धनराजले २ मतले गच्छदारलाई पराजित गरे

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार अबेर राति सकिएको मत गणना अनुसार सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार खड्का र शेखर कोइराला पक्षबाट उम्मेदवार गुरुङ विजयी भएका हुन् ।

खड्काले सबैभन्दा धेरै मत पाएका हुन् भने झिनो अन्तरले विजयकुमार गच्छदारलाई हराउँदै गुरुङ दोस्रो स्थानमा रहे । खड्का र गुरुङले क्रमशः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजयकुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे । यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरे ।

सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४,७४३ मतदातामध्ये चार ४,६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा गणना गरिने बताइएको छ । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *