कांग्रेसको केन्द्रीय सदस्यमा राणाको उम्मेदवारी घोषणा

ललितपुर। नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी  दिने घोषणा गरेका छन् । ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन गरेर  राणाले १४औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पूर्वराज्यमन्त्रीसमेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । उनी १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । खुलातर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २६ औँ भएका थिए ।

राणाले महाधिवेशनभन्दा २ वर्षअघि नै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउने विषयलाई मुद्दाका रुपमा अघि बढाउने बताए । महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र वितरण गर्दा पार्टीमा विवाद बढ्ने भएका कारण यो विषयलाई मुद्दाका रुपमा अघि लैजाने उनको भनाइ छ ।

राणाले ७/७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि बताए । ‘७/७ तहको चिनाव गर्दा पार्टीमा विग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरूमा पद घटाएर कसरी हुन्छ विग्रह म्यानेज गर्ने इस्यूमा योगदान पुर्‍याउँछु,’ उनले भने ।

अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएपछि आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *