कांग्रेसलाई गाउँसँग जोड्ने बोखिमको सपना

काठमाडौँ । लिलादेवी बोखिमले घरबाटै राजनीति सिकिन् । बुबा कालीबहादुर बोखिम प्रधानपञ्च थिए । बुबाले प्रधानपञ्च भएर २० वर्षसम्म काम गरे । बुबाको कार्यकाल लिलाका लागि पञ्चायत चिहाउने आँखिझ्याल बन्यो । जुन पञ्चायत हैकमवादी थियो, निरंकुश थियो अनि शक्तिशालीहरूको मनमौजी थियो । फरक विचार र सिद्धान्तलाई स्वीकार्ने/नस्वीकार्ने पञ्चायत लिलाको लागि पनि स्वीकार्य भएन ।

उनी राजनीतिमै लाग्न चाहिन् । तर बुबा सहमत भएको जस्तो फरक विचार र सिद्धान्तलाई अस्वीकार गर्ने होइन, सबैका मत सुन्ने, गुन्ने र उत्तमलाई चुन्ने सिद्धान्त उनलाई ठिक लाग्यो । उनी कांग्रेसमा आवद्ध भइन् । त्यो बेला बुबा प्रधानपञ्च नै थिए ।

देशको शासन व्यवस्था घरभित्रै देखेकी लिला ३८, ३९ सालतिरै कांग्रेसमा आवद्ध भए पनि सानै उमेरका कारण धेरै सक्रिय भने थिइनन् । पञ्चायतकाल भएकैले पनि केही असहजताहरू थिए ।

तैपनि उनले पञ्चायती व्यवस्थाविरुद्ध सकेसम्म लागिन् । प्रजातन्त्रको पुनःस्थापना पछि भने लिलाको सक्रियता पनि बढेर गयो । त्यसपछि उनले आफ्नो गाउँ ताप्लेजुङको कुञ्जारीबाट सदरमुकाम आइन् र राजनीति थालिन् ।

No photo description available.

सदरमुकाममा धेरै मान्छेहरू प्रसाशन वा प्रहरी कार्यलयको काम लिएर आउँथे । ‘कोही छोरी भन्दै आउथे, कोही दिदी बहिनी भन्दै‚’ उनले भनिन्‚ ‘राजनीति भनेको त समाज सेवा पनि हो भन्ने बुझेकी थिएँ । म सबैको काममा सहजीकरण गरिदिन्थे ।’

उनी ताप्लेजुङ सदरमुकाम फुङलिङ्गमै नियमित बस्न थालिन् । त्यही क्रममा उनले गैह्रसरकारी संस्था ‘महिला उद्यमी संघ’स्थापना गरिन् । महिलाको सीप र क्षमता बढाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलेको यो संस्था मार्फत उनी ताप्लेजुङका विभिन्न ठाउँमा पुगिन् । ती यात्रामा उनले महिलाका दुःख देखिन्, समस्याहरू सुनिन् अनि पीडाहरू अनुभव गरिन् । ती दुःख, पीडा र समस्याले उनलाई बेस्सरी छोएन मात्र, सँगसँगै अठोट पनि गरायो । ‘महिलाले अब यस्तो दुःख सहेर बस्नु हुँदैन र त्यसका लागि म अगुवा बन्छु‚’ भन्ने अठोट लिएर अघि बढेको उनी बताउँछिन् ।

त्यहि अठोटका साथ अघि बढ्ने क्रममा लिलाले नेपाली कांग्रेसको राजनीतिमा झण्डै चालिस वर्ष बिताएकी छन् । जिल्ला सभापतिका रुपमा खासै महिलाहरूले आँटै नगर्दा वा गर्दा पनि बन्न नसकिरहेका बेला उनी ताप्लेजुङको जिल्ला सभापति बनिन् । अहिले कांग्रेसको १४औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गर्ने तयारीमा छिन् ।

‘मेरो उम्मेदवारी व्यक्तिगत आत्मविश्वास र सम्पूर्ण महिलालाई प्रेरणा दिन पनि हो ।’ लिला भन्छिन्‚ ‘किनभने नेतृत्व विकास गर्नुपर्नेछ । नेतृत्व विकास निरन्तर लडेर गर्नुपर्छ । जित-हारको नाफाघाटामा अल्झिएर मात्र हुँदैन ।’

लिलाको बुझाइमा मान्छेले कोसिस गर्न छाड्नु हुँदैन । जित-हारको हिसाबमात्र पनि होइन । लिलाको जीवनमा पनि जित र हारका, सफलता र असफलताका प्रशस्तै कथाहरू छन् । ‘प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । त्यहि प्रतिस्पर्धाबाटै १३औँ महाधिवेशनमा ताप्लेजुङको कांग्रेस जिल्ला सभापतिमा विजयी भएँ, त्योभन्दा पहिले म महिला संघको केन्द्रीय सदस्य भएकी थिएँ । अबको लक्ष्य पार्टीको केन्द्रीय सदस्य हो‚’ उनले सुनाइन् ।

संविधान सभाको दोस्रो निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेकी उनी १३९ मतले पराजित भइन् ।

No photo description available.

यो हारले उनलाई निराश बनाएन । २०७४ सालको निर्वाचनमा पार्टीले लिलालाई प्रदेशको टिकट दियो । धेरै शुभेच्छुक र आफन्तले चुनाव नलड्नू भन्ने सल्लाह दिए । कारण– त्यो चुनावमा देशको दोस्रो र तेस्रो दल क्रमशः माओवादी र एमाले एक भएर चुनाव लड्दै थिए । माहौल कम्युनिस्टमय थियो । तर उनले खुट्टा कमाइनन् । यस्तो बेला आफूलाई कांग्रेसको सिद्धान्तले बढी झक्झक्याएको लिला बताउँछिन् ।

‘कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो‚’ उनले भनिन्‚ ‘म त्यहि लोकतान्त्रिक मूल्य/मान्यतामा विश्वास गर्ने मान्छे । कम्युनिस्टको माहौल छ भनेर प्रतिस्पर्धाबाटै भाग्नु मैले बुझेको‚ पढेको र अपनाएको राजनीतिभन्दा फरक हुने थियो, र म सिद्धान्तबाट भाग्न राजनीतिमा लागेकी थिइनँ‚’ उनी प्रतिबद्ध सुनिइन् ।

केन्द्रीय सदस्यमा उम्मेदवार बन्दै गर्दा कांग्रेसमा बसेर कांग्रेसकै लागि लिलाका केही सपनाहरू छन् । यस्तोबेला उनलाई विपीको सिद्धान्त र विवेक दुवैले घच्घच्याइरहन्छ । १५ सालको निर्वाचनमा निर्वाचित एक मात्र महिला सांसद द्वारिकादेवी ठाकुरानीलाई विपीले राज्यमन्त्री बनाएका थिए । बैतडीबाट निर्वाचित द्वारिकादेवीलाई मन्त्री बनाउनुको उद्देश्य राजनीतिमा महिलाको आत्मविश्वास बढाउनु थियो ।

‘म निरन्तर प्रतिस्पर्धामा छु, मेरो प्रतिस्पर्धाले धेरै महिलालाई संघर्ष गर्न ऊर्जा दिनेछ भन्ने विश्वास छ‚’ लिलाले भनिन् ।

No photo description available.

विपी किसानका कुरा गर्थे । उनी माटोका कुरा गर्थे । गरिबी उन्मूलन र विकासका कुरा गर्थे । लिलाले गरिबीसँग साक्षात्कार गरेकी छन् । किसानका दुःख र समस्या बुझेकी छन् । गाउँका दुःख र अवसर दुवैलाई उनले नजिकैबाट नियालेकी छन् ।

यी दुःख र समस्या सुनेर वा बुझेरमात्र हुँदैन भन्ने लाग्छ लिलालाई । भन्छिन्‚ ‘गरिबी अन्त्य, गाउँको विकास, महिलाको सहभागिता र क्षमता विस्तारजस्ता कुरा नीति निर्माणको तहबाट मात्र गर्न सकिन्छ । म चार दशकको मेरो अनुभव र बुझाईलाई बीपीले भन्नुभएजस्तै गाउँ पुग्ने कांग्रेस‚ गाउँ सम्झने कांग्रेस र गाउँ बुझ्ने कांग्रेस बनाउन चाहन्छु । त्यसका लागि योगदान दिन चाहन्छु । म कांग्रेसको केन्द्र र गाउँ जोड्ने सेतु हुन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *