अन्तर्वार्ता:

सभापतिमा जित्नेगरी तयारी गरेको छु : कल्याण गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार (भोलि) बाट शुरू हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा सभापति पदका आकांक्षीहरू आफूनिकटका नेताहरूसँग छलफलमा व्यस्त छन् । तर, महाधिवेशनमा सभापतिका उम्मेदवार को को हुने भन्नेबारे अन्योल कायमै छ ।

सभापतिमा दोहोरिने बताउँदै आएका प्रधान मन्त्रीसमेत रहेका बहालवाला सभापति शेरबहादुर देउवा आफ्नो ‘टीम’ मिलाउन व्यस्त छन् । उनलाई आफ्नै ‘टीम’ का उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । उनले दुई महिनाअगावै सम्पर्क कार्यालय खडा गरेर आफू ‘ब्याक’ नहुने सन्देश देउवालाई दिएका छन् ।

संस्थापनइतर पक्षले पनि साझा उम्मेदवार छान्न सकेको छैन । इतर पक्षमा सभापतिका आकांक्षी चार जनाबाट दुई जनामा झरेकाे बताइए पनि एक जना हुन सकिरहेको छैन । पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाबीच सभापतिको उम्मेदवार को बन्ने भन्नेबारे सहमति जुटिसकेको छैन । सिंहले कुनै पनि हालतमा पछाडि नहट्ने बताएका छन् भने कोइरालाले आफूले आफ्नो दाबी छोड्नुपरे सिंहले पनि छोड्नुपर्ने सर्त राखेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू त्याग गर्न तयार रहेको तर एकजना मात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

संस्थापन र इतर पक्षमा सभापतिलगायत पदाधिकारीको रस्साकस्सी चल्दै गर्दा युवा नेता कल्याण गुरुङ पनि सभापतिका लागि तयारी गरिरहेका छन् । उनले गत भदौ १६ गते सभापतिमा उम्मेदवारी दिने र बृहत् कांग्रेस सुधार र सुद्धीकरणको अभियानमा आफूलाई समाहित गर्ने घोषणा गरेका हुन् ।

उनै गुरुङसँग मकालुखबरले गरेको कुराकानीः—

महाधिवेशनको पूर्वसन्ध्यामा तपाईं गुमनामजस्तै हुनुहुन्छ, किन ?
म गुमनाम छैन । म बृहत् रूपमा महाधिवेशनमा सभापति पदमा उम्मेदवारीको तयारी गरिरहेको छु । विशेषगरी युवा साथीहरूले मलाई साथ दिइरहनुभएको छ । म उम्मेदवारी दिने तयारीमै छु, साथीहरूसँग छलफलमै छु । गुमनाम त छँदै छैन ।

कांग्रेसको संस्थापन र इतर पक्षको व्यापक चर्चा छ । महाधिवेशनमा आफ्नो ‘टीम’को उम्मेदवारलाई सभापति बनाउने भनेर होडबाजी चलेको छ, तपाईंको तयारी खासै देखिँदैन नि त ?
म चुपचाप रहेर हल्ला नगरेरै बृहत् तयारी गरिरहेको छु । सबै प्रतिनिधिहरूसँग मत मागिरहेको छु । उहाँहरूले मलाई साथ दिने भन्नुभएको छ, मत दिने भन्नुभएको छ । अहिले पनि नेताहरूसँग छलफलमै छु । अझ सशक्त रूपमा जाने भनेर रणनीति बनाउँदैछौँ । यही त हो तयारी । अरूले पनि त्यस्तो के नै गरेका छन् र ?

तपाईंको तयारी उम्मेदवार मात्र बन्ने हो कि सभापतिमा निर्वाचित नै हुने हो त ?
मैले भनेँ नि, मलाई सबै प्रतिनिधि साथीहरूले मत दिन्छौँ भनेर भन्नुभएको छ । सबै प्रतिनिधिले मत दिएपछि हार्ने कसरी हुन्छ, तपाईं नै भन्नुस् त । त्यसैले म दावाका साथ बोल्छु— म जित्छु ।

मतदाताले दिन्छु भन्नु एउटा कुरा रह्याे, तर तपाई‌ंलाई मत दिनुपर्ने कारण आधार चाहिँ के त ?
त्यही आधारकै लागि मैले परिवर्तन, न्याय र समानता भनेको छु । यसलाई सबै युवा साथीहरूले, प्रतिनिधि साथीहरूले अहिलेको ‘मूल अजेन्डा’ भनेर बुझ्नुभएको छ, भन्नुभएको छ । मैले भदौ १६ गते सभापति पदमा उम्मेदवारी दिने भन्दै गर्दा पनि धेरै कुराहरूबारे भनेको छु । यी यावत् विषयहरूले त्यो आधार तय भएको छ । यसमा म ढुक्क छु । सबैजनाले ‘तपाईं सभापतिको उम्मेदवार बन्नुपर्छ’ भनेर साथ दिनुभएको छ, आशा जगाउनुभएको छ । मलाई विश्वास छ । उहाँहरूले भनेबमोजिम नै गर्नुहुन्छ । उहाँहरूको प्रतिक्रिया त एकदमै राम्रो छ, तपाई अगाडि बढ्नुस् भन्नुहुन्छ ।

तपाईंकै टीमकाे साथीहरूले पछाडि हट्नुस् भनेर भन्नुभयो भने के गर्नुहुन्छ ?
भने पनि त्यसको औचित्य छैन । किनकि, म चुनावी मैदानमा होमिसकेको छु । म अब ‘ब्याक’ हुने अवस्थामा छैन । म बढिसकेँ, बढेपछि ‘ब्याक गियर’ लगाउँदिनँ, लगाउने बानी पनि छैन ।

तपाईंले जितेपछि के हुन्छ कांग्रेसमा ?
मैले उठाउँदै आएका कुराहरु नै कांग्रेसको परिवर्तन, रुपान्तरण, पुस्तान्तरण हुन् । यसको विस्तृत अवधारणामा मैले चर्चा पनि गरेको छु । थप गर्ने नै छु । तयारीका क्रममा देशैभरिका साथीहरुलाई भेटेर पनि मैले यसबारेमा बताएको छु । अझै पनि बताउने छु ।

भनेपछि मुख्य कुरा तपाईंले जित्ने कि नजित्ने भन्नेमा नै रह्यो होइन त ?
मैले अघि भनिनँ ? मैले धेरै प्रतिनिधि साथीहरूलाई भेटिसकेँ, उहाँहरूले ‘हाम्रो मत तपाईंलाई नै हो’ भनेर भन्नुभएको छ । मैले फेरि भन्छु— म जित्नेवाला छु ।

संस्थापन र इतर पक्षबीच यत्रो रस्साकस्सी छ । एकै पक्षबीचमा पनि कसलाई उम्मेदवार बनाउने भन्ने तनाव र दबाब छ । यो प्रतिस्पर्धामा तपाईं सभापतिको उम्मेदवारका लागि उम्मेदवारजस्तो मात्रै हुनुभयो भने नि ?
अहिल्यै यी विषयमा टिप्पणी गर्दिनँ । म मैले गर्छु, मैले गर्न सक्छु भनेर साहस गरेर अगाडि बढेको मान्छे हुँ । परिवर्तन, न्याय र समानताको पक्षमा हुनुहुने मतदाताहरूले मलाई अवश्य साथ दिनुहुनेछ ।

भर्खरै भएको प्रदेशको परिणामले त गुटलाई नै मलजल गरेको देखियाे यसरी हेर्दा त तपाईं उम्मेदवारका लागि उम्मेदवार भन्ने बताउँछ नि होइन र ?
त्यसै पनि होइन, प्रदेश र संघमा फरक छ नि । त्यहाँका सबै प्रतिनिधिहरू यहाँका मतदाता हुँदैनन् । प्रदेशमा एउटा उम्मेदवारलाई मत दिने मान्छेले संघमा त्यसैलाई नदिन सक्छ । प्रदेश र संघको चुनाव भनेको त धेरै फरक हुन्छ । फेरि मैले तयारी राम्रो गरेको छु । म जित्नकै लागि सभापतिको उम्मेदवार हुँ ।

भनेपछि १४औं महाधिवेशनपछि नेपाली कांग्रेसको सभापति तपाईं ?
जितेपछि त भइन्छ नै होइन र ? मैले जित्नेगरी तयारी गरेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *