कांग्रेस अधिवेशन : कास्कीमा बहुमत नआएपछि फेरि मतदान हुँदै

पोखरा । १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा सभापति छनोटका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि फेरि मतदान हुन लागेको हो । पहिलो चरणमा सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका थिए ।

विधान संशोधन गरेर कांग्रेसले सभापति हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । खसेको २०२५ मत मध्ये किशोरदत्त बरालले सबैभन्दा धेरै ६ सय ४४ मत ल्याएका छन् भने निकटतम प्रतिष्पर्धी सुदिपमोहन भट्टराईले ४ सय ६९ मत पाए ।

तेस्रो बनेका आईबहादुर गुरुङको ४ सय ६२, चौथोमा पोषनाथ शर्माको ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल)ले जानकारी दिए । ४७ मत भने बदर भएको छ ।

कांग्रेस विधानले सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको पचास प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नल्याएमा, सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । तर, पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने उल्लेख छ ।

सभापति चयनका लागि दोस्रो पटक शनिबार मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदको भने नतिजा आइसकेको छैन । २/२ जना उपसभापति, सचिव र सहसचिव पदका लागि सबै पदमा ९/९ जनाको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *