कांग्रेस गण्डकीमा ट्वीस्ट : संस्थापनमा बागी पर्ने संकेत, पौडेल पक्षमा एक्लाे उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको १४ औैँ महाधिवेशन अन्तर्गत गण्डकीको नेतृत्वमा हालसम्म संस्थापन पक्षबाट अर्जुन जोशी मात्रै उम्मेदवार थिए । उनले आफू एक्लो उम्मेदवार भएको सन्देशसहित उम्मेदवारी घोषणा गरेर चुनाव प्रचार थाले । संस्थापन इतरमा ५ आकाङ्क्षी थिए । कास्कीका देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, तनहुँका रघुनाथ वाग्ले र नवलपुरमा महेन्द्रध्वज जिसी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् ।

धेरै आकाङ्क्षी भएपछि पौडेलसहित महामन्त्री डा. शशांक कोइराला मिलाउन पोखरा आएका छन् । उनीहरू निरन्तर छलफल र बैठक बसेपछि साझा उम्मेदवारको करिब सहमतिमा पुगेको बताइएको छ । स्रोतका अनुसार शुक्रराज शर्मा र देवराज मध्ये एकलाई टिकट दिन लागिएको छ । चालिसेले टिकट पाए उपसभापतिमा हरिकृष्ण श्रेष्ठ र किरणबाबु श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सह महामन्त्रीमा सरिता गुरुङ र कल्पना तिवारीको नाम सुनिन्छ ।

शुक्रराज सभापतिको टिकट पाउने अवस्था आए महामन्त्रीमा कृष्ण केसीको सट्टा अर्कै उम्मेदवार हुने देखिन्छ । तथापि उम्मेदवारी टुङ्गिएको छैन । आजै साँझ ४ बजेट पत्रकार सम्मेलन गरेर संयुक्त टिम घोषणा गर्ने पौडेल पक्षका एक नेताले बताए ।

उता संस्थापन पक्षमा भने नयाँ ट्वीस्ट आएको छ । एक्ला उम्मेदवार जोशीलाई अन्तिम समयमा बागलुङका मणिभद्र शर्माले चुनौति दिएका छन् । स्रोतका अनुसार उनलाई वरिष्ठ नेता कृष्ण सिटौला पक्षले उचालेको छ । बागलुङको सभापतिमा सिटौला टिमका जीत शेरचनले चुनाव जितेका छन् । अहिले शेरचनले नै शर्मालाई उक्साएको बुझिएको छ ।

संस्थापन पक्षबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सह महामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमलाई उम्मेदवार बनाउन लागिएको छ । अन्य सदस्यहरूको भने नाम बाहिरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *