टिप्पणी

कांग्रेसमा आउला गगन-विश्वप्रकाश युग ?

काठमाडौं । बीपी कोइरालाले स्थापना गरेको नेपाली छात्र संघ झांगिएर बनेकाे नेपाली कांग्रेस अन्तत: सशक्त राजनीतिक दलकै रूपमा स्थापित बन्याे । कांग्रेस सशक्त बन्नु र स्थापित राजनीतिक दलकै रूपमा गनिनुकाे श्रेय भने नेताद्वय सुवर्णसमशेर र गणेशमानलाई पनि जान्छ । उनीहरूले बीपीले राेपेकाे कांग्रेसकाे विरुवालाई थप मलजल गरेर ठूलाे बनाए/बढाए ।

त्यसाे नेपाली कांग्रेसकाे राजनीतिमा गजबखाले जाेडी बन्दै आएकाे छ, रहँदै आएकाे छ स्थापना कालदेखि नै । प्रतिस्पर्धा हुन्थ्यो, तर स्वस्थ खालको । सभापति नबने पनि गणेशमान कांग्रेसको प्रमुख खम्बा बने । अन्तिममा पार्टी छोडेका उनलाई कांग्रेसले भने कहिलै छोडेन, छाेडेको छैन ।

पटक-पटक सभापति बनेका बीपी कहिले निर्विरोध भए त भने कहिले अत्यधिक मतले चुनाव जितेरै सभापति बने । बीपीकै समर्थनमा सुवर्ण एक कार्यकालका लागि सभापति निर्वाचित भए । बीपी, सुवर्ण र गणेशमान पछि कृष्णप्रसाद भट्टराई र गणेशमानको जोडी जम्यो । गिरिजा पार्टी सभापति बनेपछि भने गणेशमानले कांग्रेस परित्याग गरेर स्वतन्त्र बने ।

त्यसपछि कांग्रेस महाधिवेशनले कांग्रेसीहरूलाई जोड्न सकेको छैन । हरेक महाधिवेशनमा छुट्टाछुट्टै टीम बन्छ, अस्वस्थ प्रतिस्पर्धा हुन्छ र कार्यकालभरी पक्ष र प्रतिपक्ष रहिरहन्छ ।

अहिले पनि सभापति पदका लागि प्रतिस्पर्धा खासै स्वस्थ छैन । एकले अर्को समूहको कडा विरोध गरेका छन् । सभापतिमा संस्थापन पक्षको नेतृत्व शेरबहादुर देउवाले गर्दैछन् भने संस्थापनइतर (साबिक कोइराला) समूहको नेतृत्व गरिरहेका छन्, शेखर कोइरालाले । त्यसो त दुवै टीममा बागी उम्मेदवार पनि छन् ।

संस्थापनबाट विमलेन्द्र निधि र इतरबाट प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । कांग्रेस कार्यकर्ताहरूमा सभापतिभन्दा बढी चासो छ, महामन्त्रीमा । कांग्रेसको इतिहासमा पहिलो पटक महामन्त्रीले सभापतिका उम्मेदवारलाई छायामा पारेका हुन् । महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा र गगनकुमार थापा छुट्टाछुट्टै प्यानलमा छन् ।

झापाका विश्वप्रकाश ६ वर्षको हुँदा काठमाडाैँमा गगन जन्मिए । दुवै नेता विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०४० सालमा झापाको धुलाबारी माविमा नेविसंघ इकाई सभापति बने विश्वप्रकाश । २०४१ मा ९ कक्षा पढ्दै गर्दा उनी गिरफ्तारीमा परे, २०४७ मा नेविसंघ झापाको जिल्ला सभापति चुनिए । २०४८ मा नेविसंघ केन्द्रीय सदस्य बनेका उनी २०५३ मा महामन्त्री, २०५७ मा सभापति र सोही बेला कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

विश्वप्रकाश महामन्त्री बनेकै कार्यकालमा गगन थापा त्रिचन्द्र कलेजमा स्ववियू सभापतिमा निर्वाचित भए । ०५५ मा त्रिचन्द्रको सभापति हुँदा केन्द्रमा विश्वप्रकाश नै थिए । २०५७ सालमा जब विश्वप्रकाश सभापति भए, त्यही कार्यकाल गगन उपाध्यक्षमा निर्वाचित बनेका थिए ।

२०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे गगनले । सभापतिपछि आन्तरिक राजनीतिमै व्यस्त विश्वप्रकाश २०७२ को १३औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी २०७४ मा पार्टी प्रवक्ता र २०७६ मा सूचना, संचार तथा प्रचार विभाग प्रमुख बनेर कार्यकाल पूरा गरे ।

यता गगन भने २०६७ सालमै सर्वाधिक मत ल्याएर १२औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । २०७२ को १२औं महाधिवेशनमा गगनले महामन्त्रीमा उम्मेदवारी दिए, तर पराजित भए ।

यो महाधिवेशनमा दुवैजना एउटै पदका प्रतिस्पर्धी छन् । कार्यकर्तालाई खुसीकाे खबर, कांग्रेसले विधान संशोधन गरेर दुईवटा महामन्त्री निर्वाचित हुने व्यवस्था गर्‍याे । दुवै जनालाई महामन्त्रीमा जित्ने अवसर छ ।

उनीहरूका प्रतिस्पर्धी संस्थापन पक्षबाट विद्यार्थी राजनीतिबाटै उदाएका प्रदीप पौडेल र डा. प्रकाशशरण महत तथा संस्थापन इतरबाट डा. मीनेन्द्रप्रसाद रिजाल छन् । कांग्रेस राजनीतिमा गगनले विश्वप्रकाशलाई सधैँ दाइ मान्दै आएका छन् ।

त्यसाे त नेपाली कांग्रेसमा महामन्त्रीका उम्मेदवारद्वय गगन-विश्वप्रकाशकाे छुट्टै ‘क्रेज’ छँदैछ । खासगरी युवा वृत्तमा राम्राे प्रभाव छाडेका यी दुई नेताहरू जारी १४औं महाधिवेशनबाट पार्टीकाे कुन तप्का र कस्ताे भूमिकामा रहन्छन् भन्ने आमचासाे बढेकाे छ । पार्टीभित्रकाे गुट/उपगुटले प्रभाव नपारेकाे खण्डमा यिनीहरूकाे ‘विजय’ स्वाभाविक निश्चित भएकाे नेताहरू बताउँछन् । तर, पार्टीभित्र गुट उपगुटले प्रभाव पार्दैन भन्ठान्नु  जायज हुँदैन । कस्तो निर्णय गर्ने र कसकसलाई छान्ने भन्ने कुरा कांग्रेस महामन्त्रीका उम्मेदवारको हातमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *