एउटा गजबको नाटक ‘एनिमल फार्म’

काठमाडौँ । दोस्रो विश्वयुद्धको अन्ततिरको समय थियो । लडाइँ र राजनीतिक खिचातानीले मानिस दिक्क थिए । युद्धमा धेरै निम्न वर्गीय मानिसले परिवार गुमाए । यस्तोमा अङ्ग्रेजी उपन्यासका लेखक, निबन्धकार‚ पत्रकार तथा समीक्षक जर्ज अरवेलको उपन्यास ‘एनिमल फर्म : अ फेयरी स्टोरी’ सार्वजनिक भयो ।

राजनीतिक व्यङ्ग्य(पोलिटिकल सटायर)ले भरिएको यो पुस्तक १७ अगस्ट १९४५ मा पहिलो पटक इङ्गल्यान्डमा प्रकाशित भएको थियो । विश्वका धेरै भाषामा अनूदित एनिमल फार्म नेपाली भाषामा पनि उपलब्ध छ । पुस्तकले जनावरहरूको समूहको कथा बताउँछ‚ जसले जनावरहरूको समानता, मुक्ति र खुसीका लागि मानवविरुद्ध विद्रोह गर्छन् ।

यो पुस्तकलाई दुई प्रकारले पढ्न सकिन्छ । बालबालिकाका लागि जनावरकै कथाको रूपमा लिन सकिन्छ भने अर्को तरिकाबाट हेर्दा यो ‘पोलिटिकल सटायर’ हो । दोस्रो विश्व युद्धको समयमा लेखिएको कथा अहिलेको राजनीतिक अवस्थामा समेत उत्तिकै मेल खानेछ ।

अहिले चलिरहेको नेपालको राजनीतिक अवस्थालाई मध्यनजर गरेर यो उपन्यासमा आधारित रहेर कौसी थिएटरमा नाटकको रूप दिएर यो कथा प्रस्तुत गरिने भएको हो । वाक स्वतन्त्रतामाथिको अङ्कुश मात्रै नभएर पदमा पुग्न गरिने वाचा र पद हासिल गरेपछिको परिवर्तित व्यवहारलाई यो नाटकमा आकर्षक ढङ्गमा प्रस्तुत गरिने भएको छ ।

भारतमा प्रशान्त नायरले गरेको नाटक रूपान्तरणलाई आकांक्षा कार्कीले अनुवाद गरेर तयार गरेकी हुन् । नाटक निर्देशनसमेत उनैले गर्दैछिन् । प्रदर्शन मिति नजिकिँदै गर्दा ‘रन वे’मा कलाकारहरू व्यस्त छन् । मंसिर १४ गतेबाट मञ्चन गरिने नाटकको तयारी अन्तिम चरणमा पुगेको छ ।

नाटकमा पात्रहरूलाई जनावरको रूपमा प्रस्तुत गरिएको छ । कोही सुँगुर बनेका छन्, कोही भेडा छन् त कोही गाई, घोडा, काग, मुसा, भेडा, गधा, हास, कुखुरा सबैको महत्त्वपूर्ण भूमिका नाटकमा रहेको छ । मुसाको भूमिकामा निर्भीक देखिएका छन् । निर्भीकको यो दोस्रो नाटक हो ।

जुँगाको रेखीसमेत मजाले नबसेका निर्भीकको अभिनय भने कुनै पोख्त कलाकारको भन्दा कम छैन । नाटक अवधिभर उनीमाथि आँखा अडिने पक्का छ । नाटकमा उनलाई मानिस कम र मुसा नै ज्यादा देखिनेछ । जिउ कन्याइरहने, केही चपाइरहने, शान्त नबस्ने मुसाका व्यवहारलाई उनले टपक्कै टिपेका छन् ।

कसरी गरे त उनले तयारी ? आफूले मुसा बन्नुपर्ने भएपछि उनले इन्टरनेटमा मुसाको अधिकांश विषयमा अध्ययन गरे । मुसाको व्यवहार, बनावटसँगै यसलाई मानिसमा कसरी लागू गर्ने भनेर धेरै तयारी गरे । यज्ञसको पुस्तक ‘भुइया’ अध्ययन गरे । यसले उनलाई मुसाको चरित्र बुझ्न मद्दत गर्‍यो । अनि, रिहर्सलमा गरेको मेहनतले उनलाई निर्भीकभन्दा पनि मुसा बनाउन मद्दत पुग्यो ।

मुसामार्फत निर्भीकले सीमान्तकृत समुदायको प्रतिनिधित्व गरेका छन् । उनको आवाजलाई कसरी ठूला भनिएका जनावरले दबाउँछन् भन्ने घटना नाटकमा पटक पटक देखिन्छ । केही दिएजस्तो, केही गरेजस्तो, आवाज सुनिए जस्तो गरेर मुसालाई समाजबाट नै लखेट्न लागिपरेका छन् सुँगुर समुदाय ।

नाटकमा भेडा पात्रको रूपमा (सेबिता)लाई देख्न सकिन्छ । सामान्य अर्थमा भेडाको प्रयोग एकोहोरो भन्ने बुझाइका लागि प्रयोग गरिन्छ । तर नाटकमा यो भेडा भने जिज्ञासु छ । उनलाई केही सिक्ने मोह छ । यो चरित्रको माध्यमबाट उनले सम्पूर्णले बनाएको ‘भेडा’ चरित्रलाई भिन्न रूपमा उभ्याउन खोजेको देखिन्छ । ‘टाठो भेडा’ उनले लडाइँको दृश्यमा भने भेडाको प्रवृत्ति पनि देखाएकी छन् ।

लडाइँको समय उनी लगातार पछाडि जाने र अगाडि आएर आक्रमण गर्ने गरिरहेकी छन् । समग्रमा उनलाई ‘टाठो भेडा’को उपनाम दिन सकिन्छ । एक दृश्यमा उनले दबिएको मुसाको स्वर उठाउन खोजेकी छन् । तर त्यो आवाजलाई ‘आवाज’को मान्यता नै दिइएको देखिँदैन । आवाज यसै हराएर जान्छ ।

नाटकमा बच्चा घोडीनी (विनीता) पनि छिन् । यो चरित्र भने केही ‘लाउड’ देख्न सकिन्छ । उनलाई यो चरित्र गरेपछि मासु छाड्न मन लागेको रहेछ । जनावरप्रतिको प्रेम बढेको उनले कुराकानीको क्रममा बताइन् । ‘हामीले जनावरप्रति विभेद गरिरहेका पो रहेछौँ‚’ भन्दै मुख अमिलो बनाइन् ।

दैनिक खानामा मासु हुनै पर्ने उनलाई आज-भोलि मासु देख्दा खासै खाइहाल्न मन लाग्दैन रे । चरित्रमा रहिरहँदा आफू मान्छे भन्ने बिर्सिएर मान्छेले नै कुनै दिन मान्छेलाई वधशालामा पुर्‍याएर छाला र हड्डीसमेत नछाडी प्रयोग गर्ने हुन् भन्ने भयले सताइरहन्छ रे ।

निर्देशक कार्कीका अनुसार यो नाटक तत्कालीन राजनीतिक अवस्थाको चित्रण मात्रै नभएर हरेक स्थानमा हुने विषयको चित्रण हो । ‘पावरको दुरुपयोग जो कोहीले गरिरहेको हुन्छ । यो व्यवहार आफूबाट नहोस् भनेर लागिरहने हो‚’ उनले भनिन् । उनका अनुसार जुन समाजमा पनि एसबी र केपोलियन प्रवृत्तिका मानिससँगै भक्त प्रवृत्ति पनि पाइन्छ ।

यति मात्रै नभएर कतै हामी एक व्यक्ति समेत कहीँ केपोलियन बनिरहेका हुन्छौ भने कहीँ भक्त त कहीँ मुसा, हाँस र कुखुरा । नाटकको अन्ततिर प्रयोग गरिएको अरवेलको एउटा भनाइ- ‘सबै जनावर बराबर हुन्छन्, तर केही जनावरहरू अझ बढी बराबर हुन्छन्’ एक किसिमले भन्दा यो भनाइ नै नाटकको मुख्य विषय रहेको छ । समग्रमा नाटकले हरेक समाज, संस्था र अवस्थितिको प्रतिनिधित्व गर्छ । नाटक यही मंसिर१४ गतेबाट कौसी नाटक घरमा मञ्चन हुनेछ ।

प्रतिक्रिया

One thought on “एउटा गजबको नाटक ‘एनिमल फार्म’

Leave a Reply

Your email address will not be published. Required fields are marked *