कांग्रेसकी कान्छी प्रदेश प्रतिनिधि भन्छिन्- ‘राजनीतिमा युवा नआई देश बन्दैन’

काठमाडौँ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँचथरबाट १९ वर्षीया किशोरी भावना रिजाल प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । कांग्रेस पाँचथर प्रदेश (क)बाट भारी मतका साथ प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी ५६२ मध्ये ३२२ मत ल्याएर खुल्ला महिला तर्फबाट प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

रिजालले परिवारमा समेत कसैलाई नसोधि प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेको बताइन् । उनी भन्छिन्, ‘राजनीतिमा युवा र महिलाको सहभागिता बढाउनु पर्छ, ३३ प्रतिशतले मात्र हुँदैन । राजनीतिमा अब युवा पुस्ता नआई विकास सम्भव छैन । मलाई यही विषयले तानेर राजनीतिमा छु । केही गर्ने हुटहुटी छ । ‘

युवा पुस्तालाई सच्चा मनले जनताको सेवा गर्छु भनेर मात्र राजनीतिमा लाग्न उनको सुझाव छ । यस्तै निर्वाचनमा पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने उनी बताउँछिन् । ‘मैले चुनावमा पैसा खर्च गरिनँ । तर पाँचथरमा प्रदेश महाधिवेशन प्रतिनिधिकै चुनावमा पनि धेरै खर्च गरियो भन्ने सुनेको छु, यसरी त कसरी राजनीति सफा हुन्छ । यो प्रवृत्तिलाई हटाउनुपर्छ । ,’ उनले भनिन् ।

सधैँ पुरानो पुस्तालाई सरापेर पन्छिँदा भावी सन्ततिले दुख पाउने उनी बताउँछिन् । यति सानै उमेरमा राजनीतिमै लाग्नुपर्छ भन्ने सोच कसरी आयो ? भन्ने मकालुखबरको प्रश्नमा उनी भन्छिन्, ‘जन्मजात कांग्रेस भएर जन्मे, मेरो ठूलो बुबा जय रिजाल कांग्रेस पाँचथरको पूर्व जिल्ला उपसभापति हुनुहुन्छ । सायद सानैदेखि परिवारमा राजनीतिक वातावरण भएर होला, यही क्षेत्रमा लानुपर्छ भन्ने लाग्थ्यो ।’ उनी पाँचथर बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षकी विद्यार्थी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *