कांग्रेस सुदूरपश्चिम अधिवेशन : १००३ मत खस्यो, राति ९ बजेदेखि गणना हुने

धनगढी ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ । जम्मा १०२६ मतदातामध्ये १००३ मत खसेको कांग्रेसका प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए । उनकाअनुसार अब राति ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा मत गणना सुरु हुनेछ । अधिवेशनमा ८ पदाधिकारीका लागि १९ जना र ५१ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी र ५१ प्रदेश सदस्यसहित ५९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । त्यसमध्ये तीन जना निर्विरोध चयन भइसकेका छन् । अब भने ५६ जना निर्वाचनमार्फत निर्वाचित हुनेछन् ।

कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *