कांग्रेस प्रदेश १ अधिवेशन भोलिदेखि

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक अधिवेशनसम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो ।

विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशन उद्घाटन हुने प्रचार समितिका संयोजक राजिव कोइरालाले जानकारी दिए । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा सुरु गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उमेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताए ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्नेछन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउनेछन् ।

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह-महामन्त्री (एक महिलासहित), हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।

बुधबार बसेको अधिवेशन आयोजक समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद, महानगर, नगरपालिका-गाउँपालिकाका मेयर/अध्यक्षहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *