कांग्रेस महाधिवेशन : दोहोरिएलान् देउवा ?

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न १४ औं महाधिवेशन गर्दैछ । महाधिवेशनकेन्द्रित भइसकेको कांग्रेसका नेताहरू सुषुप्त रूपमा आफ्नो समूह दरिलो बनाउन लागिपरेका छन् ।

महाधिवेशन शुरू हुन ४ दिन मात्रै बाँकी छँदा पनि सभापतिका दाबेदार नेताहरू आफ्नो उम्मेदवारीबारे ढुक्क छैनन् । १३औं महाधिवेशनको क्रममा बनेका गुटहरू तछाछुल्ल छन्, यसले पनि उनीहरूलाई थप अप्ठ्यारोमा पारेको छ । पार्टीभित्र गुटसँगै उपगुटसमेत बन्न शुरू गरेका छन् । प्रदेश अधिवेशनको नतिजाले पनि नेताहरूलाई धेरथोर शिक्षा पक्कै दिएको छ ।

त्यसो त कांग्रेसको एक सभापतिका लागि धेरै नेता आकांक्षी छन् । सभापतिमा प्रधान मन्त्रीसमेत रहेका बहालवाला सभापति शेरबहादुर देउवाले दोहोरिने उद्घोष गरिसकेका छन् । नेता शेखर कोइरालाले त आफू एकपटकका लागि मात्र सभापति बन्ने र सभापति चुनिए प्रधान मन्त्री नबन्ने, टिममा युवालाई समेटेर अघि बढ्ने प्रतिबद्धतासहित सभापतिको दाबेदारी गरिरहेका छन् ।

लामो समय देउवाकै पक्षमा रहेका उपसभापति निधि फेरि पनि देउवा नै दोहोरिने मनसाय व्यक्त गरेपछि अब आफू नै उम्मेदवार बन्ने घोषणा गरेका छन् । निधिले दुई महिनाअगाडि नै उम्मेदवारी घोषणा र सम्पर्क कार्यालय खोलेर आफू ‘ब्याक’ नहुने संकेत दिइसकेका छन् । महामन्त्री शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको दाबेदारीमा अघि बढिसकेका छन् । उनीहरूले अब कांग्रेसको नेतृत्व पुस्तान्तरण हुनुपर्ने बताउँदै आएका छन् । देउवाइतर समूहका अहिलेसम्मका साझा नेता रामचन्द्र पौडेल पनि आफू एकपटकका लागि सभापति बन्ने बताइरहेका छन् ।

यस्तै तेस्रो धार चलाइरहेका नेता कृष्ण सिटौलाले औपचारिक रुपमा बोलिसकेका छैनन भने नेतृ सुजाता कोइराला र नेता कल्याण गुरुङले पनि सभापतिको आकांक्षा व्यक्त गरेका छन् ।

यसपछि महाधिवेशन नजिकिएसँगै अबको कांग्रेस नेतृत्व को भन्ने कुतुहल स्वाभाविक रूपमा बढ्न थालेको छ । त्यसो त फरक समूहका नेताहरूको भिन्नभिन्नै दाबी भएपनि बढी सम्भावना देउवाकै रहेको संस्थापन पक्षका नेताहरू औंल्याउँछन् । ‘अहिलेको कांग्रेसभित्रको राजनीतिक अवस्था र शक्ति सन्तुलनलाई हेर्दा उहाँ (देउवा) नै पुनः एक कार्यकालका सभापति बन्नुहुन्छ,’ देउवानिकट नेता मीन विश्वकर्मा भन्छन्, ‘यो त स्योरसट नै हो ।’

कृष्णप्रसाद सिटौला पक्षको मद्दत मिलेपछि १३औं महाधिवेशनबाट ५८ प्रतिशत मतका साथ सभापति बनेका देउवा पुनः सोही इतिहास दोहोर्‍याउने दाउमा छन् ।  त्यसका लागि तयारीसमेत तीव्र भइरहेको उनीपक्षका नेताहरू बताउँछन् ।

आफ्नो पकड भएको क्षेत्रमा चुपचाप महाधिवेशनकेन्द्रित रणनीति बनाउँदै गरेको संस्थापन पक्षले आफू कमजोर रहेको क्षेत्रमा अन्य गुटसँग ‘सहमति’ गरेर जित्ने नीति लिएको छ । यसका लागि देउवा निरन्तर संवाद तथा छलफलमा रहेको नेता विश्वकर्मा बताउँछन् । ‘सिटौला दाइसँग त एकखाले सहमतिसमेत बनिसक्यो,’ उनले दाबी गरे ।

जसै देउवाले खासगरी पछिल्लो ५/७ वर्षयता आफ्नो शक्ति निरन्तर बढाउँदै आएका छन् । ५ वर्षभित्र दुईपटक देशको प्रधान मन्त्री बन्ने दुर्लभ मौका पाएका देउवा यसपछि झनै शक्तिशाली बनेको उनी पक्षको दाबी छ । १३औं महाधिवेशनमा भन्दा पनि अहिले देउवा बलियो भएको दाबी पुष्टि गर्ने केही आधारहरू पनि छन् । जस्तो कि ६१ जिल्लाको नेतृत्वमध्ये ३२ जिल्लाका सभापति देउवा पक्षकै छन्, अधिवेशन भएका ६ मध्ये ४ प्रदेश जितेको छ ।

‘जिल्ला, प्रदेशकै नतिजा न केन्द्रमा देखिने’ देउवा पक्षको दाबी छ । तर त्यो कुरा मान्न संस्थापनइतर पक्ष भने तयार छैन । ‘प्रदेश अधिवेशनका सबै प्रतिनिधि केन्द्रमा आउने पनि होइनन् अर्को कुरा प्रदेशमा नयाँ नेतृत्व चयन भइरहेको हो भने केन्द्रमा अहिलेको नेतृत्वको विस्थापन गर्नुपर्छ भन्ने मनोविज्ञान पनि छ । त्यसैले जिल्ला र प्रदेशकै आधारमा केन्द्रमा पनि नतिजा आउँछ भन्ठान्नु गलत हो, संस्थापनइतर पक्षका नेता बद्री पाण्डे भन्छन् ।

प्रदेशको नतिजाले देउवा पक्ष उत्साही

प्रदेशमा पनि संस्थापन पक्षले बहुमत ल्याएको छ । प्रदेश २ बाहेक अधिवेशन भएका ६ मध्ये ३ प्रदेशमा देउवा पक्षले जितेको छ भने एक प्रदेशमा सिटौला पक्षलाई सघाएर देउवाले महाविधेशनमा सिटौलासँगको एकता लगभग तय गरेका छन् ।

प्रदेश नं. १ मा सभापतिमा उद्धव थापा निर्वाचित भएका छन्, उनी देउवा र कृष्णप्रसाद सिटौलानिकट नेता हुन् । थापाले गुरुराज घिमिरेलाई पराजित गरेका हुन् । १३औं महाधिवेशनमा एउटै कित्तामा उभिएका देउवा–सिटौला पुनः उही ‘पोजिसन’मा आउने तरखरमा छन् । त्यसका लागि देउवा–सिटौलाबीच छलफल तथा संवाद भइरहेको छ । प्रदेशमा त उनीहरुले मोर्चाबन्दी नै गरेका पनि छन् ।

बागमती प्रदेशमा पनि संस्थापन पक्षकै इन्द्रबहादुर बानियाँ सभापति बनेका छन् । जहाँ दोस्रो चरणमा सिटौला पक्षले उनलाई सघाएको थियो ।

कर्णाली प्रदेशमा सभापतिका रूपमा संस्थापन पक्षकै ललितजंग शाही विजयी भएका छन् । संस्थापनइतर पक्षका प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछाडि पार्दै ललितजंग सभापति बनेका हुन् । यसपछि कर्णाली देउवाअनुकूल बनेको छ ।

सुदूरपश्चिम प्रदेशमा त यसैपनि देउवाको बर्चश्व नै छ । जहाँ वीरबहादुर बलायर प्रतिस्पर्धी नारायणदत्त मिश्रलाई ४०८ मतान्तरले पराजित गर्दै सभापति बनेका हुन् ।
लुम्बिनी प्रदेश र गण्डकी प्रदेश भने संस्थापनइतर पक्षको पोल्टोमा परेको छ । लुम्बिनी र गण्डकीमा क्रमशः अमरसिंह पुन र शुक्रराज शर्मा सभापतिमा विजयी बनेका छन् ।

प्रदेश नं. २ मा महाधिवेशन हुन सकेको छैन । क्षेत्रीय प्रतिनिधि चयनका विषयमा विवाद हुँदा प्रदेशमा अधिवेशन हुन नसकेको हो । यद्यपि त्यहाँ पनि संस्थापन पक्षकै दबादबा रहेको थियो । प्रदेश नं. २ केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका उपसभापति निधिको गृहप्रदेश हो । यो प्रदेशमा निधिको प्रभाव कस्तो रहने हो भन्ने भनिहाल्न कठिन छ । गृह प्रदेश भएकाले स्वभाविक रुपमा उनी ‘केही’ बलियो त हुनेछन् नै तर कति बलियो भन्ने आँकलन गर्न अधिवेशन नै पर्खनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *