कांग्रेस महाधिवेशन: मतदान सम्पन्न, गणना केहीबेरमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर शुरु भएको मतदान राती साढे ११ बजे सकिएको निर्वाचन समितिले जनाएको छ । मुचुल्का तयार पार्नेलगायत काम शुरु गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि राती साढे ११ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रिय सभा गृहमा जम्मा १३९१ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभा गृह मा सभापतिको मतगणना गरिने छ ।
सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण सभापतिको गणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सभापति छान्न दोस्रो चरणको निर्वाचन हुनेछ । जसमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा निर्वाचन हुनेछ ।
पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।
सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ । सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।








