैछु, संसद्को कार्यकालभरी म सांसद भइहाल्छु । त्यसपछि थप सोच्नेछु । यसैगरी सम्मेलनमार्फत केही भनूँला । मेरो आशय तपाईंहरूले बुझ्नुभयो होला ।’

राजनीतिबाट बिदा नै लिने तपाईंको आशय हो ? भन्ने जिज्ञासामा उनको जबाफ थियो— ‘मैले बिदा नै लिने भनेर भनेको पनि होइन । तर, सोच्छु । राजनीतिमा नरहन पनि सक्छु ।’ महामन्त्री पदमा आफ्नाे पक्षमा आएकाे मत कांग्रेसभित्रकाे आफ्नाे आकर्षण र आवश्यकता भएकाे उल्लेख गर्दै उनले भने— ‘यसपछि साेचेँ, मैले यही पदमा रहिरहेँ भने बीपीकाे पार्टीजस्ताे हुँदैन । त्यसैले राजीनामा दिएँ ।’

रिजाल महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *