कांग्रेस मोरङको सभापतिमा ३ जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसले मोरङ  जिल्ला सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस मोरङको नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा मनोनयन दर्ता भएको हो । सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षबाट दिलीप गच्छदार, संस्थापन इतरबाट डिगबहादुर लिम्बू र यदुकुमार विष्टको उम्मेदवारी परेको हो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङको नेतृत्व चयन गर्न आइतबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।

लिम्बु वर्तमान जिल्ला सभापति र पूर्व संघीय सांसद हुन । विष्टले यसअघि जिल्लाको सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । संस्थापन पक्षधर गच्छदार भने पूर्व श्रम राज्यमन्त्री र पार्टीका जिल्ला उपसभापति भएर काम गरेका थिए ।

उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा भक्तिनाथ माझी, नागेश कोइराला, सुबोधकुमार सिंह, राजु मास्के र गोपालबहादुर थापा छन् । उपसभापतिमा दुई जना निर्वाचित हुन्छन् । दुई सचिवका लागि सात जनाको मनोनयन दर्ता भएको छ ।

जसमा विराटनगरका मनोज बस्नेत र अर्जुन निरौला, सुन्दरहरैंचाबाट शिवप्रसाद ढकाल, ललितबहादुर श्रेष्ठ, रङ्गेली नगरपालिकाबाट मोदराज घिमिरे, लेटाङ नगरपालिकाबाट ज्ञानेन्द्र ढकाल र रतुवामाई नगरपालिकाबाट रविन राई छन् । ढकाल सुन्दरहरैंचा र राई तुवामाई नगरपालिकाका मेयर हुन । घिमिरे पार्टीका वर्तमान सचिव हुन ।

दुई सहसचिवका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । जसमा विराटनगरबाट सञ्जय मण्डल र सुभाष भण्डारी, बुढीगंगा गाउँपालिकाबाट अशोकप्रसाद रिजाल, भुवनेश्वर मण्डल, रतुवामाई नगरपालिकाबाट विशाल कुमार गौतम, र लेटाङ नगरपालिकाबाट थिरप्रसाद फुयाँल छन् । कोषाध्यक्ष भने मनोनीत हुने प्रावधान छ ।

घिमिरे, श्रेष्ठ र राई संस्थापन इतरबाट उम्मेदवारी दिएका हुन् । उपसभापतिका दुई जनामा नागेश कोइराला र भक्ति माझी कोइराला पक्षीय नेता हुन् । समावेशी र प्रत्यक्ष ७८ जना खुल्ला सदस्यमा ८८ जना र समानुपातिक सदस्यतर्फ ५५ जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा अपाङ्गता तर्फबाट ३ जनाको मनोनयन परेको छ । एक जना प्रतिनिधिको लागि उमादेवी घिमिरे विराटनगर, राजाराम सरदार धनपालथान गाउँपालिका र सुन्दरहरैंचाबाट दलबहादुर तामाङ छन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा अपाङ्गबाट केशरबहादुर खत्री निर्विरोध भएका छन् । शुक्रबार मनोनयन दर्ता प्रक्रियासँगै शनिबार निर्वाचन गर्ने निर्धारित कार्य तालिका फेरिएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । निर्वाचन कार्यक्रम विराटनगरमा रहेको मनास्लु पार्टी प्यालेसमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *