शेखरलाई मत माग्दै गगनले भने- गल्ती क्षणभरकाे हुन्छ, पुस्तौंले पछुताउनुपर्छ

काठमाडाैँ । नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगनकुमार थापाले सभापति चयनकाे दाेस्राे चरणकाे निर्वाचनमा डा. शेखर काेइरालालाई मतदान गर्न आह्वान गरेका छन् । कांग्रेस प्रतिनिधिहरूकाे लागि याे समय दूरगामी महत्वकाे निर्णय गर्ने समय भएकाे उल्लेख गर्दै थापाले भनेका छन्—  ‘आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन, अझै लामो समय पछुताउनेपर्नेछ ।’
विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई शेखरकाे लागि मत मागेका थापाले अन्तरमनकाे बचन सुनेर मत हाल्न भनेकाे छन् । विगतमा बीपी कोइरालाले पनि अन्तरमनकाे बचन सुनेर सही निर्णय गर्दै अगाडि बढेकाे थापाकाे भनाइ छ । ‘गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन । आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनुपर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन ।’
प्रतिनिधिहरूकाे एक मत निर्णायक बन्नसक्ने थापाकाे भनाइ छ । ‘आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक मत भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान-विन्दु हुनेछ । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु,’ थापाले भनेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *