महाधिवेशनमा नेताका चरित्र पहिचान भयाे : मीनेन्द्र

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी मीनेन्द्रप्रसाद रिजालले डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि कांग्रेस सुधारको नेतृत्व बनेको बताएका छन् । बुधबार महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मीनेन्द्रले यस्तो बताएका हुन् । ‘शेखर कोइराला सभापतिमा निर्वाचित हुनुभएको छैन । तर, उहाँ कांग्रेस सुधारको अभियानको नेतृत्व बन्नुभएको छ । उहाँलाई त्यो जिम्मेवारी तपाईंहरूले दिनुभएको छ,’ मीनेन्द्रले महाधिवेशन प्रतिनिधिहरूतर्फ संकेत गर्दै भनेका छन् ।

आफूहरूले संख्यामा भाग नखोज्ने तर, विचारकाे प्रतिनिधित्व हुनुपर्ने उनकाे भनाइ थियाे । ‘तर, विचारको प्रतिनिधित्व, विधिको प्रतिनिधित्व चाहिँ जरुर हुनुपर्छ,’ मीनेन्द्रले भनेका छन् । पुरानै शैलीले अब कांग्रेस नचल्ने उनको भनाइ थियाे । ‘त्यसका लागि सबैले कांग्रेसलाई सुधार्नुपर्छ,’ उनले भनेका छन् ।

जित र हार ठूलो कुरा नभएको उल्लेख गर्दै मीनेन्द्रले भने— ‘महत्त्वपूर्ण भनेको चाहिँ अब कांग्रेसको अनुहार कस्तो देखिने भन्ने हो । हामी सुधारिएको कांग्रेस चाहन्छौँ । त्यसमा हामी सदैव सभापतिजीलाई साथ दिन्छौँ । तर, विचारको प्रतिनिधित्व हुनुपर्छ ।’

यस्तै उनले महाधिवेशनमा सुन र पित्तल छुटिएको बताए । दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंहहरूलाई इङ्गित गर्दै मीनेन्द्रले भने— ‘भन्छन् नि धेरै तातोमा सुन र पित्तल छुटिन्छ । अप्ठ्यारोमा मान्छेको चरित्र बुझिन्छ । यो महाधिवेशनमा अरू के के भयो जान्दिनँ । तर, एउटा कुरा चाहिँ भयो, सुन र पित्तल छुटियो । चरित्र पहिचान भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *