शान्ति ठटालको स्वरगाथा

घरका मान्छेले पनि यसलाई पढाइमा रुचि छैन; पठाइदिऊँ कोलकत्ता भने । कला मन्दिरमा एक जना अग्रज हुनहुन्थ्यो‚ सरोदवादक घोष बाबू (मानु घोष), उहाँले नै सबै खोजीनीति गरेर फर्म भरिदिनुभयो । परीक्षाका निम्ति मलाई कोलकत्ता पुर्‍याउन मसँग आमा जानुभयो ।

आमा पढेलेखेको हुनुहुन्नथियो तर संगीत बुझ्नुहुन्थ्यो । आमा र म गएर विश्व संगीत भारतीमा संगीतको परीक्षा दियौँ । मैले त्यहाँ मीराको एउटा भजन ‘मेरे तो गिरधर गोपाल’ गाएँ । त्यहाँ घाघडान घाघडान जजहरु बसेका थिए, ठूल्ठूला बाजाहरू थिए ।

मैले गाउँदै गर्दा बाहिर आमालाई अरु कसैले भनेछन्, ‘कस्तो राम्रो स्वर रहेछ यो केटीको ?
किन यहाँ ल्याएको ? यहाँ त सिक्दा सिक्दा स्वर बिग्रिन्छ ।’

स्वर परीक्षा दिएर आएपछि आमाले यो कुरा मलाई भन्नुभयो । मैले सुने नसुनेगरी हिडेँ किनभने मलाई त्यहाँ सिक्नु थियो । कलकत्तामा मलाई सबै किसिमको सहयोग मिल्यो‚ नरबहादुर गुरुङबाट । उनी राजभवन छेवैमा बस्थे । कांग्रेसका डेपुटी मिनिस्टर थिए उनी । आमा मलाई छाडेर आउनुपर्दा अप्ठेरो मान्दै हुनुहन्थ्यो तर म मान्नेवाला थिइनँ । सानै थिएँ भन्दा पनि आठौँ श्रेणीमा त पढ्दै थिएँ । उमेर कति थियो होला मेरो… ?

सबैले एकै स्वरमा चौधपन्ध्र भने ।

होइन‚ होइन । पढाइमा लद्दू थिएँ, साह्रै कमजोर भएर पढाइमा ढिलो भएको थिएँ नि म । सत्र र सोह्रको बीचमा थिएँ ।

फ्ल्यासब्याकमा यो कथा सुनाइरहँदा संगीतकार शान्ति ठटाल पोखराको भर्खर नामाकरण गरिएको एउटा नयाँ होटलको बेसमेन्टमा थिइन्, चलचित्रकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुंगेल अनि पत्रकार टंक ढकालका साथमा ।

दक्षिण एसियाको गायिकाहरूको पहिलो संस्था हार्मोनी : द मोडर्न संग्स्ट्रेस अफ पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवमा गर्न लागेको पहिलो सम्मान कार्यक्रमका लागि दोस्रो पटक पोखरा आएकी थिइन्, शान्ति ठटाल आफ्ना सहयोगी शर्मीलाका साथमा ।
विसं २०७५ मा यो कथा वृत्तान्त सुनाइरहँदा ठटाल विसं २०१२ को आफ्नो श्यामश्वेत अतीतमा हराइरहेकी थिइन्; कहिँ रंग भएको त कहिँ रंग नभएको पर्दामा ।

टर्निङ प्वाइन्ट १ : कोलकत्ता इन्फ्लुएन्स
दार्जिलिङमा त्यतिबेला राजनीतिक पार्टी कम‚ सांगीतिक समूह बढी थिए तर सबैको एउटै उद्देश्य थियो- संगीतका माध्यमबाट गीतलाई अझै माथि उचाल्ने ।

गीतमा त्यतिबेला नयाँ नयाँ प्रयोग भइरहेका थिए ।

ठटालले सम्झिएअनुसार त्यसबखत उर्मिलाकुमारी श्रेष्ठको सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ … गीतले आधुनिकताको झलक दिइसकेको थियो । त्यसभन्दा पहिला गीतमा शब्द वा रचनाको शक्ति कमजोर थियो ।

उर्मिलाकुमारीले नवीन बर्देवाको शब्दमा आफ्नै मामा गोपाल श्रेष्ठको संगीतमा गाएको गीतले दार्जिलिंग र त्यस वरपरका नेपालीलाई सम्मोहित बनाइसकेको थियो ।

दार्जिलिंगको संगीतमा त्यतिबेला शिवकुमार सिंह, हिराकुमार रसाइली, कपिलराज सुब्बा, एचमान गुरुङ, नवीन बर्देवा, मानध्वज गुरुङ, दलसिंह गहतराजले बनाइरहको बाटोमा संगीतले मौलिकता खोजिरहेको थियो ।

शान्ति ठटाल त्यतिबेला दार्जिलिङको कला मन्दिरमा ब्याक अप सिंगरमा कार्यरत थिइन् । कलामन्दिरमा उनी जानुका पछाडि एउटा सानो कथा थियो‚ जुन कथा उनी बारम्बार आफ्नो अन्तर्वार्ता वा अन्य प्रसंगमा सुनाइरहन मन पराउँथिन् ।

दार्जिलिङको चोकबजारमा गएर रेकर्ड दोकान बाहिर उभिएर हिन्दी गीत सुन्ने बानी बसिसकेको ठटाललाई लता मंगेशकरका सबै गीत प्रायः कण्ठस्थ थिएछन् ।

एकदिन उनले सरस्वति पूजाको कार्यक्रममा हिन्दी फिल्मको कुनै गीत गाइछन् । गीतभन्दा उनको गायकीको प्रभावले उनलाई कला मन्दिर पुर्‍याएछन् केही स्वजनले । र, यसरी सुरु भयो कला मन्दिरबाट ब्याक अप सिंगरको रुपमा उनको क्यारिअर ।

कला मन्दिरको नाटक रुपरेखामा पार्श्व गायिकाको रुपमा आफ्नो गायन यात्रा सुरु गर्दा शान्ति ठटालले संगीतमा अझै आफूले सिक्नुपर्छ भन्ने महसुस गरिछन् । शान्ति ठटाललाई त्यसपछि विश्वकवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापित विश्व संगीत भारतीमा सिक्ने वा पढ्ने इच्छा जाहेर गरेर घोष बाबूले प्रोसेस अघि बढाइदिए ।
विश्व संगीत भारतीमा स्वर परीक्षा दिन जाँदा शान्तिलाई निर्णायक मण्डलीले कुनै शास्त्रीय गीतको मुखडा आउँछ भनेर सोधेछन् । मुखडा भन्ने शब्द उनले पहिलो पटक दार्जिलिङमा शास्त्रीय गायक करमोतल्लाह खाँबाट सिकेकी थिइन् । दार्जिलिङमा पहिलो पटक आएका करमोतल्लाह खाँले उनको गलाको खण्ड देखेर आफूसँग आएकी गायिका उमा डेलाई भनेछन्, ‘यो केटीको कण्ठ एकदम राम्रो छ, यसलाई कुनै शास्त्रीय गीतको मुखडा सिकाइदिइराख ।’

त्यो सिकाइ पछि विश्व संगीत भारतीमा काम आएछ, शान्ति ठटाललाई ।
उमा डेले सिकाइछाडेको मीराको भजनको मुखडा ‘मेरे तो गिरीधर गोपाल’ गाएर उनी स्वर परीक्षामा उत्तीर्ण भएकी थिइन् ।

यो कथा कुनै नौलो होइन, शान्तिले आफ्नो सांगीतिक यात्रा नै अरुको गीत गाएर सुरु गरेकी थिइन्‚ जसरी प्रायः नेपाली कलाकारले यसरी नै सुरु गरेको हुन्छ ।

लता मंगेसकरको गीत खर्लप्पै खाएकी ठटालले कला मन्दिरपछि विश्व संगीत भारतीमा अध्ययन गर्न पाएपछि उनी फर्केर आउँदा दार्जिलिङमा अम्बर गुरुङको आर्ट एकेडेमीले आकार ग्रहण गरिसकेको थियो ।

उनले सम्झिँदा दार्जिलिङमा त्यतिबेला कला मन्दिरको जस्तो अरु सांगीतिक समूहको महत्व थिएन‚ तर अम्बर गुरुङको आगमनपछि अर्को एउटा नयाँ इतिहास बन्न सुरु भएको उनी स्वीकार्छिन् ।

नौलाख तारा गीत रेकर्ड गरेर अम्बर आइकन भइसकेका थिए ।

आर्ट एकेडेमी खोलेर उनी गाउँ गाउँ, बस्ति बस्ति कार्यक्रम गर्दै हिँड्थे । यसै सिलसिलामा शान्तिको अम्बरसित भेट भयो, आफ्ना दाजु पर्ने इन्द्र थपलियामार्फत ।

थपलियाले आफ्ना मीत अम्बरलाई भनेर शान्तिका निम्ति एउटा गीत मिलाइदिएछन्, अम्बरको गीतको त्यो धुन सुनेर शान्ति ठटालले फर्स्टह्यान्डमै यो ट्यून त मन परेन भनेपछि अम्बर र शान्तिको बीचमा अलि अशान्तिजस्तो फैलिने देखेर आफ्ना मीत अम्बरको बचाव गर्दै थपलियाले भनेछन्, ‘राम्रो छ त बहिनी मीतज्यूको यो गीत । गाऊ न ।’

शान्तिले अम्बरको त्यो धुनको गीत नगाउने भएपछि तत्कालै अर्को धुन तयार पारेछन्; आफ्नै शब्दमा

सम्हालेर राख, संगालेर राख ।
फेरि फुल्ने हो कि होइन, जोवनको फूल ।
अम्बर शान्तिको यो प्रोजेक्ट सफल भयो ।
यही गीतबाट नेपाल र नेपाल बाहिर शान्ति एकै पटक चिनिइन् ।

यो इतिहास फेरि दोहोर्‍याइरहनुपर्दैन, जसले अंग्रेजीमा रेस्ट ईज हिस्ट्री भन्छन् ।

विश्व संगीत भारती निकेतनमा अध्ययन क्रमको एक लामो बसाइपछि को यो अवस्थितिमा शान्ति ठटालको गायकीमा आवाजको गमक, माधुर्य र लयकारी शैलीले उनको गायकीमा नयाँ भाव आइसकेको थियो । तर भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, कोलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो‚ पहिले त अझ कस्तो राम्रो थियो ।

दोस्रो टर्निङ प्वाइन्ट २ : एउटा नीलो सूर्यास्त
बलिऊडकी प्रसिद्ध गायिका लता मंगेशकरका एकएक गीत सुनेर गायन सिकेकी विश्व संगीत भारतीको आँगनबाट फर्केपछि दार्जिलिङमा संगीतकारको जिम्मेवारी बोक्नुपर्‍यो ।
यसको कारण थियो- आर्ट एकेडेमीको अवतरण ।

अम्बर गुरुङले बंगाल सरकारको सरकारी जागिर पाएपछि उनी लोक मनोरञ्जन शाखा गए, टर्नबुल स्कूलको जागिरबाट अलग भएपछि अम्बरले आर्ट एकेडेमी त्याग्नुपर्‍यो ।

आर्ट एकेडेमीमा उनका साथ म्युजिसियनका रुपमा रहेका शरण प्रधान, रञ्जीत गजेमर, गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा सबै आ-आफ्नो समूहमा बाँडिए ।

शरण, रञ्जीत, जीतेन्द्र aर्देवा र अरुणा मिलेर संगम समूह खोले, संगमबाट शरण रञ्जीतले आफ्नै संगीत सिर्जना सुरु गरे ।

कर्म र गोपालले कला मन्दिरमा प्रवेश गरे, यिनको जोडीमा दिलमाया खाति, नगेन्द्र थापा त छँदै थिए ।

यहीबेला शान्तिले पनि आफ्नै संगीत परिकल्पनामा ईश्वरवल्लभको गीतिकथा एउटा नीलो सूर्यास्तमा संगीत निर्देशन गरे ।

कवि ईश्वरवल्लभको गीतकारको यो तेस्रो प्रहर थियो, उनी पहिलो पटक नातिकाजीको संगीतमा तारादेवीको स्वरमा ‘फुलाई फूल न धर्ती आकाश ओर्ली आउँला’मा गुञ्जायमान भइसकेका थिए ।
अम्बरको संगीतमा ‘मलाई भाँचिदे…’मा उनी लगभग फरक परिचयीकरण हुँदै थिए । तर एक बिहान शान्ति ठटालको संगीतमा एउटा नीलो सूर्यास्तमा उनी सिँगो र संग्लो गीतकारको सूर्याकार लिँदै झुल्किए ।

आमाको आत्महत्यापछि आफ्नो जन्मथलो छाडेर प्रवासभूमि पुगेका वल्लभलाई दार्जिलिङमा ‘आकाशको त्यो एक्लो तारा…’ लेख्न शान्ति ठटालले नै प्रेरित गरिन् ।

ईश्वरवल्लभसँगै शान्तिले वल्लभका सहकर्मी कवि एवम् गीतकार वैरागी काइँलाको ‘मेरो दुखी मन सपना नखोज…’ गाइन् ।

यो गीत हिट भयो, लगभग सुपरहिट भयो ।

अम्बर गुरुङले धुनबद्ध गरेको यो गीत नै काइँला र काइँलीको पहिलो एडज्वाइनिङ थियो र यही गीतले शान्तिको जीवनमा एउटा महत्वपूर्ण टर्निङ ल्यायो भन्न सकिन्छ ।

चिनाको नाउँ ओजांगहाङ भएका तिलविक्रम नेम्वाङको साहित्यिक नाउँ चाहिँ वैरागी काइँला हो र उनी घरका पनि काइँला सन्तान नै परे । त्यसै गरी गायिका शान्ति ठटाललाई पनि घरमा काइँली नै भनेर बोलाइन्थ्यो ।

यी दुईवटै काइँला र काइँलीको यो गीतमा अम्बर गुरुङको कम्पोज कलरको मूल्यांकन गजबै गरेका छन् गीतकार काइँलाले । भन्छन्, ‘हुनचाहिँ यो मेरो नितान्त व्यक्तिगत जजमेन्ट हो । कुनै संगीतको दृष्टिकोणले होइन । अम्बर गुरुङमा एउटा प्रयोगधर्मिता, प्रयोगशीलता थियो । यिनले चाहिँ उतिबेलाको नेपाली संगीतमा आइरहेको एउटा आधुनिक धारा थियो, त्यसलाई नयाँ मोड दिने प्रयत्न गरिराखेका थिए । उनीभन्दा अगाडि काठमाडौँमा नातिकाजीहरूको जस्तो मिठो स्वर आइरहेको थियो, अलिक पछाडिबाट बच्चुकैलाशको जस्तो विचित्र र कस्तो मान्छेलाई आक्रमण गर्ने किसिमको स्वर लिएर आएका स्वरहरु थिए । तिनीहरूको स्वर राम्रो सुनिनुभन्दा अगाडि उनले दार्जिलिङमा संगीतलाई निःत्तान्त आधुनिक हिसाबले लैजाने प्रयत्न गरे, शायद नेपाली संगीत क्षेत्रमा पश्चिमा संगीतको पनि समागम गराएर लैजान खोज्ने पहिलो संगीतकार अम्बर गुरुङ होलान् ।

अम्बर गुरुङको आँधी बतासैमा तिम्रो शुभकामना काम लागेन र वैरागी काइँलाको मेरो दुःखी मन…ले संगीतकार गुरुङ र गायिका ठटाललाई नेपाल र नेपालीसित अलि नजिक बनायो ।

टर्निङ प्वाइन्ट ३ : नेपाल आगमन
विसं. २०२१ सालमा तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा नेपालबाट शान्ति ठटाललाई नेपाल आउने निम्ता जान्छ, उनी आफ्ना संगीतकर्मी साथीहरू शरण प्रधान, अरुणा लामा, कुमार गजमेर साथ नेपाल आउँछिन् ।

शान्ति ठटालको सम्हालेर राख र मेरो दुखी मन… सुनेका कवि राजा महेन्द्रले पनि यही समय दुखेको मन टुटेको दिल लेखेर रेकर्ड गरिसकेका थिए, संगीतप्रवीण नरराज ढकालको स्वरमा ।
महेन्द्रको शालीन आमन्त्रण पछि नेपाल र नेपालीका माझ शान्ति ठटालको नेपालसित एउटा गहिरो आत्मीयता बस्यो, रेडियो नेपालका गायक गायिका, संगीतकर्मी, वाद्यवादकका माझ उनको उपस्थितिलाई यहाँ सगर्व स्वीकारियो ।

गायिका ठटालले दार्जिलिङमा बसेर गाइरहँदा नातिकाजी, शिवशंकर, तारादेवी, पुष्प नेपाली, बच्चुकैलाशको परिवर्तनीय आवाज सुनेको र महसुस गरेको कुरा पनि त्यहीबेला आशाको रुपमा लिइन् ।

दार्जिलिङ त्यो बेला अझै त्योभन्दा पहिला कालिम्पोंग त्योबेला महाकवि देवकोटाको मुनामदन मञ्चन गरेर ख्यातनामा भइसेको थियो । राजा महेन्द्रले मुनामदनका प्रस्तुतकर्तालाई बोलाउने क्रममा चित्तरञ्जन नेपाली र हरिहरराज जोशीलाई यो जिम्मा दिइसकेका थिए ।

मुनामदनकै प्रस्तोता टोलीका साथ अम्बर गुरुङ नेपाल आइसकेको कुरा नारायणप्रसाद राजभण्डारी अर्थात् चित्तरञ्जन नेपाली सम्झिन्छन् । दरबारमा हुने कार्यक्रमका आयोजनकर्मीका रुपमा परिचित मधुसुदन राजभण्डारीले अम्बर गुरुङको राजा महेन्द्रसित एक यादगार भेट गराइसकेका थिए ।
यसपछि अम्बर नेपाल बस्ने भए ।

अम्बरसित उनका सहायक रञ्जीत गजमेर र त्यही समय नेपाल आएका धेरै दार्जिलिङे कलाकार नेपाल तिरै भास्सिए ।

शान्ति ठटाल फर्केर दार्जिलिङ नै गइन्, त्यहाँ तिनलाई फेरि देवकोटाको मुना मदनमा संगीत गर्नु थियो ।

यही समय नेपालीमा एमए गर्ने बाहनामा दार्जिलिङबाट गोपाल योञ्जन पनि नेपाल आए, गोपालका दाजु कर्म एक्लै भए ।

कर्मले यही समय देवकोटाको म्हेन्दु गरे, शान्तिले देवकोटाको मुना मदन ।

देवकोटाको मुनामदनलाई पछि नेपालमा आएर अम्बर गुरुङले पनि संगीतवद्ध गरे, कोकिल गुरुङको निर्देशनमा ।

देवकोटा मुनामदन, ईश्वरवल्लभको एउटा नीलो सूर्यास्तपछि शान्ति ठटालले वैरागी काइँला, अम्बर गुरुङ, जीएस लामा, इन्द्र थपलिया, छिन्नलता, मनवहादुर मुखिया, शशी ठटाल, नोर्देन रुम्बा, बलि सुब्बा, कालूसिंह रनपहेँली आदिका धेरै गीत गरे‚ तर उनलाई कथाकार गुरुप्रसाद मैनालीले पश्चिम नेपालको बागलुंगबाट टिपेर ल्याएको एउटा गीतको गेडाले करामत गर्ने मौका दियो ।

त्यसलाई फिल्मी भाषामा ब्रेक भनिन्छ ।

टर्निङ प्वाइन्ट ४ : परालको आगो
शान्तिलाई फिल्ममा पहिलो ब्रेक दिए, प्रताप सुब्बाले ।
प्रताप सुब्बाले यसअगि पौनी ब्वाय् नामक एक वृत्तचित्र बनाएका थिए, यसबाहेक सिनेमामा उनको अर्को अनुभव शायद थिएन । नाट्यकर्मसित उनी पहिल्यै देखि आवद्ध थिए ।

प्रताप सुब्बाले गुरुप्रसाद मैनालीको कथा परालको आगोमा सिनेमा बनाउने भएपछि चलचित्रमा रहेका तीन गीत संगीत गर्न शान्ति ठटाललाई छाने ।

नासो कथाभित्र गुरुप्रसाद मैनालीको एउटा सशक्त कथा हो, परालको आगो । नासोका एघार कथामा एउटा कथामा कथाकार मैनालीले बागलुङको लोकलयको गीत टिपेर हालेका थिए, परालको आगोमा ।

गीतको बोल थियो,
उडी जाउँ भने म पन्छी होइन…

यही गीतको बोललाई मुखडा बनाएर मनबहादुर मुखियाले पूर्णाकार गीत लेखे,
उडी जाउँ भने म पन्छी होइन
बस्न त यहाँ मन छैन
लै लै …

शान्तिले यो गीतका निम्ति गायिका अरुणा लामालाई छानिन् र प्रताप सुब्बाले अभिनेत्री बसुन्धरा भूषाललाई छाने ।

दुवै पर्दामा सफल भए ।

अरुणा लामाको यो गीत उनकै अघिल्लो गीत यहाँ फूल नखिलेछ बहार आउन भुलेछ…पछिको रेकर्ड ब्रेक बन्यो ।

शान्ति ठटालले यसअघि अरुणासित ईश्वरवल्लभसित आकाशको त्यो एक्लो तारा … मा सहकार्य गरिसकेकी थिइन् ।

परालको आगो को उडीजाउँ भने … गीतले अरुणालाई दीपमान परिचय दिलायो भने शान्तिलाई नेपाली चलचित्र जगतको पहिलो महिला संगीतकारको गद्दी दिलायो ।
भारतको विशाल बलिऊड चलचित्र उद्योगमै गनेर जम्मा दुई जनामात्र महिला संगीतकार भएको आरेखमा शान्ति ठटाल नेपाली चलचित्र उद्योगको पहिलो महिला संगीतकार भइन् भने भारतको निम्ति पनि त्यो एउटा अनधीत इतिहास बन्न पुग्यो ।

परालको आगोमा शान्ति ठटालले उडी जाउँ भने… बाहेक अर्को एउटा महत्वपूर्ण गीत गरिन्,
धेरै चुलबुल नगर बहिनी
बतासैले उडाइदेला तिम्रा पछ्यौरीलाई …

समवेत स्वरमा रहेको यो गीतमा शान्तिले नयाँ पुस्ता तयार पारिन्, गायक शंकर गुरुङ, पेमा लामा, दावा ग्याल्मो आदि ।

नेपाली चलचित्रका प्रथम महिला संगीतकार शान्तिलाई दोस्रो फिल्म कुनै निर्देशकले दिन सकेन । त्यसका लागि उनले प्रताप सुब्बलाई अर्को फिल्मसम्म पर्खनुपर्‍यो ।

परालको सांगीतिक हिसाबले गीत प्रधान फिल्म थिएन र पनि यसमा संगीतकारिताको हिसाबले देखाउने काम पनि कम नै भयो । कारण लो बजेटमा बनेको यस फिल्ममा शान्ति ठटालले जानेर पनि पृष्ठ संगीत गर्न पाइनन् । पृष्ठ संगीत अर्थात् ब्याक् ग्राउन्ड म्युजिक गर्न नपाउनु उनका लागि जितेको राज्य गुमाउनु जत्तिकै भयो‚ जसलाई ऐतिहासिक मिथकमा एल डराडो भनिन्छ ।

परालको आगो शान्ति ठटालको निम्ति एल डराडो सावित भयो भने नेपाली चलचित्र इतिहासका लागि एउटा गौरवमय घडी बन्न पुग्यो ।

परालको आगोपछि शान्ति ठटालले पुनः प्रताप सुब्बाकै दिग्दर्शनमा बाँच्न चाहनेहरूमा संगीत गरिन् । निर्देशक सुब्बा र गायिका अरुणा लामाबीच खटपट भएका कारण यसपाली शान्ति ठटालले गायिका अरुणाको ठाउँमा सम्भावना बोकेकी नवगायिका विमला सेन्चुरीलाई पार्श्व गायिकाको रुपमा र पेमा लामालाई पार्श्व गायकका रुपमा ब्रेक दिइन् । यस फिल्ममा ठटालले आफ्ना अनुज पुस्ताका गीतकार कवि नर्देन रुम्बासित सफलतपूर्वक स्वीकार गरिन् ।

नयाँ नयाँ घामको किरण…
मिठो मिठो तिम्रो बात मिठो…
बाँच्न चाहनेहरू…
हरर बरर दार्जिलिङ शहर…
दार्जिलिङमा जन्मे हुर्केका गीतकार रुम्बालाई दार्जिलिङको आकाश बाहिर एक विशिष्ट परिचय दिए, शान्ति ठटालले अनि प्रताप सुब्बाले । यद्यपि रुम्बालाई संगीतकार ब्रदी दुर्गा खरेल, टाशी बाँगचूकले चिनाइसकेका थिए आफ्ना सांगीतिक तर्जमा । पछि रुम्बालाई नारायणगोपालको भव्य स्वरमा मेरा सबै रातहरू… मार्फत् पुनः प्रविष्टी मिल्यो ।

गोरखाल्यान्ड आन्दोलनका कारण बाँच्न चाहनेहरु भने जस्तो सफल नभएको प्रताप सुब्बाको दुखी भए भने शान्ति ठटालको यो सिनेमा संगीतको एन्ड हुन पुग्यो ।

टर्न ओभर : सिक्किम
दार्जिलिङबाट अम्बर गुरुङ नेपाल गएजस्तै पालैपालो अरु पनि बिस्तारै पाखा लागे, गोपाल योञ्जन नगेन्द्र थापाको आग्रहमा नेपाल आए, रञ्जीत गजमेर काठमाडौँ हुँदै मुम्बई गए ।

संगीतकार शरण प्रधानको अल्पायुमा निधन भइसकेको थियो ।

दार्जिलिङमा कर्म योञ्जन र शान्ति ठटालमात्र बाँकी थिए, अन्ततः शान्ति ठटाल पनि सिक्किमको ग्यान्टोक पुगिन्‚ जहाँ उनले संस्कृति विभागमा संगीत गुरु भएर काम सम्हालिन् ।

सिक्किममा शान्ति ठटालले ग्यान्टोको देवरालीस्थित वुमन्ज होस्टलमा बसेर तादोङ्ग देउराली उकाली ओराली धाउन थालिन् ।

सिक्किमको ग्यान्टोकमा हुँदा उनले दुई अतिप्रिय शिष्या पाइन्, विमला सेन्च्युरी र अञ्जली प्रधान ।
अञ्जली र विमलाले उनलाई संगीत आमा नै नाम दिएका छन् । ठटाल आफ्नो दार्जिलिङको घर पछि दोस्रो घर अञ्जलीको घरलाई नै आफ्नो मान्छिन् ।

विमला र अञ्जलीबाहेक सिक्किममा उनले अन्य असंख्या शिष्य‚ शिष्या बनाइन् भने गीतकारका रुपमा बलि सुब्बा, कालूसिंह रनपहेली, जीएस लामालाई उनले सिक्किममै भेटिइन् ।

विमला र अञ्जलीभन्दा पहिले शान्तिले दावा ग्याल्मो, डैजी बराइली, कुन्ती सुन्दास, रिमला मोक्तानसित पनि सहकार्य गरिसकेकी थिइन् ।

शान्ति ठटाल सिक्किम हुँदा हुँदै सिक्किमबाट धेरै फिल्म बने तर प्रायः फिल्ममा शान्तिले संगीतको काम पाइनन्, सिक्किम बाहिरकाले काम पाए ।

सिक्किम सरकारले सिक्किम फिल्म कर्पोरेसनको ब्यानरमा बनाएको पहिलो फिल्म मशाल को निर्देशन गर्न दार्जिलिङबाट प्रताप सुब्बालाई झिकाए तर संगीतकारका रुपमा रञ्जीत गमजेरले नै मौका पाए ।

सिक्किमबाटै बनेको साइनो, लाहुरे, निष्ठुरीजस्ता सबै सिनेमामा रञ्जीत गजमेरले बम्बई बसेरै काम पाए ।
शान्ति ठटाल सिक्किममा बस्दाबस्दै सत्तामा तीन जना मुख्य मन्त्री आए र गए, नरबहादुर भण्डारी, सन्चमान लिम्बू र पवन चाम्लिङ तर शान्तिको मुख्य ध्येय नै सिक्किम र दार्जिलिङको संगीतलाई उकास्नुमै रह्यो ।

सिक्किममा नेपाली संगीतको अवस्था दार्जिलिङको जस्तो थिएन र भएन पनि । किनभने सिक्किममा पैसा र सत्ताको सहयोगले गर्दा संगीत मनोरञ्जनको घेरामै मात्र सीमित भयो ।

सिक्किममै रहँदा शान्ति नेपालको निम्ता स्वीकारेर बन्द प्रकोष्ठभित्र कार्यक्रम गर्न काठमाडौँ आइन्, सीमित संख्याका दर्शक अनि पुनर्ताजगीको अभावमा खुम्चिएको काठमाडौँको सांगीतिक कार्यक्रममा शान्तिलाई सुन्ने भन्दा हेर्ने केही दर्शक थपिए ।

तर यही प्रसंगमा उनको योगदानको देखिइने गरी प्रशंसा गर्दै हार्मोनी : द मोडर्न संग्स्टोस अफ पोखराले नेपालका प्रसिद्ध लोकगायिका हरिदेवी कोइराला, गीतकार उषा शेरचनका साथ पोखराको दीपेन्द्र सभा गृहको आसनमा भव्य समारोहमा उनको सम्मान गर्योर, उनको सम्मान कार्यक्रममा सरिक हुन काठमाडौँबाट वरिष्ठ चलचित्रकर्मी, गीतकार एवम् संस्कृतिकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुंगेल, कवि मुरारी सिग्देल, गजलकार टंक ढकालसमेत पुगेका थिए । सो कार्यक्रमको समाचारको शीर्षकमा अखबारले समाचार लेख्यो,
आकाश झुक्यो
धरति उठ्यो …

सो कार्यक्रममा शान्ति ठटालका गीतलाई पोखराका चर्चित गायिका इतु पाल जोजिजू, शीतल थापा, रजनी थापा रिदम, कौशल्या गुरुङ आदिले मञ्चमा सम्मानका साथ एक दर्जन गीत प्रस्तुत गरे ।
जीवनमा दोस्रो पल्ट पोखरा पुगेकी शान्तिलाई नेपालबाट दिइएको यो पहिलो यस्तो सम्मान थियो ।

हार्मोनीपछि शान्ति ठटाललाई अर्को वर्ष छिन्नलता गीत पुरस्कार गुठीले पनि सम्झियो, विशेष सम्मानका लागि । छिन्नलताको यो विशेष सम्मानपछि मदन पुरस्कार गुठीले यसपाली उनलाई जगदम्बा श्रीले सम्मान गर्ने निर्णय गरेको छ ।

फ्ल्यास ब्याकमा
जगदम्बा श्री नेपालमा पहिलो पटक विक्रमाब्द २०४५ देखि दिन थालिएको हो । यो पुरस्कार (सम्मान) पहिलो पटक गायक नारायणगोपाल गुरुवाचार्यलाई दिइएको थियो ।

नारायणगोपालबाट सुरु भएर ३२ वर्षपछि शान्ति ठटालको पोल्टामा आएको यो सम्मान संगीत जगतमा तारादेवी, धर्मराज थापा, अम्बर गुरुङ, लोककवि अलि मियाँ हुँदै आइपुगेको छ ।
यो ढिलो हो कि चाँडो, यसको हिसाब पर्छ्यौट बाँकी नै हुन जाला । तर यही कथालाई जस्टिफिकेसन थ्योरीमा हेर्ने हो भने अन्यत्रतिर अझै अन्याय नै भएको होला । शास्त्रीय संगीतका धरोहरहरू बिना नाम र परिचय नै हराइरहेका छन्, त्रकला र अन्य कला पक्षका साधकहरू बिना कुनै जगदम्बाश्री, बिना कुनै छिन्नलता बिस्तारै सेलाइरहेका छन् ।

नारायणगोपालसँग सहकार्य गरेका कारणले नारायणगोपाल संगीत कोशले डेढ दशकअघि नै शान्तिलाई स्वरसम्राट स्मृति सम्मान दिइसकेको छ । तर शान्ति ठटाललाई हेटौँडास्थित भीम विराग प्रतिष्ठानबाट विजुली वन श्रेष्ठ पुरस्कारले सम्मानित गर्दा यसका आयोजक कन्हैयाकृष्ण श्रेष्ठले पहिलो चरणमै सम्झिएका थिए ।

समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको यो पुरस्कार अम्बर गुरुङ पछि शान्ति ठटालले पाएकी थिइन् ।

अन्त्यमा : अम्बर शान्ति कनेक्सन
संगीतकार अम्बर गुरुङको सांगीतिक जीवनमा तीन जना महिला गायिकाको रुपमा आए- अरुणा लामा, शान्ति ठटाल र निर्मला श्रेष्ठ ।

अरुणा लामाको पहिलो गीत आज यौवन किन उदास उदास छ यहाँ…पछि अरुणाले अम्बरसँग केही युगल गीत पनि गाइन् र केही सोलो गीत त पछिसम्मै पनि गाइन् ।

शान्ति ठटालको पहिलो गीत सम्हालेर राख, सँगालेर राखपछि शान्तिले अम्बरको संगीतमा मेरो दुखी मन, आकाश झुक्यो धरती उठ्यो, जहिले तिमी आऊ बिरानीले छाउँछ आदि गाइन् तर युगल गीतको मौका उनलाई मिलेन ।

अरुणा लामा र निर्मला श्रेष्ठ दुवै विशेषतः गायिका थिए, शान्ति ठटाल गायिकाबाहेक संगीतकारितामा पनि दख्खल राख्थिन् । पछि उनले संगीतकर्ममै बढी समय बिताइन् ।

अम्बर गुरुङले संगीतकारका रुपमा अरुणा लामा, निर्मला श्रेष्ठ, तारादेवीसँग धेरै काम गरे भने गायिका दिलमाया खाति र मीरा राणासँग बिल्कुल नै काम गरेनन् । संगीतकारका रुपमा शान्ति ठटालले पनि अरुणा लामासँग धेरै सहकार्य गरिन् भने निर्मला श्रेष्ठ, दिलमाया खाति, तारादेवीसँग कहिल्यै पनि काम गरिनन्‚ तर अम्बरले मन नपराएका गायिका मीरा राणालाई एउटा गज्जबको गीत दिइन्, जीएस लामाको शब्दमा

युगौँ बित्यो तिमीसम्म आइपुग्ने बाटो हरायो…

यो गीत मीरा राणाको जीवनको एक मानक गीत मानिन्छ । तर चाहेर पनि मीरा राणाले अम्बरको गीत गाउन पाइनन् ।

समवयी भएपनि दिलमाया र शान्तिले पनि सहकार्य गर्न पाएनन् । अम्बर र शान्ति ठटालको सांगीतिक यात्रामा गीतकारको पेरिफेरि चैँ करीब करीब एक समान नै रहे, वल्लभ, वैरागी, इन्द्र थपलिया, गगन गुरुङ आदि ।

शान्ति ठटालले संगीतकारको रुपमा आफूले मनपराएका गायिकाहरुमा उर्मिला श्रेष्ठ, मीरा राणा, किड्डी भुटिया र दावा ग्याल्मोलाई असाध्य मनपराएकी छिन् भने गायिका संगीता प्रधानलाई संगीतको ज्ञाता मानेकी छन् ।

शरण प्रधानको संगीतको मैले जीवनलाई सजाएँ लाई उनले आफूले गर्ने खालको गीत भनेकी छन् भने शरण रञ्जीतको यहाँ फूल नखिलेछ लाई कालजयी गीत मानेकी छन् ।

नेपाली चलचित्र जगतकी प्रथम महिला संगीतकार शान्ति ठटालामा अनेक अनेक शुभकामना…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *