गच्छदारलाई रोकेर अघि बढेका धनराज !

काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङका लागि पार्टीको १४औं महाधिवेशन फलदायी रह्यो, उनी केन्द्रीय सदस्यबाट एकैचोटी उपसभापति बनेका छन् । डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका धनराजले १,९०८ मतसहित उपसभापतिमा बाजी मारे ।

धनराजले रोचक विजय हासिल गर्दैगर्दा उपसभापति तथा कांग्रेसभित्र निकै प्रभाव राख्ने पुरानामध्येकै एक नेता विजयकुमार गच्छदार भने पराजित भएका छन् । उनी धनराजसँग २ मतले मात्रै पछि परे । १,९०६ मत प्राप्त गरेका गच्छदार पुनःगणनाको मागसमेत गरेका छन् । पुन:मतगणना हाेला/नहाेला, त्याे अधिकार कांग्रेसकाे निर्वाचन समितिसँग होला । यद्यपि यसअघि प्रदेशकाे सन्दर्भमा भने गरिएको थिएन । प्रदेश १ काे सभापतिमा हारेपछि गुरुराज घिमिरेले पुन:मगतणनाकाे माग गरेका थिए । तर, मतगणना भएकाे थिएन ।

२ उपसभापतिका लागि ७ प्रतिस्पर्धी थिए । जसमा पूर्णबहादुर खड्का र धनराजले बाजी मारे ।अन्य उम्मेदवारमध्ये डा. चन्द्र भण्डारीले तेस्रो लोकप्रिय मत हासिल गरे । उनले १,५८० मत ल्याउँदा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराएकी सुजाता कोइरालाले ६४४ पाइन् । यस्तै स्वतन्त्र रूपमा उम्मेदवार बनेका महेश आचार्यले ५८९ ल्याए । अर्की उम्मेदवार दिव्यश्वरी शाहले १३२ ल्याइन् ।

हुन त धनराजको राजनीतिक संलग्नता र सक्रियता पनि लामै छ । उनले ०३६ सालको आन्दोलनमा सहभागी भएर विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा शुरू गरेका हुन् । ११औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बनेका धनराज नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, स्याङ्जा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै नेपाली कांग्रेसको उपसभापतिसम्म आइपुगेका हुन् ।

यता पराजित गच्छदारको राजनीतिक यात्रा अझ लामो छ । ०३६ सालबाट नेपाली कांग्रेसको राजनीति थालेका गच्छदार मधेसका प्रभावशाली नेता हुन् । त्यसबीचमा विजयकुमारले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसमेत गठन गरे र मधेस राजनीति गर्न थाले । उनी उपप्रधान मन्त्रीसमेत भइसकेका नेता हुन् । गच्छदार कांग्रेसभित्र मात्र नभइ नेपाली राजनीतिमै पनि बलियो उपस्थिति जनाएका पटकपटक मन्त्रीलगायत जिम्मेवारीमा पुगेका र विवादित पनि उत्तिकै भएका नेता हुन् ।

मधेसबाट सधैँ राजनीतिको शक्तिकेन्द्रमा बस्न सिपालु नेता गच्छदार एकसमय कांग्रेसबाट अलग भइ मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम हुँदै पुनः कांग्रेसकेन्द्रित भएका हुन् । कांग्रेसमा उपसभापति पदसहित फर्किएका उनी देउवानिकट रहे ।

१४ औँ महाधिवेशनमा उनी पराजित हुनु र धनराजले जित्नुलाई राजनीतिक पुस्तान्तरणको एक उदाहरणका रुपमा पनि हेर्न सकिने नेताहरु बताउँछन् ।

धनराज भने नेतृत्व हस्तान्तरणको बहस र युवाहरूको सक्रियताले आफ्नो जित भएको बताउँछन् । ‘पार्टी रुपान्तरण र पुस्तान्तरणसँगै नेतृत्व हस्तान्तरणका कारणले मेरो जति निश्चित नै थियो,’ धनराज भन्छन्, ‘अब कांग्रेस पार्टी कसरी बनाउने भन्नेबारे हामी काम गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *