यी हुन् कांग्रेसको प्रदेश १ मा सभापतिका आकांक्षी

विराटनगर । प्रदेश १ मा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ। आज (बिहीबार) विराटनगरमा एक कार्यक्रमका बीच प्रदेश अधिवेशनको सुरुवात भएपछि नेतृत्व चयनका लागि चुनावी कार्यक्रमको कार्य तालिका सार्वजनिक भइसकेको छ ।

१४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ मा पहिलो पटक नेतृत्वमा आउनको लागि विभिन्न समूहहरूले आफ्नो पकड देखाउन खोजेका छन्  ।  प्रदेश १ मा १४ जिल्लामध्ये सात वटा जिल्लामा संस्थापन पक्षले नेतृत्व जितेको छ । संस्थापन इतर पक्षले ६ जिल्ला र सिटौला पक्षले झापामा मात्र जिल्लाको नेतृत्वमा आएका आएका छन् ।

नेतृत्वका लागि प्रदेश १ मा संस्थापति शेरबहादुर देउवा, संस्थापन इतरको शेखर कोइराला–रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहका छुट्टा छुट्टै उम्मेदवार चुनावी मैदानमा होमिने तयारीमा छन् । यी सबै  समूहहरूले छलफललाई तीव्रता दिएको छन् ।

प्रदेश १ को सभापतिको लागि दाबी गर्दै आएका मध्ये संस्थापन पक्षका मोरङका अमृत अर्याल र ओखलढुङ्गाका रामहरि खतिवडा सभापतिको लाइनमा देखिएका छन्  । संस्थापन इतरबाट मोरङका गुरुराज घिमिरे र सुनसरीका राजीव कोइरालाले सभापतिमा दाबी गर्दै आएका छन् ।

सिटौला पक्षबाट झापाका उद्धव थापाले सभापतिको लागि दाबी प्रस्तुत गर्दै आएका छन् । पार्टी केन्द्रीय सदस्य रहेका घिमिरेलाई केन्द्रमा उठ्न दबाब परेको छ भने प्रदेशकै संसदीय दलका नेता भएको कारण कोइरालालाई प्रदेश सभापति  बनाउनु पर्छ भन्ने बारेमा पनि नेताहरूका बीचमा छलफल भएको कांग्रेस नेताहरूले बताएका छन् ।

संस्थापन इतरबाट प्रदेश १ को प्रदेश समितिका उम्मेदवार तय गर्न केन्द्रीय सदस्यहरू बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाईँ र गुरुराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

प्रदेश सभापति बाहेक अन्य पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । प्रदेश उपसभापतिमा मोरङका विश्वनाथ रिजाल, महामन्त्रीमा मोरङकै जनार्दन निरौला, सुयर्माराज राई, तेह्रथुमका गोविन्द ढुङ्गाना र सह महामन्त्रीमा मोरङका खड्ग फागोले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रदेश समिति निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सह महामन्त्री पदाधिकारीमा चयन हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *